आज :

सम्पादकीयः अर्थतन्त्रकाे अन्धकार हटाउन प्रभाकर नै आवश्यक

  • अनलाइन डबली

काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दशन शर्मा ‘प्रभाकर’ ले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गराएको भन्ने आरोप संसदीय विशेष समितिले गलत भएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्ष र कतिपय सत्तापक्षकै सांसदहरुले प्रभाकरमाथि प्रश्न उठाएपछि सभामुख अग्नि सापकोटाले छानविन समिति गठन गरेका थिए । उक्त समितिले थप एक हप्ता थपसहित १७ दिन लगाएर तयार गरेको प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाएलगत्तै प्रतिनिधिसभाको बैठकमा पेश गरियो । समितिका संयोजक लक्ष्मणलाल कर्णले पेश गरेको प्रतिवेदनमा प्रभाकरमाथि लगाएका सबै आरोप झुटा र असत्य भएको निष्कर्ष निकालेको छ । समितिले आरोप पुष्टि गर्नेगरी कुनैपनि प्रमाण नभेटिएको निष्कर्ष निकाल्दै प्रभाकर निर्दोष रहेको पुष्टि गरेको छ ।

समितिले बजेट निर्माणमा सहभागी मन्त्रालयका अधिकारी, सुरक्षाकर्मी र प्रभाकरसँग बयन लिएको थियो । त्यस्तै, सीसीटिभी फुटेज प्रहरीको प्रयोगशालामा अनुसन्धान गरियो । स्टोरेज क्षमतका कारण स्वतः डिलेट भएका फुटेज समेत रिकभर गरेर अनुसन्धान गर्दा पनि कुनै प्रमाण नभेटिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

यति हुँदा पनि केही नेता, विचौलिया र संचारमाध्यमहरुको रोइलो जारी नै छ । संसदीय विशेष छानविन समितिले आरोप लगाइएको झुट भएको निष्कर्ष निकालिसक्दा रोइलो गर्नेहरुको भित्रि नियत के हो भन्ने प्रश्न खडा भएको छ । प्रमुख प्रतिपक्षकै प्रभावशाली नेता रहेको समितिले आरोप झुटा भएको निष्कर्ष निकालेको छ तर सोही पार्टीका नेताहरु अझै रोइलो गरिरहेका छन् । प्रभाकरमाथि लगाइएका आरोपहरु पुष्टि गर्ने समितिले अधिकार पाएकै थियो । घाँटीका नासा नै सुक्नेगरी संसददेखि सडकसम्म सीसीटिभी भनिएको थियो । मन्त्रालय मात्रै होइन गेटसम्मकै सीसीटिभी फुटेज रिकभर गरेर प्रहरीले अनुसन्धान गरेको छ ।

समितिले अनुसन्धानको क्रममा कुनै प्रमाण नभेटाउनु तर रोइलो अझै जारी रहनु भनेको हदै दर्जाको पूर्वाग्रह भन्दा केही पनि होइन । समितिले निर्दोष भनिसक्दा पनि प्रभाकरमाथि औंला उठाउनेहरु रोइलो गर्नेतिर फर्किएका छन् । अहिले केही औंलाहरु मात्रै फर्किएका छन्, पछि लाखौं औंलाहरु फर्किएपछि रोइलो गर्नेहरुको अवस्था के हुन्छ ? समितिलाई सहयोग गर्ने भन्दै प्रभाकरले राजिनामा दिएर आफ्नो उचाई बढाएका थिए । समितिको प्रतिवेदनपछि त्यो उचाई झनै बढेको छ । यसअघिका अर्थमन्त्रीमाथि प्रश्न उठेका थिए र समिति पनि बनेका थिए तर कसैले पनि छानविनलाई सहयोग गरेनन् । उनीहरु लाज पचाएरै पदमै बसिरहेका थिए ।

नेपाललाई लोडसेडिङबाट मुक्त गरेका प्रभाकर अर्थ मन्त्रालयमा पस्दा केहीले अर्थतन्त्र नबुझेको फुच्चे र कासन गर्न जानेको लडाकु भन्दै खिल्ली पनि उडाएका थिए । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न प्रभाकरले विधेयक ल्याए । उक्त विधेयकमा उनले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ मा आँकडाको तुलना र अबको अर्थतन्त्रको विश्लेषण सटिक रुपमा गरेसँगै एमाले झस्किएको थियो । त्यहीबाट उसले विरोध सुरु गरेको थियो । अर्थतन्त्रमा छिद्रा पारेर फाइदा लिइरहेकाहरु पनि एमालेको स्वरमा स्वर मिलाएका थिए ।

आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ, वञ्चितीकरणबाट समावेशितातर्फ प्रस्थान गर्ने गरी आर्थिक बर्ष २०७९/८० को बजेट ल्याएपछि उनीहरु संस्थागत रुपमा प्रभारकविरुद्ध उभिए । यसको रहस्य विस्तारै खुल्दै जाला नै । जनपक्षीय बजेट ल्याएकोले र त्यसको जस गठबन्धन र माओवादी केन्द्रमा जाने भएकोले विरोध भएको त घामझैं छर्लङ भइसकेको छ ।

यसअघिका अर्थमन्त्रीका गलत नीतिकै कारण नेपाली अर्थतन्त्रमा कालो बादल मडारिरहेकाे छ । अर्थतन्त्रमा परेका प्वाल टाल्दै अन्धकार हटाउन युद्धस्तरकै कासन दिन सक्ने हिम्मत भएको अर्थमन्त्री आवश्यक थियो र छ । नागरिकले आत्महत्या होइन, आत्मनिर्भरको लागि प्रभाकरको कासन आवश्यक छ र एम अधिकारीजस्ता अनाडी होइन कासन मान्ने सिपाहीहरु पनि आवश्यक छ ।

विरोध गर्ने ठाउँमा नपाएपछि बजेट कार्यान्वयन हुन सक्दैन भन्नेहरुले देख्नेगरी अर्थतन्त्रमा सकारात्मक संकेत देखा परिसकेका छन् ।  संकटाेन्मुक अर्थतन्त्र सुधारतिर अघि बढिसकेकाे छ । पहिलो पटक नेपालले सिमेन्ट, छड निर्यात सुरु भएको छ । घट्दो अवस्थामा रहेको विदेशी मुद्रा संचिती बढ्दै गएको छ । नयाँ बजेटमा प्रभाकरले राखेका प्रावधानका कारण बैदेशिक व्यापार सन्तुलनमा उल्लेख्य सुधार, मुलुकभित्रै औद्योगिक बाताबरण वृद्धि हुने, वैदेशिक लागनी बढ्ने संकेत देखा परेका छन् । किसानको नाममा पहुँचलावाहरु पाउँदै आएको अनुदान कटौतीसँगै कृषकलाई प्रोत्साहन गर्दै आयातमुखी अर्थतन्त्रलाई सुदृढ र आत्मनिर्भर बनाउने बजेट कार्यान्वयनमा पनि प्रभाकरकै आवश्यक छ ।जसको नीति तथा कार्यक्रम उसकै नेतृत्व भएमात्रै बजेट कार्यान्वयन हुन्छ । नगरेको गल्तीको दाेषको भारी बाेक्न आवश्यक छैन ।

प्रभाकर जनताको वास्तविक जीवन बुझेको अर्थमन्त्री हो । नेपालका कुना कन्दरका जनताको जीवन कस्तो छ र कसरी उनीहरुको भविश्यमाथि अन्धकार हटाएर झिलिमिली जीवन बनाउन सकिन्छ भन्ने कुरा प्रभाकरले राम्रोसँग बुझेका छन् । नेपाली अर्थतन्त्रमा प्रभाकरले दिएका धक्काले क्रमभंगकाे अवस्थामा पुगेकाे छ, अब छलाङ मार्न पनि उनकै कासन आवश्यक छ ।

दैनिक १८ घण्टासम्मको लोडसेडिङले नागरिकको जीवन अन्धकार भएको थियो । प्रभाकरकै कासनले ऊर्जा क्षेत्रका प्वाल टालेर लोडसेडिङ सदाको लागि अन्त्य भएको छ । अब अर्थतन्त्रको ‘लाेडसेडिङ’ हटाउन प्रभाकरकै आवश्यक छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal