
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अर्को ‘ओम्नी काण्ड’ घटाइएको छ । कोरोना महामारीको बेला स्वास्थ्य सामाग्री खरिद प्रकरणजस्तै चर्चित ओम्नि काण्डजस्तै मोटो रकम असुल्ने गरी नयाँ काण्ड घटाइएको छ । ओम्नी काण्डजस्तै गरी रचिएको विभागकै अधिकारी बताउँछन् ।
मन्त्रालयअन्तरगत स्वास्थ्य सेवा विभागले गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की खरिदमा १२ करोड भ्रष्टाचार भएको छ । बजारमा ३० पैसामा पाइने आइरन चक्की ८५ पैसा खरिद गर्नेगरी नोभा जेनिटिका कम्पनीसँग सम्झौता गरिएको थियो । उक्त कम्पनीबाट सप्लायर्सले ३० पैसामा आइरन चक्की खरिद गरेको तर २१ करोड बढी आइरन चक्की खरिदमा ८५ पैसा मूल्य राखिएको छ । यो मिलेमतोमै भएको विभागकै कर्मचारीहरु बताउँछन् ।
विभागले गत असोज १४ गते टेन्डर आह्वान गरेको थियो । अर्थमन्त्रालयले फागुन अन्तिम सातामा सहमति दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाको योजनामा आइरन चक्कीको मूल्य दोब्बर बनाएकोे र दुईवटा कम्पनी मात्र सहभागी हुन पाउने गरी मापदण्ड बनाएर नीतिगत रुपमै भ्रष्टाचार गरेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सचिव पोखरेलले विश्व बैंकका एक कर्मचारीसँग मिलेर योजना बनाएको र पछि चौरसियालाई पनि सहभागी गराइएको थियो ।
नयाँ ओम्नी काण्ड घटाउन स्वास्थ्य मन्त्री नभएको र सिंगो देशको ध्यान संघ र प्रदेश चुनावमा भएको मौका छोपेर नोबाजेनिटिकासँग मिलेर नयाँ काण्डको रचना गरिएको हो ।
यसअघि तत्कालिन स्वास्थ्यमन्त्री पदम गिरीले खरिद प्रक्रिया रोक्न निर्देशन दिएका थिए । तर, मन्त्री नभएको बेला सम्झौता भएपछि सरोकारवाला अख्तियार पुगेका थिए ।
उक्त प्रकरणलाई प्राथमिकतामा राखेको अख्तियारले स्रोतको भनाई छ । आइरन चक्की प्रकरणका योजनाकारमध्येका एक चौरसियासँग बयन लिएको स्रोतको दाबी छ । तर, चौरसियाले भने आफू बयन दिन नगएको दाबी गरे । विभागकै एक अधिकारीका अनुसार अख्तियारले आइरन चक्की प्रकरणमा मुछिएका अधिकारीसँग बयन लिइरहेको छ ।
विभागका एक कर्मचारीका अनुसार वर्षमा १० देखि १२ करोडभन्दा बढी आइरन चक्की नचाहिने तर सबै बजेट सक्ने गरी साढे २१ करोड आइरन चक्की खरिद सम्झौता गरिएको बताउँछन् । सबै प्रदेशमा भएको बजेटलाई खरिद रोकेर विभागले आफूले केन्द्रबाटै खरिद गरेको हो ।
यो काण्डमा महिलाको स्वाथ्यमाथि गम्भीर खेलवाड गरिएको छ । कम्पनीको उत्पादन क्षमता अनुसार यति संख्यामा आइरन चक्की उत्पादन गर्न एक वर्षभन्दा बढी समय लाग्छ तर औषधिको मिति मे २०२३ राखिएको छ । पुरानो मितिमा तयार गरेर नयाँ मिति प्रिन्ट गरिएको दाबी स्रोतको छ ।
यसैबीच प्रधानमन्त्री कार्यालयले पनि चाँसो व्यक्त गरेको छ ।