
काठमाडौँ । मोरक्कोमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या तीन हजार नजिक पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उद्धार कार्य जारी रहेकोले अझै मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।
बीबीसीले भूकम्पमा परी एक हजार ४०० बढी घाइते भएको बताएको छ । जसमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी मोरक्कोको अल–हौज र ताराउदान्ट प्रान्तका छन् । मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएको समाचारमा उल्लेख छ ।
मोरक्कोमा शुक्रबार राति ६।८ म्याग्निच्युडको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का शनिबार पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमहरूले जनाएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएको छ । ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान छ ।
भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म पुग्न निकै कठिनाइ भएको छ । पूराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ ।
भूकम्पपछि साना पराकम्पन आइरहेकोले मानिसहरु सडक तथा खुला ठाउँमा रात बिताउन बाध्य भएका छन् ।