
काठमाडौं । उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
काठमाडौंमा नेपाल भारत पशु चिकित्सकको पहिलो अन्तराष्ट्रिय सम्मेलन, काठमाडौंमा उद्घाटन गर्दै उनले स्वस्थ जनावरहरू उत्पादन गर्न तथा वंशाणुगत रोग नियन्त्रण गर्न पशु चिकित्सकको महत्वपूर्ण भूमिका हुने बताएका हुन् । उनले भने ‘ म पूर्ण विश्वस्त छु कि यो सम्मेलनले हामीलाई स्वस्थ जनावरहरू उत्पादन गर्न, वंशाणुगत रोगहरू नियन्त्रण गर्न र मानिसहरुलाई सुरक्षित खाद्यान्न उपलब्ध गराउन अगुवाइ गर्न मद्दत गर्नेछ।’
भेटेरिनरी पब्लिक हेल्थ नेपाल र एसोसिएसन अफ पब्लिक हेल्थ भेटेनरियन्स, भारतको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।
नेपालजस्ता न्यून र मध्यम आय भएका देशहरूमा जनस्वास्थ्यको महत्व अझै बढी रहेको भन्दै उनले आफ्नो गम्भीर भूमिकालाई पुरा गर्न पशुचिकित्सकहरुलाई अनुरोध गरे ।
‘पशुचिकित्सकहरूको सेवाले जनस्वास्थ्य प्रवर्द्धन र मानिसहरूमा रोगहरूको रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाई छ ।
‘पशुचिकित्सकहरू सर्वोत्कृष्ट महामारीविद् हुन र जनस्वास्थ्यमा निर्णायक भूमिका खेल्ने स्वाथ्यकर्मी भए पनि निम्न र मध्यम आय भएका देशहरूमा उनीहरूलाई उचित सम्मान गर्न सकिएको छैन् । ’ उनले भने
उनले पशु चिकित्सकहरूको ज्ञान र सीपहरूलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत र मुख्य प्रवाहमा ल्याउन सके देश र मानव जातिलाई नै हित हुने उनको भनाई छ ।