
काठमाडौं । हेल्लो सरकारमा जनताका गुनासा बढ्न थालेका छन् । सेवा २४ घण्टा नै सञ्चालन गर्नुका साथै सम्बोधन हुन थालेपछि गुनासा बढ्न लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेका थिए ।
गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने सङ्ख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको सचिवालयको दाबी छ ।
नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको, नयाँ सुरुआतको लागि शुभकामना दिनका लागि फोन गर्ने गरेको पनि पाइएको छ । आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको जानकारी गराइएको छ ।
यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषय दैनिकरूपमा बढ्दो क्रममा रहेको, सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।