आज :

महराले मैदान छोडेपछि…

  • अनलाइन डबली

दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले प्रत्यक्ष निर्वाचन नलड्ने भएपछि उनको क्षेत्र ‘दाङ–२’ सत्तारुढ गठबन्धनभित्रै तानातानमा परेको छ । उपाध्यक्ष महरा समानुपातिकमा गएपछि नेपाली कांग्रेसले गठबन्धनभित्र सो क्षेत्रमा आफ्नो सशक्त दाबी राखेको छ ।

अघिल्लो निर्वाचनमा जितेकै आधारमा महरालाई नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर २ छोड्ने तयारी गरेको थियो । तर, महराले मैदान छोडेपछि कांग्रेसका नेता राजु खनालले दाबी गरेको नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगीले बताए ।

‘महरा सर लड्ने अवस्थामा हामी दाबी गर्ने पक्षमा थिएनौं तर उहाँले प्रत्यक्षतर्फ चुनाव नलड्ने निर्णयमा पुगेर समानुपातिकमा जानुभयो । त्यसपछि हाम्रो पार्टीबाट राजु खनालले दाबी गर्नुभयो,’ खनालले भने, ‘महराबाहेक माओवादी अरु नेता चुनाव लड्दा हार्ने स्थिति हुन्छ । त्यसैले कांग्रेसको दाबी छ ।’

सो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल उम्मेदवार बन्दैछन् । उनीसँग प्रतिस्पर्धामा सशक्त उम्मेदवार आवश्यक पर्ने भन्दै कांग्रेसले दाबी गरेको छ । कांग्रेसले माओवादीलाई दाङबाट प्रदेशसभामा तीन सिट दिएर भए पनि प्रतिनिधिसभातर्फ दुई सिट लिने तयारी गरेको छ ।

माओवादी केन्द्रले भने महराले मैदान छोडेपछि दाङ–२ मा स्थायी समिति सदस्य रेखा शर्मालाई अघि सारेको छ । पोलिटब्यूरो सदस्य निर्मल आचार्य प्रदेशमा चुनाव लड्न तयार भएपछि शर्माले प्रतिनिधिसभामा अवसर पाएकी हुन् ।

गठबन्धनबाट दाङ–२ माओवादी केन्द्रको भागमा परेमा आफू उम्मेदवार बन्न तयार रहेको शर्माले बताइन् । ‘गठबन्धनबाट औपचारिक रूपमा सिट टुङ्गिन बाँकी छ । सिट टुङ्गो लाग्यो र दाङ क्षेत्र नम्बर २ हाम्रो भागमा परेर पार्टीले उम्मेदवार बनायो भने प्रत्यक्षमा मेरो उम्मेदवारी हुनेछ,’ शर्माले भनिन् ।

पार्टीले समेत जिल्लाबाट आफ्नो नाम सिफारिस गरिसकेको भन्दै उनले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आफू तयार रहेको बताइन् । उनले भनिन्, ‘गठबन्धनबाट यो क्षेत्र माओवादी केन्द्रको भागमा पर्नु पर्यो । पार्टीले टिकट दिनु पर्यो । म चुनाव लड्न तयार छु ।’

एमालेबाट महासचिव पोखरेल उम्मेदवार बन्ने लगभग छिनोफानो भइसके पनि गठबन्धनबाट कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । यद्यपि माओवादी केन्द्रकी शर्माले पार्टीबाट आफ्नो टिकट पक्काजस्तै भइसकेको दाबी गरेकी छन् । तर पछिल्लो समय कांग्रेसले पनि दाबी गरेपछि गठबन्धनमा दाङ–२ तानानानमा पर्ने देखिएको हो ।

एमालेले प्रदेशको राजधानी दाङमा ल्याउन तत्कालीन मुख्यमन्त्री पोखरेलले निर्वाह गरेको भूमिका, महराले मैदान छाडेकोजस्ता विषयलाई मुद्दा बनाएको छ । तर गठबन्धनले एमालेका उम्मेदवार पोखरेल अन्तरमुखी भएका कारण आफूहरुले त्यसको फाइदा उठाउन सक्ने आकलन गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal