आज :

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आज देखि

  • अनलाइन डबली

काठमाडौँ ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आज देखि शुरु हुँदैछ ।  भारतको गुजरातको अहमदावाद अथित  नरेन्द्र मोदी स्टेडियममा प्रतियोगिताको भव्य उद्घाटनको तयारी छ । यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने क्षमता छ । विश्वकप क्रिकेटलाई फुटबलपछि लोकप्रियताको आधारमा दोस्रो सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ ।

विश्वकप क्रिकेटको  यो १३ औँ संस्करण हो । सन् १९७५ मा पहिलो पटक विश्वकपको आयोजना भएको हो । वेस्ट इन्डिजले पहिलो संस्करण मात्र होइन सन् १९७९ मा दोस्रो विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि पनि जिटेको थियो ।  दुई पटकको विश्व विजेता वेस्ट इन्डिज भने यस पटक विश्वकपमा छनोट हुन असफल भएको छ  ।

विश्वकपको उद्घाटन खेल दिउँसो सवा २ बजे इङ्ल्यान्ड र न्युजिल्यान्डले खेल्ने छन् । इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो ।

यो विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्गलाेरमा हुनेछन् । विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् ।

यस पटक कसले उपाधि जित्ला त ? अनुमान गर्न कठिन छ किनभने विश्वकपमा सहभागी दसै राष्ट्र एकले अर्कालाई हराउन सक्षम छन् । यसैले विश्वकप उपाधि विजेताको ठोकुवा गर्न गलत नै साबित हुन्छ तर पनि आयोजक भारतलाई उपाधिको प्रबल दाबेदारका रूपमा लिइएको छ ।

यसपालि श्रीलङ्का छनोट चरण पार गरेर विश्वकपमा खेल्न योग्य भएको स्थिति रहेको छ । सन् १९९६ मा अपत्यारिलो तरिकाले विश्वकप क्रिकेटको उपाधि जितेपछि श्रीलङ्काले लामो समयसम्म आफ्नो प्रतिष्ठा गुम्न दिएन तर यसपालि श्रीलङ्कालाई ठुलो टिमका रूपमा पनि लिइएको छैन तर केही महिनाअघि एसिया कपको फाइनलमा पुगेर श्रीलङ्काले आफूलाई कमजोर नभएको साबित पारिसकेको छ ।

विश्वकपमा दक्षिण अफ्रिकालाई सबैभन्दा अभागी टिम मानिन्छ । धेरै पटक दाबेदार भएर पनि महत्वपूर्ण खेल हार्दा दक्षिण अफ्रिका ट्रफीबाट वञ्चित बन्दै आएको छ । यसपालि पनि दक्षिण अफ्रिकालाई कम आँकिएको छैन । बङ्गलादेश, अफगानिस्तान र नेदरल्यान्ड्सलाई दाबेदार मानिएको छैन तर यी तीनै टिम ठुला टिमलाई स्तब्ध पार्न सक्षम छन् ।

यसपालि विश्वकप राउन्डरोविन संरचनामा खेलिने छ । जहाँ सहभागी प्रत्येक दस टिमले एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । कुल ४५ खेल खेलिएपछि शीर्ष स्थानमा रहने चार टिम सेमिफाइनलमा पुग्ने छ । त्यसपछि फाइनल मङ्सिर ३ गते हुने छ ।

एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टिम अस्ट्रेलिया हो, अस्ट्रेलियाले पाँच पटक विश्वकप जितेको छ । भारत र वेस्ट इन्डिजले समान दुई/दुई पटक तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एक/एक पटक उपाधि जितेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal