काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितमा सबैभन्दा धेरै पदक जित्दै चीनले शिर्ष स्थान कब्जामै राखेको छ । ३ सय ३१ पदकको छिनोफानो हुँदा चीन पहिलो र दक्षिण कोरिया दोस्रो स्थानमा रहेका छन् ।
जसअनुसार चीनले ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक जितेको छ । यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
जापान आठ स्वर्ण २० रजत र १९ कास्यका साथ ४७ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान पाँच स्वर्ण, ६ रजत र ११ कास्यसहित २२ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ ।
त्यसैगरी हङकङ चाइना पाँच स्वर्ण, चार रजत र १० कास्य सहित कुल १९ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ भने भारत तीन स्वर्ण, तीन रजत र ६ कास्यसहित १२ पदकका साथ छैटौँ स्थानमा छ ।
प्रतियोगितमा इन्डोनेसिया तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित नौ पदकका साथ सातौँ, चाइनिज ताइपेई दुई स्वर्ण, तीन रजत र तीन कास्यसहित आठ पदक प्राप्त गर्दै आठौँ, थाइल्याण्ड दुई स्वर्ण र पाँच कास्यका साथ नवौँ तथा इरान एक स्वर्ण, चार कास्य र पाँच कास्य पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।
नेपालले अहिलेसम्म कुनै पदक जितेको छैन । प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये हालसम्म २९ मुलुकले पदक प्राप्त गरेका छन् ।