
काठमाडौं । आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिट्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिट्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले सहकारी समस्या समाधानको लागि ‘चिट्ठा कार्यक्रम’ अचुक शूत्र बन्ने जिकिर गर्दै सरकारले सो योजना लागु गर्नुपर्ने माग गरेका छन् । व्यक्तिहरुका बचतबाट सञ्चालकहरुले घर, जग्गा, गाडी, मार्टलगायतका स्थायी सम्पत्तिहरु बैंकमा धितो राखी ऋण लिएकोले पनि पीडितहरुको रकम फिर्ता हुन गह्रो रहेको केसीले बताए । केसीका अनुसार ऋण मुक्त गर्न नसक्दा अरबौंको सम्पत्ति बैंकले कम मुल्याङकन गरी लिलाम गर्ने अवस्था रहेकोले त्यसलाई चिट्ठाद्वारा व्यवस्थापन गर्न सकिने जानकारी दिए । “यो फर्मूलालाई व्यापारिक तथा ठगी गर्ने उद्देश्य नबनाई विशुद्ध परोपकारी भावबाट पीडितलाई न्याय दिन राज्य र महासंघको सहकार्यमा सम्पन्न गर्नुपर्छ ।” अध्यक्ष केसीले थपे ।
केसीले समस्या समाधान गर्न अव्यवस्थित सम्पत्तिहरुलाई चिट्ठा कार्यक्रमद्वारा चिट्ठामा सहभागिता जनाउनेहरुलाईलाई पहिलो पुरस्कार बापत २५ करोडको घर, दोस्रोमा १० करोडको घर, तेस्रोमा ५ करोडको घर र चौथोमा जग्गालगायतका भौतिक सम्पत्तिहरु पुरस्कारद्वारा वितरण गर्न सकिने केसीले बताए । यसरी चिट्ठाद्वारा आएको रकमले बैंको ऋण चुक्ता गर्ने, पीडितहरुको बचत फिर्ता गर्न सकिने बताउँदै केसीले भने,“यसो गर्दा सामन्य रकमले खरिद गरिएको चिट्ठाबाट व्यक्ति करोडपति हुने अवसरमा धेरैभन्दा धेरै व्यक्ति सहभागिता हुँदा देशलाई ठूलो संकटबाट बचाउन यो शूत्र ‘राम बाँण’ सावित हुने कुरा सरकारले बुझ्न जरुरी छ ।” यसरी यो उपायलाई सरकारले सहजै नस्वीकारे नाङ्गिएका आमा, दिदी–बहीनीले यो भन्दा भयङ्कर रुप धारण गरि बिद्रोहमा उत्रिएर कुनै दुर्घटना घटे त्यसको जिम्मेवार सरकारनै हुने केसीले चेतावनी दिए ।
पत्रकार सम्मेलनमा पीडित महिलाहरुले अर्धनग्न अवस्थामा आफ्ना पीडाहरु व्यक्त गर्दै अध्यक्ष केसीको शूत्रले आफूरुको बचत रकम फिर्ता हुनेप्रति आशा पलाएकोले पनि सरकारले सो प्रश्तावलाई आत्मसाथ गर्नुपर्ने धारणा रोखेकी थिइन् । महासंघका देवकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।