
काठमाडौं । गणतन्त्र स्थापनाको लागि सिंहदरबारमा बम हान्ने योजनाकार तथा पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । बीर अस्पतालमा उपचारको क्रममा मायालुको विहीबार राति निधन भएको हो ।
पछिल्लो दिनमा क्यान्सर रोगबाट पीडित मायालुको बिहीबार राति १० बजेर २५ मिनेटमा उनको निधन भएको हो । राजनीतिमा चर्चित पात्र मायालुको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
मायालु डडेलधुरामा जन्मिएका भट्ट नेपालमा गणतन्त्र स्थापनाको लागि भूमिगत र खुला संघर्ष गरेका नेतामध्येका एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । उक्त घटनाको योजनाकार हुन् ।
नेपाली काँग्रेसबाट राजनीतिमा संलग्न भएका मायालु २०३० सालतिर स्वर्गीय रामराजा प्रसाद सिंहसँग मिलेर जनवादी मोर्चा गठन गरेका थिए । उनी फेरि २०५३ सालमा काँग्रेसमै फर्किएका थिए ।
नेपाली काँग्रेसबाट २०५६ सालमा बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए ।
मायालु २०७० सालमा एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए । मायालु हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार थिए ।