
काठमाडौँ ।स्थानीय तह निर्वाचनमा दोस्रो दलमा खुम्चिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धन कायम रहे प्रदेश र संघको चुनावमा पनि प्रतिकूल परिणाम आउने विश्लेषण सुरु भएको छ ।
त्यही त्रासबीच एमाले नेताहरु वाम गठबन्धन हुनुपर्ने भन्दै माहौल निर्माणमा जुटेका छन् । यद्यपि, पार्टी अध्यक्ष केपी ओली बाहिरी रुपमा जनमतमा एमाले पहिलो शक्ति भएको भन्दै प्रदेश र संघको चुनावमा पनि एमाले एक्लै प्रतिस्पर्धामा जाने उद्घोष गरिरहेका छन् ।
आगामी प्रदेश र संघको चुनावमा एमाले र एमाले विरोधी गठबन्धन मात्रै चुनावमा जाने भएकाले तयारीमा जुट्न नेता कार्यकर्तालाई उनले निर्देशन दिँदै आएका छन् । तर, एमालेका दोस्रो तहका नेताहरु भने भित्रभित्रै वाम गठबन्धन गर्नुपर्ने भन्दै माओवादी नेतालाई भेट्न थालेका छन् ।
एमालेबाट महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेता घनश्याम भुसाल लगायत वाम गठबन्धनको पक्षमा देखिएका छन् । माओवादीबाट वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायत नेताहरु एमालेका नेताहरुको सम्पर्कमा रहेर भेटघाट जारी राखेका छन् ।
एमाले नेताहरु पार्टी एकता तत्काल गर्न सम्भव नभए पनि वाम गठबन्धन बनाएर प्रदेश र संघको चुनावमा जानुपर्ने मत राख्न थालेका छन् । स्थानीय चुनावबाट तेस्रो शक्तिका रुपमा कायम रहेसँगै माओवादी यतिबेला निर्णायक बनेको छ । उसले जता गठबन्धन गर्यो, उतै बलियो हुने स्थिति छ ।
माओवादीको बार्गेनिङ पावर बढेसँगै एमाले नेताहरुले नै अग्रसरता लिएर कहिले प्रचण्डलाई प्रधानमन्त्रीको अफर, कहिले माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफरका साथ निवास धाउने गरेका छन् । तर, स्थानीय चुनावपछि एमालेलाई ‘डाउन साईज’ गर्न सफल भएको भन्दै प्रचण्ड र माधवले यही गठबन्धनलाई कायम राखेर प्रदेश र संघको चुनावमा उसलाई थप कमजोर पार्ने रणनीति बनाइरहेका छन् ।
उता, काँग्रेसले पनि स्थानीय चुनावमा माओवादी र एकीकृत समाजवादी लगायत दलबाट राम्रै फाइदा लिएको छ । त्यसैले काँग्रेस सभापति शेरबहादुर देउवा पाँच दलीय गठबन्धन कायम गरेर सत्ताको भर्याङ चढ्ने योजनामा छन् । त्यसका लागि देउवा तत्काल प्रदेश र संघको भागबण्डा टुङ्गो लगाएर कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता चुनाव गर्नुपर्ने पक्षमा छन् । त्यसका लागि गठबन्धनको बैठकमा उनले तत्काल भागबण्डा टुङ्गो लगाएर जाने मत राख्ने गरेका छन् ।
तर, काँग्रेसका शेखर कोइराला पक्षसहित उनीहरु निकट बुद्धिजीवीहरु भने गठबन्धन गरेर माओवादीलाई मात्रै फाइदा भएको विश्लेषण गर्न थालेका छन् । काँग्रेसले गठबन्धन नगरेको भए पनि यति नै सीट जित्ने दाबी गर्दै उनीहरु उल्टै माओवादीलाई यतिको ठुलो पार्टी बनाउने काम भएको भन्दै आलोचना गरिरहेका छन् ।
उनीहरुको आलोचनाले प्रचण्डलाई नराम्रोसँग बिझेको छ । रोल्पा, रुकुम, भोजपुर, प्यूठान र कालिकोटमा माओवादी विरुद्ध काँग्रेस–एमाले मिलेर कमजोर बनाएकोमा प्रचण्ड रुष्ट छन् । त्यसैमा काँग्रेसका कोइराला पक्ष र उनी निकट बुद्धिजीवीले माओवादीलाई अनावश्यक रुपमा हेप्न खोजेको भन्दै प्रचण्ड आक्रोशित छन् ।
प्रचण्डले गत बुधबार माओवादीबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै काँग्रेसमा अहङ्कार पलाएको टिप्पणी गरे । स्थानीय चुनावमा ठूलो पार्टी भएपछि काँग्रेसमा एमालेजस्तै दम्भ पलाउन थालेको भन्दै बढी गरे ढलिदिनेसम्मको चेतावनी उनले दिए ।
प्रचण्डले यसरी धम्क्याएर कोइराला पक्षलाई ‘साइज’मा राखेर आगामी प्रदेश र संघको सिटमा बार्गेनिङ गरेको काँग्रेस नेताहरुको बुझाई छ । प्रचण्ड पनि तत्काल जस्तोसुकै परिस्थिति आए पनि पाँच दलीय गठबन्धन बनाएर प्रदेश र संघको चुनावमा जाने पक्षमा छन् ।
तर, आफू भने जहिल्यै वाम गठबन्धनको पक्षमा भएकाले वाम गठबन्धन विरोधीको रुपमा नलिन प्रचण्डले आग्रह गरे । यसअघि चुनावमा वाम गठबन्धन गरेर जान खोजे पनि केपी ओलीकै कारण असफल भएको प्रचण्डले बताए ।
स्थानीय तहको निर्वाचनमा काँग्रेस कुल ३२८ तह जितेर पहिलो शक्ति भएको छ भने एमाले २०५ स्थानीय तह जितेर दोस्रोमा खुम्चिएको छ । त्यसपछि क्रमशः नेकपा माओवादी केन्द्र १२२ तह र जनता समाजवादी पार्टी ३० तह र नेकपा एकीकृत समाजवादी २० तह जितेर तेस्रो, चौथो र पाँचौ दल भएको छ ।