आज :

देशैभरका मानन्धरहरुलाई जोड्ने स्वयम्भू भ्वय् कार्यक्रम

  • अनलाइन डबली
फागुन २९ ,काठमाडौँ । केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको दोलखादेखि पश्चिमको स्याङ्जासम्म सघन बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर कार्यक्रम गर्दैै आएको छ । हजारौंको संख्यामा सहभागी हुने मानन्धरहरुलाई भोज खुवाउने जिम्मेवारी यो वर्ष काठमाडौंस्थित वटु टोलको चामुण्डा गुठीले लिएको हो । आगामी वर्षको लागि वटु मानन्धर सनाःगू गुठीलाई भ्वय् कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
‘स्वयम्भू भ्वय् कार्यक्रम आयोजना गर्नु सजिलो छैन । हामीले भुइख्यःमा भोज व्यवस्थापनको लागि मात्र करिव सय जना स्वयंसेवीहरु परिचालन गरेका छौं ।’ चामुण्डा गुठीका नाइके तथा मानन्धर संघका निवर्तमान उपसभापति गोपाल कृष्ण मानन्धरले जनाए । ‘हामीले आजको विशेष दिनमा भोज मात्र खुवाउने हैन बरु समुदायलाई आर्थिक पाटोसँग जोड्नको लागि विभिन्न व्यावसायिक र वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल पनि राख्न दिन्छौं । सांस्कृतिक र औपचारिक कार्यक्रम पनि हुन्छ । त्यसैले महिनौं अघिदेखि परामर्श परिषद्को बैठक बसेर टोलबासीहरुको सहयोगमा कार्यक्रमको लागि तयारी थाल्नुपर्छ ।’ मानन्धरले बताए ।
हुनपनि एकदिने भ्वय् कार्यक्रममा रक्तदान, दन्त शिविर, बैंक तथा वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल समेत देख्न सकिन्थ्यो । ‘हामीले नेपाल रेडक्रस सोसाइटी गणबहाल शाखासँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न ग¥यौं । जम्मा २६ जनाले आकस्मिक रक्तदान गरेका थिए । ती मध्ये उदेन न्हूसायमिले १०३ औं पटक रक्तदान गरेका छन् ।’ रक्तदान कार्यक्रमका संयोजक तथा संघका सहायक सचिव कृष्ण बहादुर मानन्धरले जनाए ।
सुरुको समयमा दैसाः टोलले स्वयम्भू भ्वय् कार्यक्रमलाई व्यवस्थापन गर्दै आएको भएपनि चालिसको दसकदेखि अरु टोलले पनि सहकार्य गरेको छ । परम्परागत महत्त्वको स्वयम्भू भ्वय् कार्यक्रमको लागि विभिन्न टोलले आआफ्नै जिम्मेवारी बहन गरेको हुन्छ । भोजको लागि आवश्यक हुने चिउरा, दहि, छ्याङ तथा अन्य नेवार परिकार खुवाउने जिम्मेवारी फरक फरक टोलले लिएको हुन्छ । स्वयम्भू परिसरमा चैत्य स्थापना गरेको खुसीयालीमा मनाइँदै आएको परम्परागत भ्वय् कार्यक्रमलाई पछिल्लो समय समयानुकूल परिवर्तन गरी औपचारिक, सांस्कृतिक र आर्थिक क्षेत्र प्रवद्र्धनसँग जोडिएको छ ।
यो वर्ष स्वयम्भू भ्वय् कार्यक्रमसँगै २०१० माघ १० गते देवीदास मानन्धरको संयोजकत्वमा गठन भएको केन्द्रीय मानन्धर संघको ७० औं स्थापना दिवस पनि मनाइएको छ । कार्यक्रममा समुदायभित्रबाट राजनीतिक नेतृत्वमा पुगेका जनप्रतिनिधि, भिमरथारोहन गरेका जेष्ठ नागरिक, खेलकुद क्षेत्रमा उत्कृष्ट भएका खेलाडी, नवविवाहित दम्पती तथा विभिन्न संकायमा विद्यावारिधी गरेकाहरुलाई सम्मान गरिएको छ ।
सोही क्रममा समाजसेवी रघुवर भक्त मानन्धरले प्रा. रामभक्त–सानुनानी मानन्धरको नाममा स्थापना गरिएको पुरस्कार संवैधानिक कानुनमा विद्यावारिधी सकाएका डा. सुरेन्द्र मानन्धर तथा डा. उज्ज्वल मानन्धरलाई हस्तान्तरण गरिएको छ । उहाँले संघको नाउँमा दुई लाख रुपियाँ नगद हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा द्वारिका नारायण–हिरादेवीको नाउँमा मातृभाषा प्रवद्र्धनार्थ स्थापना गरिएको सलिंचा मचा नेवाः पुरस्कार मोडर्न नेवाः इङ्गलिस स्कूलमा अध्ययनरत रिभान र प्रनिता मानन्धरलाई प्रतिव्यक्ति दस–दस हजार नगदसहित हस्तान्तरण गरिएको छ । कार्यक्रममा एमबीबीएस, एमडी, प्लस टु, एमए, कम्प्युटर साइन्स, बीई, बीबीए, एसईईमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
यो वर्ष विपन्न अभिभावनको पहिचान गरी समुदायभित्रका ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । गुहेश्वरी राज मानन्धर र भिमदेव मथुरा कुमारीले रत्नचुडामणि शिक्षा कोषमार्फत रामेछापस्थित मानन्धर सेवा समाजलाई नगद हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा वाग्मती प्रदेशका सांसद माननीय बसन्त मानन्धर, दोलखा भिमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, स्याङ्जाको हरिनास गाउँपालिका, रामेछाप, काभ्रेपलाञ्चोक, दक्षिणकाली नगरपालिका, शंखरापुर नगरपालिका, भक्तपुर नगरपालिका, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरू सहभागी थिए । संघले समुदायको आर्थिक उत्थान, खेलकुद, स्वास्थ्य, सांस्कृतिक विकास, शैक्षिक उत्प्रेरणाको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal