
काठमाडौँ । बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले अछाममा पनि क्षति पुगेको छ । संचार सम्पर्क हुन नसकेका कारण जिल्लाभरीका क्षतिको विवरण आउन बाँकी छ ।
तर, प्रारम्भिक जानकारी अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका ७ पुल्लेतोलास्थित देवकी आधारभूत विद्यालयको तीन कोठे भवनमा क्षति भएको छ ।
त्यसैगरी बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नास्थित बिन्देवासिनी माविमा कक्षा १० अध्ययनरत विद्यार्थी घाइते भएका छन् । भूकम्प गएसँगै भागेर खुला ठाउँमा जाने क्रममा छात्र सन्तोष साउद घाइते भएका हुन् ।
उक्त विद्यालयको भौतिक संरचनामा पनि क्षति भएको बताइएको छ । तर, विस्तृत विवरण आउन सकेको छैन । त्यस्तै, स्थानीय प्रेम बटालाको छानो भत्किएको छ ।