काठमाडौँ । नेपाल टेलिकमले आइतबार १९ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गरेकी थिइन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नाममा रहेको नेपाल टेलिकम १९ वर्ष पूरा गरेर २० वर्षमा प्रवेश गरेको अबसरमा वार्षिकोत्सव मनाएको हो ।
टेलिकमका दुई करोड १३ लाख २५ हजारभन्दा बढी ग्राहक छन् । कम्पनीले मोबाइल टेलिफोन सेवा, जिएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ ।
सरकारको पूर्ण स्वमित्वमा रहेको टेलिकम विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा स्थापित भएको थियो । तर नेपाल दूरसंचार कम्पनी २०६० माघ २२ गते दर्ता भएको थियो । टेलिकमले दर्ताको मितिमा वार्षिकोत्सव मनाउँदै आएको छ । वि.सं. २०६१ देखि नेपाल टेलिकम भन्न थालिएको हो । टेलिकम वि.सं. २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरिएको थियो ।
नेपालमा दूर संचार सिस्टम विसं १९७० मा काठमाडौँमा म्याग्नेटो स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको थियो ।
सरकारी स्वमित्वमा रहेका कम्पनीमा सबैभन्दा बढी नाफा कमाउने टेलिकमको आर्थिक वर्ष २०७८/८९ को कुल राजस्व रू ४४ अर्ब ३७ करोड रहेको छ । जसमा खुद नाफा रू आठ अर्ब ४७ करोड छ ।
त्यसैगरी टेलिकमको भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकहरुको संख्या दुई करोड १३ लाख २५ हजारभन्दा बढी रहेको छ। यो मंसिर मसान्तसम्मको विवरण हो ।
जसमध्ये जीएसएम मोबाइल ग्राहक दुई करोड एक लाख ६८ हजार, एडिएसएल सेवाका चार लाख ३७ हजार र पिएसटीएन सेवाका चार लाख ५५ हजार रहेका छन् ।
त्यसैगरी एफटिटीएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार एक सय १४ छन् भने एफटिटीएच डाटाका ग्राहक दुई लाख ११ हजार पाँच सय ७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार छन् । सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ ।
विसं २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२।२४ प्रतिशत रहेको छ । टेलिकमका अनुसार हालसम्म देशका ७७ वटै जिल्लाका सात सय ३९ स्थानीय तहमा फोरजी एफटीइ सेवाको पहुँच स्थापित भएको छ । फोरजी विस्तारकार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।
टेलिकमले देशभरमा पिएसटीएन, सिडिएमएलगायत आधारभूत टेलिफोन र जिएसएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान प्रदान गर्ने गरेको छ । इन्टरनेट सेवामा डायल–अप आइएसडीएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान गर्ने गरेको टेलिकमले इन्टरनेट सेवामा डायल–अप आइएसडीएन लिज्ड एडिएसएल इन्टरनेट र स्काइ डाटामार्फत वायरलेस इन्टरनेट सेवा प्रदान गर्ने गर्दछ ।
बैंक तथा विभिन्न निकायलाई तथ्याङ्क आदन-प्रदान गर्न लिज्ड सर्किटको सेवासमेत टेलिकमले दिने गरेको छ । कम्पनीमा हाल करिब चार हजार कर्मचारी कार्यरत छन् ।