काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्काले विदेशमा रहेका नेपाली वंशजका नागरिकको नागरिकताको निरन्तरता कायम राख्नुपर्ने बताएका छन्।
उनले ‘एकपटकको नेपाली, सधैँभरिको नेपाली’ भन्ने अवधारणाले वंशजको निरन्तरतालाई जनाउने भन्दै विदेशमा रहेका नेपालीका सन्तानको नेपाली पहिचान र वंशजको सम्बन्ध कायम रहनुपर्ने धारणा राखेका हुन्।
गैरआवासीय नेपालीको नागरिकता, वंशजको नागरिकताको निरन्तरता तथा विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्ने विषयमा आयोजित चियापान तथा छलफल कार्यक्रममा बोल्दै सांसद खड्काले आफू पनि लामो समय अमेरिका बसेर नेपाल फर्किएको अनुभव सुनाए। अमेरिकामा अध्ययन गरी व्यवसायसमेत सञ्चालन गरेको उल्लेख गर्दै उनले विदेशमा बस्ने नेपालीका फरक–फरक परिस्थिति र बाध्यता हुने बताए।
उनले विदेशमा अध्ययन गर्न जाने क्रममा कतिपयले ग्रिनकार्ड, एचवानबी भिसा तथा विदेशी नागरिकता लिने गरेको उल्लेख गर्दै त्यस्ता निर्णयका पछाडि व्यक्तिगत, पारिवारिक तथा व्यावहारिक कारण हुने बताए।
खड्काले भने, ‘एकपटकको नेपाली, सधैँभरिको नेपाली भनेको कन्टिन्युएसन अफ लिनिएज हो। एकपटक नेपालमा जन्मिएको अथवा वंशजको सम्बन्ध भएको मान्छे नेपाली सधैँभरिको नेपाली हुनुपर्छ भन्ने मैले बुझेको छु।’
उनका अनुसार वंशजको नागरिकताको निरन्तरता र त्यसबाट प्राप्त हुने अधिकारका विषयलाई छुट्टाछुट्टै रूपमा हेर्न सकिन्छ। विदेशमा रहेका नेपालीका सन्तानले वंशजको सम्बन्ध कायम राख्न पाउनुपर्ने विषयमा स्पष्ट हुनुपर्ने भन्दै त्यसबाट प्राप्त हुने आर्थिक, सामाजिक तथा राजनीतिक अधिकारको तहबारे भने थप छलफल आवश्यक रहेको उनले बताए।
नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको उल्लेख गर्दै खड्काले राजनीतिक पदमा प्रतिस्पर्धा गर्न चाहने व्यक्तिका हकमा विदेशी नागरिकता त्याग्नुपर्ने धारणा राखे।
उनले भने, ‘पोलिटिकल अफिसमा उठ्ने हो भने चाहिँ बाहिरको नागरिकता त्याग्नुपर्ने हुन्छ। राजनीतिक अधिकारको विषय अलिकति संवेदनशील हुन्छ। त्यसमा चाहिँ स्पष्ट व्यवस्था हुनुपर्छ।’
खड्काले वंशजको नागरिकताको निरन्तरता कायम राख्ने विषयलाई राजनीतिक तथा संवैधानिक रूपमा कसरी सम्बोधन गर्ने भन्नेबारे सबै पक्षबीच छलफल हुनुपर्ने बताए। आवश्यकताअनुसार संविधान संशोधन, कानुनी संशोधन तथा नियमावलीमा परिवर्तन गर्न सकिने उनको धारणा थियो।
उनले विदेशमा नेपाली पलायन हुनुको मुख्य कारण देशको कमजोर अर्थतन्त्र र रोजगारीको अभाव रहेको पनि बताए। नेपालमै पर्याप्त आर्थिक अवसर र रोजगारी सिर्जना गर्न सके नेपालीहरू विदेशिनुपर्ने अवस्था कम हुने उनको भनाइ थियो।
उनले भने, ‘हाम्रो अर्थतन्त्र बलियो भएन। हामी धनी भएनौँ, रोजगारी पाइएन। त्यही भएर मानिसहरू विदेश जान खोजिरहेका छन्। नेपालमै सम्भावना भएको भए मानिस किन विदेश छोडेर जान्थ्यो?’
नागरिकताको विषयमा छलफल गर्दा विदेश पलायन हुनुको मूल कारण पहिचान गरी त्यसको समाधानमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, नागरिकता खोइ अभियानका संयोजक वासुदेव घिमिरेले विदेशमा रहेका नेपाली वंशजका नागरिकको नागरिकताको निरन्तरता सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनले विदेशमा रहेका नेपालीका सन्तानले नेपालमा रोजगारी तथा अन्य अवसर प्राप्त गर्न नसक्ने अवस्था रहेको भन्दै संविधानमा भएको नागरिकतासम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाए।
अमेरिकाको लस एन्जलसमा बसोबास गर्दै आएका घिमिरेले आफ्ना छोरीहरूले विश्वविद्यालयबाट अध्ययन पूरा गरेपछि नेपालको संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्था अध्ययन गर्दा वंशजको नागरिकताको विषयमा समस्या देखेको बताए। त्यसपछि विदेशमा रहेका नेपाली वंशजका नागरिकको अधिकार र नागरिकताको निरन्तरताका लागि अभियान सुरु गरेको उनले जानकारी दिए।
उनले भने, ‘संविधानमा लेखेर वंशजका नागरिकहरूको वंशजको नागरिकता खोसिरहेको देखिसकेपछि हामीले राज्यलाई यो विषय बताउनुपर्छ र वंशजका नागरिकहरूलाई फिर्ता आउने बाटो खोलिदिनुपर्छ भनेर अभियान सुरु गरेका हौँ।’
घिमिरेले गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्थाले वंशजको नागरिकता त्याग्नुपर्ने अवस्था सिर्जना गरेको दाबी गरे। गैरआवासीय नागरिकता प्राप्त गरेपछि पुनः वंशजको नागरिकता प्राप्त गर्ने स्पष्ट संवैधानिक व्यवस्था नरहेको उनको भनाइ थियो।
उनले भने, ‘उहाँहरूले स्वेच्छाले त्यागेर प्राप्त गर्ने नागरिकताको परिकल्पना राज्यले ग¥यो। तर, उहाँहरूले त्यागिसकेपछि त्यो पुनः प्राप्त गर्ने कुनै पनि प्रावधान राखेको छैन। त्यसको मतलब उहाँहरू सदाका लागि वंशजको नागरिक हुनुहुन्न।’
घिमिरेले विदेशमा रहेका नेपालीलाई गैरआवासीय नागरिकता तथा परिचयपत्र लिने विषयमा सचेत रहन आग्रह गरे। उनले भने, ‘विश्वभरि छरिएका नेपाली वंशजका विदेशमा बस्ने नेपालीहरूलाई यो गैरआवासीय नागरिकता र परिचयपत्र नलिइदिनुहुन म विनम्र अनुरोध गर्दछु।’


अनलाइन डबली

