आज :

जनता टिभीको गेटमा श्रमजीवी पत्रकारको हुंकार: तलब नदिए कडा आन्दोलन

  • अनलाइन डबली

काठमाडौं । जनता टेलिभिजनमा पूर्व कार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन् । श्रमजीवी–पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । जैसीले श्रमजीवीपत्रको पारिश्रमिक नदिएसम्म आन्दोलनका कार्यक्रम नरोकिने र अटेर गरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले अहिलेको २१ औं शताब्दीमा आएर पनि बौद्धिक शोषण गर्ने लाजमर्दो कुरा रहेको बताए । उनले टेलिभिजन व्यवस्थापनले बाँकी रहेको बक्यौता नदिएसम्म विभिन्न चरणको आन्दोलन गरिने समेत बताए । धर्ना कार्यक्रममा श्रमजीवी पत्रकार संघ, नेपालका महासचिव धनञ्जय बुढा, कानुनी सल्लाहकार विष्णुकुमार गिरी, केन्द्रीय सदस्य यदु पोखरेल,राष्ट्रिय समाचार समितिका प्रकाश सिलवाल, प्रतिमा चौधरी, लगायत एक दर्जन बढी पत्रकारहरूको सहभागिता थियो ।
धर्नामा सहभागीहरूले “जनता टिभीमा काम गरेका सम्पूर्ण श्रमजीवीको बाँकी बक्यौता तत्काल भुक्तानी गर”, पटक पटक झुक्याएर पत्रकारलाई दुःख दिने हर्कत बन्द गर, श्रमजीवी पत्रकार ऐनले तोकेको सेवा सुविधा र सामाजिक सुरक्षा कोष तत्काल लागू गर” लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रारम्भिक चरणको आन्दोलनमा कार्यालयमा धर्ना दिने, अझै पारिश्रमिक नआए सञ्चालक सदस्यहरूको घरमै पुगेर धर्ना दिने र त्यसपछि पनि अटेर गरे सबैको तस्बिरको पोस्टर बनाएर सञ्चालक समितिको छिमेक वरपर बाँड्ने कार्यक्रम रहेको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ ।

पीडित पत्रकार तथा कर्मचारीहरूले टेलिभिजन व्यवस्थापन सामू तीन दिने अल्टिमेटम दिँदै ६ बुँदे माग राखेका छन् । पारिश्रमिक भुक्तानीको सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि संस्थाले प्रतिवद्धता जनाएअनुसार पारिश्रमिक भुक्तानी नभएका कारण आन्दोलनका कार्यक्रम अघि सार्न बाध्य भएको एक पीडित पत्रकारले बताए ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा.विजय पौडेलले चाँडै नै समस्याको समाधान गरिने बताए । उनले बक्यौता बाँकी रहेका पत्रकार तथा कर्मचारीको पारिश्रमिक भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal