आज :

बझाङ भूकम्प अपडेट: एक जनाको मृत्यु, १८ जना घाइते, ३ सय ३६ भौतिक संरचनामा क्षति

  • अनलाइन डबली

काठमाडौं । बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार दिउँसो गएको दुई ठूला भूकम्पमा परि मृत्यु भएका एकजनाको शव फेला परेको छ । बेपत्ता भएका उनको विहान शव फेला परेको हो ।

भूकम्पमा परी अन्य १८ जना घाइते भएका छन् । भूकम्पले हालसम्म २१ वटा सरकारीसहित ३ सय ३६ वटा भौतिक संरचनामा क्षति पुर्याएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

“पछिल्लो विवरण अनुसार भूकम्पपछि गएको सुख्खा पहिरोमा परी बझाङको जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनदेवी धामी वेपत्ता हुनुभएको छ । उहाँको खोजीकार्य जारी छ । अरु १८ जना घाइते भएकोमा १० जना उपचारपछि घर फर्किसकेका छन् । दुई जनालाई जिल्ला अस्पतालमा राखेर उपचार भैरहेको छ भने बाँकीलाई हात तथा खुट्टामा लागेको चोटको कारण थप उपचारको लागि जिल्ला बाहिर पठाइएको छ” पाण्डेले भने ।

घाइते हुनेहरुमा जयपृथ्वी नगरपालिकामा, मस्टा, केदारस्युँ, खप्तडछान्ना र बित्थडचिर गाउँपालिकाका विद्यार्थी र स्थानीय रहेका छन् ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको आधा घण्टा नपुग्दै ३ बजेर ६ मिनेटमा गएको झन् ठूलो ६.३ म्याग्निच्युडको भूकम्पले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ । भूकम्पका कारण घर,सरकारी कार्यालय,विद्यालयका भवनमा क्षति पुग्नाका साथै त्यसपछि गएको सुख्खा पहिरोको कारण राजमार्ग समेत अवरुद्ध भएको छ ।

‘भूकम्पपछि भिरालो जमिनमा गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग मंगलबार राति खुलाइएको थियो,अहिले पुन अवरुद्ध बनेको छ । जयपृथ्वीको माल्लालाग्ना भीर र छबिस पाथीभेराको जालेबगरमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । प्रहरीले पहिरो पन्छाउने कार्य गरिरहेका छन् । राजमार्ग सँगै २१ वटा सरकारी संरचना सहित ३ सय ३६ वटा भौतिक संरचनामा क्षति पुगेको विवरण आएको छ,’ पाण्डेले भने ।

सुरुको भूकम्पपछि स्थानीय सतर्क भएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको अधिकारीहरुले जनाएका छन् । तर, भूकम्पले छिमेकी जिल्ला बाजुरा, दार्चुला, बैतडि लगायतका जिल्लामा भौतिक क्षति गरेको छ । बाजुराका खप्तड छेडेदह गाउँपालिका, बुढीगंगा र बडीमालिका नगरपालिकालगायत क्षेत्रका थुप्रै घर तथा भवनमा आशिंक र पूर्ण क्षति गरेको बताइएको छ ।

बैतडीमा पनि दुई जना घाइते भएका छन । माथिबाट खसेको ढुंगा लागेर डिलासैनी र सिगास गाउँपालिकामा एक÷एक जना घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पले सिगास, डिलासैनी गाउँपालिका, पुर्चौडी र पाटन नगरपालिकामा दर्जनभन्दा बढी घर र विद्यालयका भवन चर्किएको छ ।

दार्चुलाको मार्मा गाउँपालिकामा वडा कार्यालय, विद्यालय भवनलगायतका संरचनामा क्षति पुगेको छ ।

बाजुरा भूकम्प र त्यसपछिको परकम्पका कारण भएको क्षतिको विवरण संकलन,उद्दार र राहत लगायतका कार्य भैरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal