आज :

बाढीपहिरोमा मृत्यु हुनेको संख्या ९२ पुग्यो, ३६ बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर बुधबार रातिसम्म ९२ जनाको मृत्यु भएको छ । २२ घाइते भएका छन् भने ३६ जना बेपत्ता छन् ।

सुदूरपश्चिमदेखि पूर्वसम्मका १७ जिल्लामा बाढीपहिरोले मानवीय क्षति निम्त्याएको छ । मंगलबारसम्म पश्चिमका जिल्ला बढी प्रभावित भएकामा बुधबार पूर्वमा बढी क्षति भएको छ । प्रदेश १ का ६ जिल्लामा मात्रै ५२ जनाको मृत्यु भएको छ ।

पाँचथरमा सबैभन्दा धेरै २४ जनाको मृत्यु भएको छ । आठ बेपत्ता छन् भने ६ जना घाइते छन् । उनीहरू सबै बुधबार पहिरोमा परेका हुन् । डोटीमा पहिरोमै पुरिएर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । मंगलबार नौको मृत्यु भएकोमा बुधबार ६ जना थपिएका हुन् । पाँचजना घाइते छन् । त्यस्तै, इलाममा पहिरोमा परेर १३ को मृत्यु भएको छ । तीनजना बेपत्ता छन् भने दुईजना घाइते भएका छन् ।

बझाङ र हुम्लामा पहिरोमा परी सात–सातजनाको मृत्यु भएको छ । बझाङमा थप २१ बेपत्ता छन् । पहिरोमै परेर धनकुटामा ६ जनाको ज्यान गएको छ भने पाँच घाइते छन् । त्यस्तै, सुनसरीमा बाढीपहिरोमा पाँच र बैतडीमा पहिरोमा चारजनाको मृत्यु भएको छ । बैतडीमा दुईजना घाइते छन् ।

उदयपुर र डडेल्धुरामा दुई–दुईजनाको मृत्यु भएको छ । उदयपुरमा बाढीले बगाएको हो भने डडेल्धुरामा पहिरोमा परेका हुन् । डडेल्धुरामा अर्का एक घाइते छन् । मोरङ, भोजपुर, कपिलवस्तु, कैलाली, कालिकोट, प्युठान र सोलुखुम्बुमा बाढीपहिरोमा एक–एकजनाको ज्यान गएको छ । कालिकोटमा एकजना घाइते छन् । त्यस्तै, प्युठानमा दुई तथा कपिलवस्तु र जुम्लामा एक–एकजना बेपत्ता छन् ।

डोटी : बाढीपहिरोका कारण डोटीमा बुधबार थप ६ जनाको ज्यान गएको छ । यससँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ । सायल गाउँपालिकामा पाँच र बोगटान फुड्सिल गाउँपालिकामा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए ।

प्रहरी निरीक्षक चन्दका अनुसार बुधबार सायल– ४ का उमेर नखुलेका जंगी विष्ट, वडा नं. ५ का ५८ वर्षीय लहरे लुहार, ५८ वर्षीय हिरूवा लुहार र ७५ वर्षीय देव डुम्रेलको पहिरोमा परेर मृत्यु भएको छ । एकजनाको पहिचान खुलेको छैन । बोगटान फुड्सिल गाउँपालिका– ५ का चन्द्रा नेपालीको पनि पहिरोमा परेर ज्यान गएको छ ।

बझाङ : बझाङका दुई ठाउँमा मंगलबार गएको पहिरोमा पुरिएका २८ मध्ये बुधबार सातजना मृत भेटिएका छन् । खप्तड छान्ना गाउँपालिकामा पाँच र थलारा गाउँपालिका डिख्लामा दुई शव भेटिएको हो । थलारा पहिरोमा परेका २१ जना अझै बेपत्ता छन् । बुधबार भेटिएका दुईको पनि सनाखत हुन सकेको छैन । छान्ना पहिरोमा मृत्यु भएका पाँचजनाको भने पहिचान खुलेको छ । छान्ना– ४ माझीगाउँका धर्मराज रोकाया, उनकी श्रीमती जयसरा, ५ कालुखेतीका वीरु गिरी, उनकी श्रीमती चन्द्रा र धनराज जोशीको शव एक्स्काभेटरको सहायताले निकालिएको स्थानीय वीरेन्द्रबहादुर सिंहले जानकारी दिए । बझाङका प्रहरी प्रमुख डिएसपी रूपक खड्काले सञ्चार सम्पर्क नभएकाले घटनाबारे ढिलो जानकारी आएको बताए । छान्ना पहिरोमा परेर तिखाढुंगाका रामबहादुर सिंह, मानबहादुर सिंह, मंगलबहादुर सिंह, दलबहादुर सिंह र हस्तबहादुर सिंहका परिवार विस्थापित भएका छन् ।

धनकुटा : चौबिसे गाउँपालिका– १ स्थित बुधबारे बजारमा पहिरोले घर पुर्दा ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षका नाति विनोद, पाँच वर्षकी नातिनी निर्जला, पाहुना आएका दमक नगरपालिका– ११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षका दिप्सन श्रेष्ठ छन् । सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी दीपककुमार रायाले जानकारी दिए । सोही घरमा पुरिएर अन्य ६ जना घाइते भएका छन् । ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिए ।

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका– ६ बसेडीका रामी पार्कीको घर बगाउँदा दुई बुहारी र एक नातिको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षका सोम छन् । बैतडीकै सूर्नया गाउँपालिका– ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ । कर्णाली नदीको बाढीमा परेर कैलालीको टीकापुर नगरपालिका– ८ कालिमाटीका करवीरे ढोलीको मृत्यु भएको छ ।

मोरङ : विराटनगर महानगरपालिकाको १, २, ७, ८, ११, १२, १५, १७, १८ नम्बर वडाका सयौँ घर डुबानमा परेका छन् । बुढीगंगा गाउँपालिका १ र २ का प्रायः सबै घरमा पानी छिरेको छ । रतुवा खोलाको तटबन्ध फुटेर गाउँमा बाढी पस्दा रतुवामाई नगरपालिका– ७ मा ३० घर डुबानमा परेका छन् ।

हुम्ला : खार्पुनाथ गाउँपालिका– ५ खर्पेल गाउँमा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनाको मृत्यु भएको छ । बुधबार उनीहरूको शव भेटिएको छ । ७० वर्षीय धनवीरे शाही, उनका ५५ वर्षीय ज्वाइँ कलबहादुर शाही, ४० वर्षीया छोरी आशा, तीन नातिहरू १३ वर्षीय अलिन्द, पाँच वर्षीय हुमेश र तीन वर्षका जसबहादुरको शव बुधबार भेटिएको हो ।

कालिकोट : कालिकोटको महावै गाउँपालिका– ७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा १८ वर्षीया छोरी स्मृतिको मृत्यु भएको छ । ११ वर्षीया युनिषाको खुट्टामा चोट लागेको छ । जुम्लाको हिमा गाउँपालिका– ६ बागबजारकी ३३ वर्षीया रन्ना शाहीलाई हिमा नदीले बगाएको छ । नदीले ल्याएको दाउरा निकाल्न जाने क्रममा उनी बगेकी हुन् । कालिकोटकै रासकोट नगरपालिका– ८ पलातीवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनका १३ वर्षका छोरा बाँचु न्यौपाने गोठबाट घरतर्फ फर्कने क्रममा घरनजिकै पहिरोमा परी घाइते भएका छन् । नन्दुको दुवै खुट्टामा चोट लागेको छ भने बाँचुको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । कालिकोट तिलागुपा नगरपालिका– ९ लुब्रैस्थित तिला नदीको किनारमा रहेको भेडीगोठमा रहेका नौ घरका एक सय ३० भेडा बगेका छन् ।

सुर्खेत : कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मंलबारको बाढीले सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बगाएको हो । अनक कन्स्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीले क्रेन डुबाएको छ । बाढीको जोखिम बढेपछि नदी किनारमा रहेको दैलेखको रामघाट बजारका २० घर स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पाँचथर : पहिरोमा परेर पाँचथरमा २४ जनाले ज्यान गुमाएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीन राईले जानकारी दिए । ज्यान गुमाउनेमा फिदिम– ४ की २२ वर्षीया ममता लिम्बू, उनका चार वर्षीय छोरा रोयन, मिक्लाजुङ– ५ का धनबहादुर लावती, चन्द्रकला राई, मनबहादुर राई, विमला श्रेष्ठ, विष्णु लावती, सविता लावती, अनिल राई, अनिता चोङबाङ, प्रताप चोङबाङ, पदमसिंह चोङबाङ, सुरज चोङबाङ, हर्कमाया लावती, बबिन राई, अनिल राई र मगर साइल छन् । यस्तै, मिक्लाजुङ– १ का सन्तोष नेपाली, मिक्लाजुङ– २ का डम्बरकुमार शेर्मा, मनमति शेर्मा र नुशा शेर्मा, फाल्गुनन्द गाउँपालिका– १ का फुर्वा तामाङ, फाल्गुनन्द– ३ का योगेश तामाङ, फाल्गुनन्द– ४ की रामप्यारी तुम्बापोको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाम : इलाममा १३ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । मंगलबार राति गएको पहिरोमा परेर फाकफोकथुम– ३ सल्लेरीका एकै परिवारका चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रनजता कटुवाल, निशानी कटुवाल, निश्चित कटुवाल र नैनसिंह कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै, पहिरोमा परी फाकफोकथुम– १ की विना शर्मा, सूर्योदय– ३ की नारायणदेवी मोतेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सूर्योदय– ३ का आमाछोरा विष्णुमाया र विशाल तामाङ तथा माङसेबुङ– ६ की कविता राई र हरिप्रसाद राईले पनि पहिरोमा परेर ज्यान गुमाएका छन् । इलाममा माई नगरपालिका– ३ की तेजमाया राईको रूखको हाँगाले लागेर मृत्यु भएको छ । देउमाई– २ की सरिता आचार्यको खोलाले बगाएर मृत्यु भएको छ । प्राकृतिक विपत्तिमा परी इलाममा दुईजना बेपत्ता भएका छन् । उनीहरूको पहिचान नखुलेको एसपी श्रेष्ठले जानकारी दिए ।

सुनसरी : मंगलबार र बुधबार गरी सुनसरीमा पाँचजनाले ज्यान गुमाएका छन् । दुईजनाको पहिरोका कारण र तीनजनाको खोलामा बगेर मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको धरान– १३ का मिसु राई र निहाङ राईको पहिरोले घर पुर्दा मृत्यु भएको छ । मंंगलबार दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो झरी निसान राईको कच्ची घर पुर्दा उनका दुई छोराछोरीको ज्यान गएको हो । यस्तै, सुनसरी इटहरी– ५ का चन्द्रमणि काफ्ले, धरान–२० का झगेन्द्र राई र धरान– ६ का विष्णु सुनुवारको खोलामा बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका– ६ का मानबहादुर राईको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मोरङ विराटनगर– १२ का इसान भुजेलको खोल्सीमा बगेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

उदयपुर : लगातारको वर्षापछि खोलाले बगाएर उदयपुरमा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उदयपुरको त्रियुगा नगरपालिकाका टुपबहादुर खड्का र उदयपुरगढी– ८ का कृष्णबहादुर खड्काको मृत्यु भएको हो । खोला तर्ने क्रममा दुवैलाई त्रियुगा खोलाले बगाएको हो ।

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरामा दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका– १ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका– ३ की ६५ वर्षीय नर्मदादेवी शाही छन् ।

कपिलवस्तु : बुद्धभूमि नगरपालिका– १० ढडिहवाकी ३२ वर्षीया सीता थारूको नालामा डुबेर मृत्यु भएको छ । उनीसँगै रहेकी सोही ठाउँकी १२ वर्षीया सिर्जना बेपत्ता भएकी छिन् ।

झापा : झापाको दमक नगरपालिका– ७ पशुहाटकी सुभद्रा श्रेष्ठलाई गत असारदेखि भदौसम्म रतुवा खोलाको कटानले घर बगाउला कि भन्ने चिन्ता थियो । तर, मध्य बर्खामा घर जोगिएपछि उनी खुसी भइन् । तर, सुभद्राको खुसी धेरै दिन टिकेन । मध्य बर्खामा जोगिएको घर बेमौसमी वर्षाले बगाइदियो ।

अन्यत्र एक चपरी माटो नभएकी सुकुमबासी सुभद्रालाई अब चारजनाको परिवारले कहाँ शिर लुकाउने भन्ने चिन्ता छ । ‘घर भएको जग्गामा अहिले रतुवा खोला बगिरहेको छ । दुःख गरेर जोडेका सामग्री पनि निकाल्न पाइएन । अब कहाँ जानु ?,’ उनले भनिन् । सोही ठाउँका कृष्णबहादुर श्रेष्ठको पनि घर बगायो । ०४७ सालदेखि रतुवा खोलाको डिलमा सुकुमबासी जीवन बिताइरहेका श्रेष्ठको पनि बिचल्ली भएको छ ।

  • यो खबर नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal