
सुर्खेत । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति हुम्लाको अध्यक्षमा डा. दीपेन्द्र रोकाया मनोनित भएका छन् । माओवादी केन्द्रले कर्णाली प्रदेशले रोकायालाई जिल्लाको समन्वय समितिको अध्यक्ष मनोनित गरेको हो । संवाद डबलीको संस्थापक अध्यक्ष समेत रहेका रोकाया यसअघि कर्णाली प्रदेश योजना आयोग सदस्य भएर काम गरेका थिए ।
अध्यक्षको जिम्मेवारी पाएसँगै रोकायाले अनलाइन डबलीसँग संक्षिप्त कुरा गर्दै आफूले माओवादी केन्द्रलाई पहिलो नम्बर पार्टी बनाउने गरी लाग्ने बताए ।
“मेरो पहिलो जिम्मेवारी पार्टीलाई तीनवटै चुनावमा एक नम्बरको पार्टी बनाउने हुन्छ । त्यसको लागि जिल्लामा लामो समयदेखि योगदान गरेको साथीहरुको सम्मानजनक भूमिका मिलाइनेछ । त्यस्तै अहिलेसम्मका उपलब्धीको रक्षा र व्यवस्थापन गर्ने प्रयास गर्नेछु” रोकायले भने ।
त्यसैगरी सहिद र बेपत्ता परियारको सम्मान र उनीहरुको योगदानको सम्मान गर्ने योजना बनाउने बताउँदै रोकायाले भने, “सहिद, बेपत्ता परियारको सम्मान र पूर्णकालिन कार्यकर्ताको भूमिका र व्यवस्थापन, जनताले अहिलेसम्म गरेको बलिदानको सम्मान हुने गरी योजना बनाएर अगाडि बढ्छौं ।” रोकायाले जनतालाई परिवर्तनको महशुस हुने गरी पार्टी लाग्ने बताए ।