काठमाडौँ । विद्यालय गएका बुटवलका तीन जना विद्यार्थी शुक्रबार घर फर्किएनन्। उनीहरूको खोजि गरिदिन अभिभावकहरूले आग्रह गरेका छन्।
बुटवल उपमहानगरपालिका वडा नम्बर ९ को नविन औद्योगिक माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने २ जना र नहरपुर माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने १ जना विद्यार्थी शुक्रबारदेखि सम्पर्कविहीन छन्।
बुटवल उपमहानगर ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार विद्यालय गएका थिए। उनीहरू विद्यालय जान भनेर घरबाट हिँडे पनि विद्यालयमा हाजिर नभएको र घरमा पनि नआएको परिवारका सदस्यहरू बताउँछन्।
तीनै जना विद्यार्थी सँगै निस्केका थिए। विद्यार्थी सागर पौडेलका मामा राजु पन्थीले झोला बोकेर विद्यालयका उनीहरू सम्पर्कविहीन रहेकोले खोजि गर्न आग्रह गरिएको हो।
उनीहरूमध्ये समीर लम्सालले शनिबार दिउँसो २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञात स्थलमा राखिएको जानकारी दिएका थिए। आफूहरूलाई अचेत बनाई ल्याएको र दिउँसो २ बजेपछि मात्रै होस खुलेर म्यासेन्जरमा सम्पर्क गरेको उनले बताएका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले परिवारको निवेदन अनुसार हराइरहेका विद्यार्थीको खोजि जारी रहेको बताए।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


