काठमाडौँ । नेकपा एमालेबाट टिकट नपाएपछि अभिनेत्री समेत रहेकी नेतृ करिश्मा मानन्धर उर्फ सूर्यकुमारीले असन्तुष्टि पोखेकी छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट गर्दै करिश्माले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी हुन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’ करिश्मा ललितपुर–१ की बासिन्दा हुन् ।
२०७८ साल चैत ८ गते एमाले प्रवेश गरेकी करिश्माले त्यसलगत्तै आफ्नो वास्तविक नाम सुर्यकुमारी भएको सार्वजनिक गरेकी थिइन् ।प्रतिनिधिसभा सदस्य पदका लागि मकवानपुर क्षेत्र नम्बर–१ मा एमालेबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दिएका छन् ।
उनले गत शनिबार बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिकट लिएका थिए । टिकट लिए लगत्तै उनी हेटौंडा आएर आइतबार एमालेको आधिकारिक उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका थिए ।
यस अघि एमालेले रामेश्वर रानालाई सो क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, त्यसको केही समय नबित्दै एमाले मकवानपुरका इन्चार्जसमेत रहेका रानाको टिकट खोसेर राप्रपा नेपालका अध्यक्ष थापालाई टिकट दिएको थियो ।
एमाले मकवानपुरका नेताहरुले पार्टी नेतृत्वको सो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । एमालेका केही नेताले त कमल थापालाई सघाउन नसकिने भन्दै टिकट फिर्ता लिएर रानालाई नै उम्मेदवार बनाउन मागसमेत गरे । तर, उनीहरुको माग सम्बोधन हुन सकेन ।
उनीहरुको माग सम्बोधन नभएपछि आइतबार बिहानैदेखि एमाले मकवानपुरको पार्टी कार्यालय तनावमय बन्यो । कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गर्नुको साथै व्यानर तथा फ्लेक्स बोर्डहरु च्यातेका थिए । कार्यकर्ताको विरोधका कारण एमालेका उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रमसमेत केहीबेर प्रभावित बनेको थियो । यद्यपि, आइतबार दिउँसो ३ बजेपछि भने मकवानपुरको संघ तर्फका १ र प्रदेशतर्फका ४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।
राप्रपा नेपालका अध्यक्ष थापाले भने विधिवत रुपमा साइत हेराएर आइतबार करिब साढे ११ बजेको समयमा उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमाले मकवानपुरका सचिव एवम् प्रचार विभाग प्रमुख नवीन सिग्देलले पार्टीले कमल थापालाई टिकट दिएको जानकारी पाए लगत्तै ‘अनिष्ट’ भन्दै प्रतिक्रिया दिएका थिए । शनिबार उनले पार्टीका नेता कार्यकर्ताका लागि कमल थापा सही व्यक्ति नहरेको जनाएका थिए ।
सचिव सिग्देलले प्रतिक्रिया दिँदै भने, ‘कमल थापालाई पार्टीले टिकट दिनु परिस्थितिको उपज हो ।’ उनले नेकपा एकीकृत समाजवादी पार्टीलाई लक्षित गर्दै एमाले विभाजन गरेर सत्ता लोभमा परेका व्यक्तिहरुको कारण कमल थापालाई उम्मेदवार स्वीकार गरेर अघि बढ्नु पर्ने परिस्थिति सिर्जना भएको बताए ।
उनले एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर उठ्ने र टिकट पनि सोही अनुसार व्यवस्थापन भएको हुँदा कमल थापा एमालेको आधिकारिक उम्मेदवार हुने भएकाले केन्द्रको निर्णयलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताए ।
यता २०७४ को निर्वाचनमा मकवानपुर–१ बाटै कमल थापालाई हराएर चुनाव जितेका एमालेका नेता कृष्णप्रसाद दाहाल पनि केन्द्रको निर्णयप्रति असन्तुष्ट देखिएका छन् । पार्टी नेतृत्वले जिल्लामा सक्षम उम्मेदवार हुँदाहुँदै कमल थापालाई टिकट दिएर एमाले कार्यकर्ताहरुमाथि अन्याय गरेको उनले बताए ।
मकवानपुरमा एमाले एक्लै बलियो शक्ति रहेको र आफ्ना नेताहरु नै चुनाव लड्न तयारी रहेको अवस्थामा थापालाई टिकट दिएको भन्दै उनले दुःख व्यक्त गरे ।
उता एमाले हेटौंडा उपमहानगरपालिका नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनीले पार्टी नेतृत्वको कारण कमल थापालाई चुनावमा बोक्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको बताए ।
उनले पार्टीबाट सक्षम र शक्तिशाली नेतालाई पाखा लगाएर अन्य पार्टीको कमजोर उम्मेदवारलाई अघि सारेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पार्टीको कार्यकर्ता भइसकेपछि आफूहरुले केन्द्रको निर्णय मान्दिनँ भन्न नमिल्ने बताए ।