
काठमाडौँ । ब्राजिलको प्रहरीले राजधानी रियो दि जेनेरियोको एक आपराधिक समूहमाथि छापा मार्ने क्रममा १६ जनाको मृत्यु भएको जनाएको छ ।
राजधानीको सबैभन्दा हिंसात्मक गिरोह लुकेको स्थानमा छापा मार्ने क्रममा १६ जनाको मृत्यु भएको हो । अलेमाओ फाभेलामा चार सय भारी सशस्त्र सैन्य प्रहरी तैनाथ गरिएको थियो ।
मृतकमध्ये १६ जना संदिग्ध अपराधी रहेको बताइएको छ । छापा मार्ने क्रममा एक प्रहरी अधिकारी र एक जना प्रत्यक्षदर्शी मारिएको प्राप्त विवरणमा जनाइएको छ ।
प्रहरी कारबाही दिनभर चलेको थियो, जसका कारण सो क्षेत्र वरपरका हजारौं मानिस आफ्नो घरबाट बाहिर निस्कन पाएका थिएनन् ।
यता तालिबानले एउटा नयाँ आदेश जारी गर्दै ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’का विद्वान र सार्वजनिक सेवकहरुको बिना कुनै प्रमाण आलोचना गर्नेहरूलाई सजाय दिने चेतावनी दिएको छ ।
यस्तो सजाय इशारा, शब्द वा अन्य जुनसुकै माध्यममार्फत हुन सक्ने उसले जनाएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्ना नेता मुल्ला हेबतुल्लाह अखुन्दजादालाई श्रेय दिँदै उक्त नयाँ निर्देशन प्रकाशित गरेका छन् ।
तालिबानका सर्वोच्च नेता अखुन्दजादाको नयाँ निर्देशनअनुसार जनतालाई सरकारी कर्मचारी र अधिकारीविरुद्ध अनावश्यक आरोपहरू रोक्न उर्दी दिइएको छ ।
केही मानवअधिकार संगठन र मिडिया रिपोर्टअनुसार तालिबानले सोशल मिडियामा आलोचना गर्ने केही व्यक्तिहरूलाई गिरफ्तार, कैद र यातना दिएको छ ।
तालिबान नेताको नयाँ निर्देशनमा त्यस्ता कार्यहरूलाई ‘नकारात्मक प्रचार’को रूपमा लिइएको छ ।