आज :

नायक नवल खड्काद्वारा उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्धताहरु

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रवादी नायकको छवि बनाएका नवल खड्काले नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  खड्काले आइतबार विहान सामाजिक संजालमा आफ्ना चुनावी एजेन्डासहित उम्मेदवारी घोषणा गरेका हुन् । उनले पेशागत हकहितका लागि सदैव अग्रसर रहने, संघको लागि जग्गा प्राप्ति र भवन निर्माण गर्ने, राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन गराउने, विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा सांस्कृतिक सहचारी दुत नियुक्त गरी चलचित्र प्रदर्शन गर्ने सरल अवस्था बनाउने लगायतका एजेण्डा अगाडि सारेका छन् ।

उम्मेदवारी घोषणा गर्दै खड्काले लेखेका छन्ः आफ्नै विशिष्ट पहिचान र महत्व बोकेको संस्था हो। यो चलचित्र निर्माताहरूको पेशागत हकहित र ब्यावसायिक उन्नयनका लागि स्थापित संघ हो। यसले आफ्नो स्थापनापछिका करीव २५ बर्ष अनेकौं उकाली–ओराली, भञ्ज्याङ–चौतारी, नेटा–कुईनेटा पार गर्दै एक गौरवशाली इतिहास निर्माण गरेको छ। जुन इतिहास हाम्रा अग्रजका बुद्धि र परिश्रमले निर्मित भएको हो। हामीले उहाँहरुलाई स्मरण र सम्मान गर्दै, यस इतिहासलाई निरन्तरता दिनु छ र उन्नत गर्नु छ। यसैका लागि हामीहरु अहिले नेपाल चलचित्र निर्माता संघको आगामी नेतृत्वको चयन गर्ने संघारमा छौं।

नेतृत्व हस्तान्तरण सम्भव भएसम्म सहमतिबाट हुनु पर्छ, यो नै सर्वथा उत्तम विधि हो। शर्त के छ भने त्यसभित्र अनुभवी तथा नयाँ सदस्यहरु सामेल होउन्। त्यस्तो नेतृत्व टिमले नै अग्रजका अनुभवलाई सम्मान गर्न र नयाँ सोच एवं कोणलाई पनि जोड्न सक्ने पुल बन्न सक्छ। हामी सबैको प्रयाश यस्तै एउटा गतिशील नेतृत्व चयन गर्नु पर्छ. प्रतिस्पर्धात्मक निर्वाचनबाट यस्तो नेतृत्व चयन नहुन पनि सक्छ र यसका साथै अनावश्यक कटुता उत्पन्न हुन सक्छ। यस कुरालाई हामीले हेक्कामा राख्नु पर्छ।

नेपाली चलचित्र निर्माणमा नीजिक्षेत्रले प्रवेश गरेको करीव ५५ वर्ष भइसकेको छ। शुरुवाती चरणमा केही चलचित्रकर्मीहरुले आफ्नै शोखमा लगानी गर्ने गरेका थिए। तिनीहरुले यस क्षेत्रलाई व्यवशायका रुपमा कमै ग्रहण गरेका थिए। सन् १९९० पछि यस क्षेत्रमा कैयन उद्यमीहरु प्रवेश गरे तिनीहरुको प्रयाश यसलाई व्यवशायिकता दिन नै केन्द्रीत थिए। तर यस क्षेत्रमा बलिवुडमा जसरी व्यवशायिक घराना तथा समूह उदय हुनेगरी विकसित हुन सकेको छैन।

यसका लागि हाम्रो मुलुकको जनसांख्यिक, राज्यको नीति नै प्रमुख जिम्मेवार हुन्। हिजोका दिनमा हामीमा रहेको फिल्म–मेकिङ्ग र प्रस्तुतिसम्बन्धी अल्पज्ञानलाई दोष दिन सकिएला तर अब चलचित्र जगतमा त्यो अभाव देखिदैंन। कम जनसंख्या र कम बोलिने भाषा पनि अब हाम्रो लागि बाधक बन्न सक्दैन। नेपाली चलचित्रलाई विश्वभर विस्तारित नेपालीसमक्ष पु¥याउन सकिन्छ। कोभिड–१९ अब कम घातक हुँदैछ र यससँगै बाँच्न मानव तयार भएका छन्। कोभिड–१९ को असरबाट विकसित मुलुकका फिल्म–इन्डस्ट्रीहरु तंग्रीन थालेका छन्। यसबीचमा नेपाली चलचित्रहरुले पनि राम्रै आम्दानी गरेका छन्। यसर्थ राज्यको नीति चलचित्रक्षेत्र मैत्री र सहयोगी बनाउन सके यो क्षेत्रको भविष्य छ।
तर यसको भविष्य छ भनेर हामी सुरक्षित छौं भन्न खोजेको होइन। हामी चलचित्र निर्माताहरु सुरक्षित व्यवशायी बन्न नदिने विभिन्न बाधक छन्।

ती बाधकहरुलाई नहुत्याई हामीले यस क्षेत्रमा व्यवशायिक जगत, घराना तथा समूहहरु जन्माउन सक्दैनौ । त्यसका लागि नै हाम्रो संघको आगामी नेतृत्वले गर्नुपर्ने कार्यहरु औंल्याउनु उचित ठानेको छु। यसैबेला म के अनुरोध गर्दछु कि अधिवेशनमा या आगामी कार्यसमितिले यी कार्यहरुको प्राथमिकता निर्धारण गरौं जसलाई आगामी कार्यसमितिले सम्पादन गर्नु पर्ने हुन्छ। मैले टिपोट गरेका कार्यहरु निम्न छन्ः

पेशागत हकहितका लागि सदैव अग्रसर रहने, संघको लागि जग्गा प्राप्ति र भवन निर्माण गर्नु, राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन गराउनु, विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा सांस्कृतिक सहचारी दुत नियुक्त गरी चलचित्र प्रदर्शन गर्ने सरल अवस्था बनाउनु,चलचित्रलाई सेवामूलक होइन पूर्ण उद्योगमा मान्यता दिलाउनु, चलचित्र विकास बोर्ड ७ वटै प्रदेशमा खोल्न पैरवी गर्दै चलचित्र निर्माणका लागि ईजाजत पत्र लगायत आवश्यक सम्पुर्ण प्रक्रियालाई सरल, सहज तथा मर्यादित हुने व्यवस्था मिलाउनु, सबै प्रदेशमा छायाङ्कन स्थल/स्टुडियो तथा चलचित्र प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नु, चलचित्र विकास बोर्ड र सेन्सर वोर्ड लगायतमा चलचित्र निर्माता संघको प्रतिनिधित्व हुने सुनिश्चित गर्नु, बक्स अफिसलाई अझ सक्रिय तथा पारदर्शी बनाउन दवाव दिई निर्मातालाई आर्थिक तवरले संरक्षण हुने व्यवस्था गर्नेलगायत छन् ।

त्यसैगरी नेपालीहरुका प्रमुख चाडबाडहरु र प्राइम–टाइममा नेपाली चलचित्र प्रदर्शन गर्नुपर्ने बाध्यकारी व्यवस्था गराउनु, जसरी बक्स अफिसको निर्माण भएको छ, त्यसरी नै चलचित्र विकास बोर्डसँगको सहकार्यबाट सर्भरको निर्माण गरी निर्मातालाई आर्थिक तरिकाले संरक्षण गर्ने, चलचित्र प्रदर्शनका लागि इनकोडिङ गराउँदा लाग्ने शुल्कलाई मिनाहा गर्न वा शुल्क कम गर्ने, चलचित्र घरमा प्रदर्शन गरिएको चलचित्रबाट प्राप्त आम्दानीको शेयरबाँडफाटमा बृद्धि गर्नु, चलचित्र घरमा प्रदर्शन गरिने फिल्मका होर्डिङ–बोर्ड, पोष्टर, हल–एड लगायतमा नेपाली चलचित्र निर्माता संघले खप्नु परेका असमान व्यवहारलाई न्यायसंगत बनाउनु, नेपाली फिल्मलाई सम्भावित विदेशी बजारमा पुर्‍याउनका लागि तत् तत् भाषामा डब गर्ने र विदेशमा रिलिज गर्ने वातावरणको सृजना गर्नु, ओटिटि प्लेट फोरम (OTT Plate Forum) को खोजी गर्नु, आदिवासी, जनजाति तथा सिमान्तकृतका विषयमा बनेका चलचित्रलाई संरक्षण, प्रदर्शन प्राथमिकता दिनका साथै सरकारबाट अनुदानको स्थायी–नीतिगत व्यवस्था गराउन पहल गर्ने, यस्ता चलचित्रहरुलाई प्रोत्साहन दिन महिनामा कम्तीमा दुई सो प्रदर्शन हुने व्यवस्था मिलाउने, यसका लागि चलचित्र घरसँग सहकार्य गर्ने, घुम्ती चलचित्र (घर) लाई सम्भाव्य स्थलहरुको पहिचान गरी चलचित्रलाई आम जनताको विचमा पुर्‍याउन चलचित्र विकाश बोर्डसँग सहकार्य गर्ने, चलचित्र विकास बोर्ड अन्तरगतको स्टोरी बैंकलाई त्यसको उद्देश्य अनुरुप परिणाम ल्याउन सकृय तथा क्रियाशील बनाउने, बन्द हुन लागेका सिनेमा घरहरुलाई संरक्षण तथा सुचारु सञ्चालनका लागि नेपाल चलचित्र संघसँग सहकार्य गर्ने, प्रोजेक्ट विमालाई सरलीकरण गर्ने र चलचित्रकर्मीलाई विमाको व्यवस्था मिलाउने ।

खड्काले प्रोजेक्ट लोनको सुविधा लिन बैङ्कसँग सहकार्य गरी ऋण लिने व्यवस्था मिलाउने, चलचित्र रिलीजको समयमा विभिन्न सञ्चार माध्यमबाट विज्ञापनलाई सस्तो सुन्दर र व्यवस्थित गराउने। र यसका लागि ती माध्यमसँग समझदारी कायम गरी निश्चित छुटको व्यवस्था गर्ने,
नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउन राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्बन्ध–सम्पर्कलाई बढावा दिन महोत्सव, गोष्ठी, समारोहको आयोजना गर्ने तथा अन्तर्राष्ट्रिय बजार व्यवस्थापनमा÷व्यवस्थापकसँग सहकार्य गर्ने, म्यानमार, चीन, भारत तथा सम्भावना भएका मुलुकहरु तथा विश्वमा विस्तारित नेपाली राष्ट्रबीचमा बजारलाई व्यवस्थित गर्न पहल गर्ने, प्रत्येक विदेशमा रहेका दुतावासमा चलचित्र प्रदर्शनका लागि जिम्मेवार शाखा खोल्ने र सो शाखालाई सक्रिय बनाउने, नेपाली चलचित्रसम्बन्धी पाठ्य–पुस्तक बनाई कलेजस्कुलमा अध्ययन गराउन पहल गर्ने, विदेशी चलचित्रहरुले नेपाली संस्कृतिमा पारिरहेको नकारात्मक असर रोक्न तिनीहरुको प्रदर्शनलाई हतोत्साह गर्न कर बृद्धि गर्ने ।

यी उल्लिखित कार्यहरु नै अबको चलचित्र निर्माता संघको नेतृत्वले गर्नुपर्ने कार्यहरु हुन् यी कार्यहरुलाई सम्पन्न गर्न हाम्रो सामुहिक प्रयाशको जरुरत पर्दछ। कुनै एक्लो वीरले मात्र सक्दैन र हामीबीच कटुता राखिराखेर त झन् सम्भव नै छैन। यसबेला म के स्मरण गराउन चाहन्छु, हामीहरु पुराना तिक्तता विर्सेर सामुहिक पाइला चाल्न तयार भएका छौं। यसलाई निरन्तरता दिनु नै हाम्रो संघका लागि हित हुनेछ। हाम्रो एक जुटताले नै पेशालाई आत्मनिर्भर र प्रतिष्ठित बनाउन सहयोग पुग्नेछ। यो निचोड नै अहिले चलचित्र निर्माता संघका अगुवाहरुको हो।
चलचित्र निर्माता संघका अग्रजहरुले सामुहिकतामा नै चलेर संघलाई एक प्रतिष्ठित र गतिशील संस्थाका रुपमा हस्तान्तरण गरेका छन्। म यस संघको सचिव रहँदाको अनुभव के छ भने त्यसबेला सामुहिकतालाई ध्यान दिइएर कार्य र निर्णयहरु गरिन्थे। तर समयक्रममा स्वच्छ प्रतिष्पर्धाका नाममा भद्दा चुनावी हरकतहरुका कारण हाम्रो संघको गतिमा ठहराउ आयो र सामुहिकताबाट हामी समूह–समूहमा विभाजित भयौं। यस कटुसत्यलाई हामी सबैले स्वीकार गर्दै, अब संघको गतिलाई तीव्रता दिनुछ। हामीमा सामुहिकता चाहिएको छ– यसका लागि मैले सबै पक्षका साथिहरुको सल्लाहबमोजिम चलचित्र निर्माता संघको अध्यक्षका लागि उमेद्वारीको घोषणा गरेको छु। साथै मेरो प्रयाश यस पटकको नेतृत्व सहमतिमा निर्माण गर्नुमा हुनेछ। आशा छ, – सबै सदस्यहरुले साथ र सहयोग दिनु हुनेछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal