
काठमाडौँ । संस्कृति, पर्यटन, नागरिक उड्डयान मन्त्री सुदन किरातीले विमानस्थलमा बदमासी भइरहेको भन्दै अख्तियार पठाउने चेतावनी दिएको दुईमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पक्राउ परेका छन् ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रबन्धक पूर्ण प्रसाद चुडाललाई पक्राउ गरेको हो । चुडाललाई उनको कार्यकक्षबाटै ८ लाखसहित अख्तियारले पक्राउ गरेको हो । उक्त रकम घुसवापत दिएको अख्तियारको दाबी छ ।
अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । चुडालको कार्यकक्षको दराजबाट उक्त रकम अख्तियारको टोलीले जफत गरेको थियो ।
चुडालले उक्त रकम घुसबाट लिएको नभएको दाबी गरेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
मन्त्री किरातीले दुई दिनअघि मात्रै क्यानका पदाधिकारीसँगको छलफलको क्रममा अख्तियार पठाउने चेतावनी दिएका थिए ।