
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फर्जी नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गरेको भन्दै सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता हुँदै छ ।
रवि लामिछाने सो पार्टीबाट उम्मेदवार बन्ने करीब निश्चित जस्तै भएको बेला ठूला दल कांग्रेस र एमालेबाट सम्भावित उम्मेदवार को बन्ला भन्ने विषयले चर्चा पाउन थालेको छ ।
कांग्रेसबाट यसअघि पराजित उम्मेदवार उमेश श्रेष्ठ, जिल्ला पार्टी सभापति राजेश्वर खनाल र निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ मध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । कांग्रेसका केही नेताहरुले चितवन क्षेत्र नंं १ बाट टिकटको चाहना राखेर पनि नपाएका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउनुपर्ने भनेर लविङ्गसमेत गरेका छन् ।
एमालेबाट उम्मेदवार को बन्ला भन्ने चासो देखिएको छ । एमालेबाट जिल्ला पार्टी अध्यक्ष रामप्रसाद न्यौपाने, पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख गोपी श्रेष्ठमध्ये एकजना उम्मेदवार हुने एमाले स्रोतले बताएको छ ।
दुईपटकसम्म क्षेत्र नं. २ बाट जितेका र गत निर्वाचनमा रविसँग पराजित भएका एमाले नेता कृष्णभक्त पोखरेल यसपटक उम्मेदवार बन्न इच्छुक छैनन् । उनले पार्टीले बनाउने उम्मेदवारलाई जिताउन लाग्ने बताउँदै आएका छन् ।
कालिका नगरपालिका निवर्तमान प्रमुख श्रेष्ठले एमालेले विश्वास गरेर टिकट दिए उम्मेदवार हुन तयार रहेको बताएका छन् । एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले पनि चितवन २ मा उठ्ने चाहना राखेका छन् ।
गत मंसिरमा भएको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रले फिर्ता लिएर कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो । एमाले जिल्ला अध्यक्ष न्यौपानेले पार्टीले निर्णय गरे चितवन २ मा उम्मेदवार बन्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि एमाले महासचिव शंकर पोखरेलले लामिछानेलाई उपचुनावमा सहयोग गर्न सक्ने बताएपछि एमाले चितवनका नेताहरु अलमलमा परेका थिए । अहिले सत्ता समीकरण बदलिएपछि र एमालेले आफ्नै उम्मेदवार खडा गर्ने संकेत गरेपछि भने नेताहरू बीच सम्भावित उम्मेदवारका विषयमा अनौपचारिक छलफल हुँदै आएको छ ।
एमाले बागमती प्रदेश कमिटीका सचिव विजय सुवेदीले उम्मेदवारी दर्ता गराउने दिन आउन २० दिन बाँकी रहँदा उपर्युक्त उम्मेदवारको खोजी सुरु भएको बताए । उनले आफू स्वयं भने उम्मेदवारको दौडमा नभएको बताए ।
चितवन क्षेत्र नंं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । गत मंसिरमा भएको निर्वाचनमा ८३ हजार ९५६ जनाले मतदान गरेका थिए । सो क्षेत्रबाट लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याएर जित्दा पाँच दलीय गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत पाएका थिए ।
निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले गत निर्वाचनमा क्षेत्र नं. २ मा १ लाख २४ हजार २१५ मतदाता रहेकामा यसपटक ६३१ जना नयाँ मतदाता थपिएको बताए । नयाँ थपिएकाको जाँचबुझ र मृत्यु भएकाहरुको लगत कट्टाको काम चलिरहेको उनले बताए । सो हुँदा समग्रमा २ सयदेखि ३ सय नयाँ मतदाता थपिन सक्ने उनले अनुमान गरे ।
मतदाताको अन्तिम नामावली चैत १५ गते प्रकाशन गर्ने तालिका छ । चैत १८ गते निर्वाचन कार्यालय स्थापना, चैत २० गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारी फिर्ता र दावी विरोध तथा २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनपछि उपनिर्वाचनको तयारीमा जुट्ने निर्वाचन आयोगको तयारी छ । यसपटक चितवन क्षेत्र नं. २ सँगै तनहुँ क्षेत्र नं. १ मा पनि उपनिर्वाचन गर्नुपर्ने छ । त्यहाँबाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन गर्नुपर्ने भएको हो ।