काठमाडौँ । ललितपुरको जावलाखेलमा आजदेखि १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० शुरु भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने यस बर्षको नाराका साथ फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा शुरु भएको प्रदर्शनी कात्तिक १८ गतेसम्म संचालनमा रहने छ ।
प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् ।
प्रदर्शनीमा व्यावसायिक कक्ष ५१, प्रतियोगितात्मक कक्ष दुई र सूचनामूलक चार गरी ५७ प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा एसोसिएशनले गरेको छ ।
एसोसिएशनले २०५१ सालदेखि पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ । अहिले ४८ जिल्लामा झण्डै दुई सय २१ हेक्टरमा पुष्प व्यवसाय भइरहेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष गरी यस ब्यबसायमा चार लाख ४० हजारभन्दा बढीले रोजगार पाएका छन् ।