
काठमाडौँ । नेपाल आयल निगमले जाजरकोटमा गएको शक्तिशाली भूकम्प पीडितको राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बेहोर्ने निर्णय गरेको छ ।
निगमले शनिबार निर्णय गर्दै उद्दार र राहतमा लागेको इन्धन बापतको रकम नेपाल आयल निगमले बेहोर्ने निर्णय गरेको हो । निगमले उक्त रकम आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने निर्णय गरेको छ ।
यो समाचार तयार गर्दासम्म भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।
सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।