
काठमाडौँ। विश्व पर्यटन दिवस–२०२३ को अवसरमा सम्पदा शीर्षकमा आयोजित चित्रकला प्रतियोगिताका विजयी छात्र–छात्रालाई पुरस्कृत गरिएको छ ।
नेपाल सम्पदा सङ्घ र काठमाडौँ महानगरको सहकार्यमा ४४ औं विश्व पर्यटन दिवस–२०२३ को उपलक्ष्यमा हनुमानढोका दरवार परिसरभित्र शनिवार आयोजित चित्रकला प्रतियोगितामा पहिलो हुनुभएका एसओएस पाठशालाका आयुषा सुनुवारलाई नगद दशहजार रूपियाँसहित पुरस्कृत गरिएको हो ।
त्यसैगरी दोस्रो, तेस्रो स्थान हासिल गर्नुभएका क्रमशःपाठशाला स्कुलका मोनिक श्रेष्ठ, जगतसुन्दर व्यनेकुथीका युरिना महर्जनलाई सातहजार रूपियाँ, पाँचहजार रूपियाँ नगद पुरस्कार प्रदान गरिएको हो ।
साथै सान्त्वना पुरस्कार पाउनुहुने शान्ति विद्यागृहका शान्ति भुजेल र पाठशाला स्कुलका वैभवी श्रेष्ठलाई जनही दुई÷दुई हजार रूपियाँ प्रदान गरिएको हो ।
सो अवसरमा नेपाल सम्पदा सङ्घका अध्यक्ष अम्बिका श्रेष्ठले पुर्खाले शताब्दीऔं अगाडि बनाएर छोडेको सम्पदाको संरक्षण प्रवद्र्धन गर्दै आजको पुस्ताले त्यसप्रति गौरव गर्न पाएको बताउनुभयो ।
सो चित्रकला प्रतियोगिताको निर्णायक मण्डलमा प्राज्ञ सुष्मा राजभण्डारी, रत्न शाक्य र डा.पुर्ण राज्यलक्ष्मी राणा रहनुभएको थियो ।
सङ्घका महासचिव प्रकाश दर्नालले विश्व पर्यटन दिवसको अवसरमा सङ्घले चित्रकला प्रतियोगिता, पाटनढोका र ठमेलमा सम्पदा यात्रा र सम्पदा चित्र कार्यशालालगायतका साताव्यापी कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो ।