
काठमाडौं । खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन माग राखी आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
उहाँले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय पनि बदर गर्न माग गरेकी छिन ।
उक्त निवेदनमाथि दुई पटक पेशी तोकिएपनि न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको छैन ।
ढकालको खुकुरी प्रहारबाट २९ असार, २०७२ मा नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरको मृत्यु भएको थियो । घटनापछि भागेर भारत लुकेका उनलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो ।
कर्तब्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाईएका नेपालगञ्जका तत्कालिन तरुण दलका क्षेत्रिय सभापति रिगल भनिने योगराज ढकाललाई गएको असोज ४ गते सरकारले ६० प्रतिशत सजाय मिनाहा गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा जेल मुक्त गरेका हुन। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कैद भुक्तान हुन बाँकी ६७० जनाको कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गरेका थिए ।