
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अर्को रिट निवेदन सर्वोच्च अदालतमा पुगेको छ । सोमबार सर्वोच्चमा रिट निवेदन पुगेपनि दर्ता भने भएको छैन ।
नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको भन्दै युवराज सफल लामिछानेविरुद्ध अर्को रिट लिएर सर्वोच्च पुगेका हुन् । रिटमा लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै सांसदका रुपमा काम गर्न रोक लगाउन माग गरिएको छ ।
युवराजले रिटमा लामिछाने सांसद रहिरहँदा कानुनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने भन्दै मुद्दाको अन्तिम निर्णय नहुँदासम्म सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन माग गरेका छन् ।
रिटमा लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपी लिएको जिकिर गरिएको छ ।
प्रक्रिया पूरा नभएको नागरिकताको प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेकोले मुद्धाको अन्तिम फैसला नहुँदासम्म प्रतिनिधिसभा सदस्यको रुपमा काम गर्न रोक लगाउन माग गरिएको युवराजले जनाएका छन् ।
युवराजले रिट निवेदन सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको र आफूलाई बुधबार बोलाएको बताए ।
यसअघि पनि युवराजकै रिटका कारण रवि नेपाली नागरिक नभएको ठहर गर्दै पुनः नागरिकता लिनु पर्ने फैसला गरेको थियो । उक्त फैसलाका कारण लामिछानेको सांसद पद खारेज भएको थियो । उनी निर्वाचित भएको चितवन–२ मा पुनः चुनाव भएको थियो ।
बैशाख १० गते भएको चुनावमा लामिछाने फेरि निर्वाचित भएका छन् ।
यसअघि राहदानी दुरुपयोग सम्बन्धी विषयमा मुद्धा नचलाउने महान्यायाधीवक्ताको निार्णयविरुद्ध पनि सर्वोच्चमा रिट विचाराधिन अवस्थामा रहेको छ ।