आज :

यमपञ्चकको पूजा परिवर्तनको पूजा होः एलपी भानु शर्मा

  • अनलाइन डबली

काठमाडौं। जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्माले यमपञ्चक परिवर्तनको पूजा भएको बताएका छन्। योग साधना र अध्यात्ममा गहिरो दख्खल भएका शर्माले तिहारका पाँच दिन काग, कुकुर, गाई, गोरु र लक्ष्मीको पूजा गरिनु भनेको परिवर्तनका संवाहकहरुको पूजा गरिएको स्पष्ट पारेका छन्।

‘यमपञ्चक भनेको प्रकृतिको परिवर्तनचक्रमा योगदान गरिरहने संवाहकहरुको पूजा हो,यही नै यथार्थ हो’ शर्माले स्पष्ट पार्दै भने।

आजबाट सुरु भएको यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, गोरुलाई पर्यावरण र प्रकृतिप्रतिको श्रद्धाको रुपमा मानिसले महत्वका साथ सहअस्तित्वको भावले यमपञ्चक मनाउने र तिनलाई पूज्ने गर्दछन्।

उज्यालो पर्व तिहारमा मानव, प्रकृति र परिवर्तनमा सहयात्री बनेका सबै एक जुट भएर पर्वको रुपमा उत्सव मनाउने प्रचलन रहिआएको छ।

तिहारको पूर्व सन्ध्यामा हामीले योग विज्ञानमार्फत समाजमा सामाजिक, नैतिक र जीवन विज्ञानको विभिन्न पाटामा चेतना फैलाउँदै आएका आध्यात्मिक व्यक्तित्व एलपी भानु शर्मालाई तिहारमा यमपञ्चकको रुपमा पाँच दिनसम्म किन पशुपंक्षी र लक्ष्मीलाई पूजिन्छ भनेर सोधेका छौं।

शर्माले यमपञ्चकको रुपमा काग, कुकुर, गाई, गोरु धनकी देवी लक्ष्मीलाई पूज्नुको अर्थ गहिरो रहेको खुलाए। उनले यमपञ्चकमा गरिने पूजा परिवर्तनको पूजा भएको बताए।

शर्माको भनाई छ, ‘यमको अर्थ हो परिवर्तन। पाँचदिनसम्म गरिने पूजा परिवर्तनको पूजा हो। परिवर्तनमा कुन प्राणीको कस्तो योगदान छ, कुन पशु, कुन पंक्षी, कुन वनस्पति र आकाश, वायु, अग्नी, जल र पृथ्वी कस्को के योगदान छ यो ख्याल गर्ने बेला हो। जति पनि परिवर्तनहरु आउँछन् ती सबै यम हुन्। जव हामीले परिवर्तनलाई पूजा गरेर परिवर्तनको नै उत्सव मनाउन थाल्छौं, त्यतिखेर तिहार सुरु हुन्छ।’

उनले सबैभन्दा ठूलो परिवर्तन मृत्यु भएको भन्दै मृत्युलाई नै उत्सवको रुपमा यमपञ्चकको रुपमा मनाउने गरेको रोचक अर्थ लगाए। सम्वृद्धि र लक्ष्मी परिवर्तनलाई स्वीकार्ने मनुष्यसँग मात्र हुने भन्दै उनले परिवर्तनलाई स्वीकार नगर्ने मानिसको जीवनमा सम्वृद्धि नआउने बताए। उनले यमलाई पुरानो र लक्ष्मीलाई नयाँ ज्ञान र जीवनको रुपमा चित्रण गरे।

शर्मा भन्छन्, ‘सबैभन्दा ठूलो परिवर्तन मृत्यु हो तर त्यसमा शरीरबाहेक अरु परिवर्तन हुँदैन। परिवर्तको संवाहक यमराज हुन्, उनले पनि संवाहक कुकुर काग आदिलाई पूजेर हामीले मृत्युलाई उत्सव बनाउन सिकायौं। जसले परिवर्तनलाई स्वीकार्न सक्दैन उसको जीवनमा सम्वृद्धि र लक्ष्मी कसरी आउँछिन्? जुन ठीक पुरानो मर्दै छ त्यो यम हो र जुन नयाँ जन्मिदै छ, त्यो लक्ष्मी हो। लक्ष्मी र यमराज सँगसँगै आउँछन्।’

तिहारमा धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा मात्रै लक्ष्मीपूजा नभएर हामीले पञ्चतत्व देखि प्रकृति र आफ्नो जीवनलाई जुनजुन कुराले सम्वृद्ध बनाए, ज्ञान दिए, जुन विषयले जीवनलाई बाँच्न योग्य बनायो ती सबैको स्मरण गरी कृतज्ञ हुनुले मानिसलाई आध्यात्मिक बनाउने शर्माले विश्लेषण गरे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal