काठमाडौं । नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमञ्जारोको सफल आरोहण गरेका छन् ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३२ वर्षीय पाण्डेले ताञ्जेनियामा पर्ने ५ हजार ८ सय ९५ मिटर अग्लो सो शिखरको सफल आरोहण गरेका हुन् । स्थानीय समय अनुसार मंगलबार (३१अक्टोबर २०२३) बिहान ६ः४० बजे उनले शिखर आरोहण गरेका हुन् ।
विश्वका सातवटै महादेशका सात उच्च शिखर आरोहण गर्ने अभियानमा रहेका पाण्डेको यो तेस्रो महादेशमा रहेको सफल शिखर आरोहण हो । उनले सर्वोच्च शिखर सगरमाथा, रसियामा रहेको युरोपको शिखर एलब्रस आरोहण गरिसकेका छन् ।
पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डा तथा स्काउटको झण्डा फहराएका थिए । पाण्डेलाई किलिमञ्जारो आरोहणका लागि आवश्यक (गियर) सामग्री मकालु आउट फिट ब्राण्डले उपलब्ध गराएको थियो ।
सो पर्वत आरोहणका लागि पाण्डे कात्तिक ८ गते नेपालबाट त्यसतर्फ गएका थिए । पाण्डेलाई त्यहाँ जानु अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको झण्डा हस्तान्तरण गरेर बिदाई गरेका थिए । त्यस अघि कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीले पनि उनलाई राष्ट्रिय झण्डा दिएर बिदाइ गरेका थिए ।
पाण्डेले हालसम्म नौवटा हिमाल आरोहण गरिसकेका छन् । सन् २०१६ बाट हिमाल आरोहण गर्न सुरु गरेका उनले सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । त्यस्तै गत जुन २८ र २९ तारिखमा रसियामा रहेको युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल आरोहण गरे ।
सन् २०१९ मा किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल पनि आरोहण गरिसकेका छन् । उनले एक वर्ष भित्र विश्वका सातवटै महादेशका सात अग्ला चुचुरा आरोहण गर्ने लक्ष्य रहेको बताएका छन्।