आज :

पोखराबाट तारा एयरसंगै उडेका समिट एयरका क्याप्टेनलले दिए यस्तो बयान, भन्छन- कुरा गर्दै गइरहेका थियौं

  • अनलाइन डबली

काठमाडौँ । तारा एयर र हाम्रो (समिट एयर) जहाज पोखराबाट आज बिहान सँगसँगै जस्तो उडेको थियो । म समिट एयरको लेट विमान उडाउँदै अघि-अघि थिएँ । प्रभाकार सर (तारा एयरका क्याप्टेन) मेरो पछिपछि आइरहनु भएको थियो ।

बिहान ९ बजेर ५२ मिनेटमा मेरो जहाज उड्यो । उहाँको ९: ५५ मा उड्यो । हामी एक–दुई मिनेटको अन्तरमा पोखरा विमानस्थलबाट जोमसोमका लागि यात्रु बोकेर उडेका थियौं । पोखराबाट जोमसोम लेट विमानका लागि १५ मिनेट र ट्विनअटर विमानका लागि १७ मिनेट हाराहारीको दुरीमा पर्छ ।

उहाँले उडाइरहेको क्यानेडियन जहाज ट्विनअटर । मैले उडाइरहेको जहाज चेक रिपब्लिकन लेट टर्बो । उहाँको जहाजको दाँजोमा मेरो जहाजको गति अलि बढी हुन्छ । तर पनि हाम्रो बाटोमा कुराकानी भइरहेको थियो । हामी टावरकै फ्रिक्वेन्सीमा कुराकानी गर्दै उडिरहेका थियौं ।

खासगरी हामी जोमसोम जाँदा १० हजार ५ सय फिट उचाइमा उड्छौ‌ं । तर आज तल फेदीमा बादल देखिएकाले हाम्रो जहाजलाई १२ हजार ५ सय फिट उचाइमा उडारहेका थियौं । सायद उहाँ पनि १२ हजार ५ सय फिट हाराहारी उचाइमै उडिरहनु भएको थियो ।

इनरुट (जहाज उड्ने बाटो) को मौसम सफा भएकाले हाम्रा दुवै जहाज भीएफआर (भिजुअल फ्लाइट रुल्स) हेरेर जहाज उडाउने विधि अनुसारै उडिरहेका थिए ।

पोखराबाट उडेपछि म्याग्दीको घोडेपानीसम्म पोखरा टावरको सम्पर्कमा जहाज हुन्छन् । त्यसपछि हामी पोखरा टावरको सम्पर्कबाट अलगिन्छौं ।

घोडेपानीदेखि मुस्ताङको लेतेसम्मको आकासमा उड्दा जहाजहरु न त पोखरा र न त जोमसोमको टावरको सम्पर्कमा हुन्छन् । लेते नाघिसकेपछि मुस्ताङको टुकुचेपछि हामी जोमसोम टावरको सम्पर्कमा जोडिन्छौं ।

आज म जोमसोम विमानस्थल नजिकै पुग्दा प्रभाकर सरको जोमसोम टावरसँग कुरा भएको थियो । म अवतरणका लागि तयार भएँ । उड्डयनको भाषामा यसलाई ‘फाइनल पोजिसन’ भनिन्छ । मेरो जहाज अवतरण भयो । केही मिनेटमै मेरो पछिपछि आइरहेको ताराको जहाज जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने । तर भएन ।

यदि मौसम राम्रो नभइदिएको भए वा मैले अगाडि नदेखेको भए सायद म फर्किन्थें । तर मौसम ठिकै थियो । प्रभाकर सरलाई मैले ‘ट्रयाक मेन्टन गरेर अल्टिच्यूड मेन्टन गरेर म अगाडि देखिरहेको छु, अघि बढिरहेको छु’ भनेको थिएँ । हाम्रो जहाज फाइनलमा हुँदा उहाँले जोमसोम टावरसँग त्यहाँको मौसमको जानकारी माग्नु पनि भएको थियो ।

आइतबारका लागि जोमसोममा म दोस्रो र उहाँ तेस्रो उडानमा हुनुहुन्थ्यो । हामी दुई आउनुअघि मेरै कम्पनीको अर्को जहाज अल्फा किलो जुलु जोमसोम आइ पोखरा फर्किसकेको थियो ।

शनिबार पनि हामीसँगसँगै थियौं । उहाँले जोमसोमका लागि चारवटा उडान गर्नुभएको थियो । मैले पनि चारवटै उडान गरेर १२ बजेपछि क्रू–क्याम्प फर्केको थिएँ । ताराको जहाज हराएपछि यता जोमसोमको माहोल बिग्रिएको छ । सायद आज हामी अब पोखरा फर्किदैनौं ।

(जोमसोममा आइतबार दोस्रो अवतरण गरेका समिटका क्याप्टेन अभिनन्दन खड्कासँग कान्तिपुर संवाददाता सुरज कुँवर ले गरेको कुराकानीमा आधारित )

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal