आज :

चुनावमा देउवा र ओलीले प्रचण्डको भन्दा धेरै खर्च गर्न पाउने, शीर्ष नेताहरुको खर्च सिमा यस्ताे छ

  • अनलाइन डबली

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खर्चको सीमा तोकेको छ । आयोगले निर्वाचनमा अस्वाभाविक भड्किलोपन प्रदर्शन नहोस् भनेर खर्चको सीमा तोकेको हो ।

आयोगले भूगोल र मतदाताको संख्याको आधारमा प्रतिउम्मेदवार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको छ ।

आयोगले तोकेको निर्वाचनको खर्च सीमाअनुसार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ डडेलधुराबाट उम्मेदवार बनेका देउवाको निर्वाचन क्षेत्रमा ९१ हजार हाराहारी मतदाता छन् ।

यसैगरी, प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । आयोगका अनुसार गोरखा–२ का उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् । यस निर्वाचन क्षेत्रमा १ लाख ५ हजार मतदाता छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

ओली झापा–५ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बन्दैछन् । आयोगले सो निर्वाचन क्षेत्रका क्षेत्रका उम्मेदवारले बढीमा ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । यस निर्वाचन क्षेत्रमा १ लाख ५४ हजार मतदाता छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनको प्रचारप्रसारमा अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् । रौतहट–१ बाट उम्मेदवार बनेका उनको निर्वाचन क्षेत्रमा १ लाख मतदाता छन् ।

इलाम–१ बाट उम्मेदवार बनेका एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् । उनको निर्वाचन क्षेत्र झापा–३ मा १ लाख ३१ हजार मतदाता छन् । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समेत उम्मेदवार छन् ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले २९ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । महोत्तरी–३ बाट उम्मेदवार रहेका ठाकुरको निर्वाचन क्षेत्रमा १ लाख हाराहारीमा मतदाता छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal