
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का जारी महाधिवेशनमा आज नेतृत्व चयन हुँदैछ । शनिबार दिनभर सहमतिको प्रयास भएपनि सम्भव नभएपछि आज दिउँसो १ बजेको लागि बन्दसत्र स्थगित गरिएको छ ।
अध्यक्ष प्रचण्डले बन्दसत्रमा नामहरु संकलन कार्य सकिएको र सहमतिको प्रयास पनि जारी रहेकोले केही समय लाग्ने बताउँदै आज दिउँसो १ बजे पुनः बन्दसत्र सुरु हुने जानकारी गराएका थिए । विधान पारित गरेलगत्तै बन्दसत्र ५ बजेको लागि स्थगित गरिएको थियो ।
हिजै कार्यतालिका सार्वजनि गरेपनि महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो । निर्वाचन समितिले आज दिउँसो २ बजेदेखि लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ ।
यसअघि केन्द्रीय समिति हलबाट गर्ने र पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने भनिएको थियो । तर, प्रचण्डले हलबाटै पदाधिकारी पनि चयन गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिएका थिए । माओवादीको केन्द्रीय निर्वाचन समितिले तालिका संशोधन गरेको छ ।
संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो २ बजेदेखि दिउँसो साढे ३ बजेस्म्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी फिर्ताका लागि बेलुका साढे ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका पौने ६ बजे प्रकाशन गरिनेछ ।
माओवादीको निर्वाचन आयोगका अनुसार आज बेलुका साढे ६ बजेदेखि राति साढे १० बजेसम्म चुनावका लागि समय निर्धारण गरिएको छ । हिजो दिउँसो १ बजे सुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ’केन्द्रीय कमिटी सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने’ भन्दै निर्वाचन कार्यतालिका स्थगित गर्ने प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्ताव अनुमोदन भएपछि सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि महाधिवेशन आयोजक समितिमा दिनभर छलफल चलेको थियो ।
आयोजक कमिटीले हिजो बेलुका साढे ६ बजेसम्म प्रयास गर्दा पनि सहमति नजुटेपछि पौने ७ बजे सुरु भएको बन्द सत्र आज दिउँसो १ बजेसम्म गृहकार्य गर्ने भन्दै पुनः स्थगित गरेको हो ।