
काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरमाले पद तथा गोपनियताको शपथ लिएका छन् । शपथ लिएपछि नगरप्रमुख बालेन्द्र साहले महानगरको कार्यालयमा पदभार ग्रहण गरे । साहले पहिलो निर्णयमा हस्ताक्षर समेत गरे ।
साहले पहिलो निर्णय नगरसभाको बैठक दिउँसो ४ बजे बोलाउने र बैठकको लाइभ प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । पहिलो निर्णयपछि प्रतिक्रिया दिँदै उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने प्रतिक्रिया दिए ।
त्यसैगरी नगर उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छन्। बालेन र सुनिताले बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचना आफ्ना प्रतिस्पर्धीलाई निकै पछि पारेर निर्वाचित भएका थिए । साहले स्वतन्त्र र सुनिताले नेकपा एमालेको चुनाव चिन्हमा चुनाव लडेका थिए ।
सोमबार विहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएसँगै औपचारिक रुपमा काम थाल्ने भएका छन् ।
साहले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । मेयर साह मधेसी मुलको भएकोले शपथ ग्रहण समारोहमा कस्तो भाषा बोल्छ र कस्तो पहिरन लगाउछ भन्ने सबैको चाँसोको विषय बनेको थियो । साहले दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए भने सुनिताले नेवारी पहिरनमा थिइन् ।
आजै मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् ।