आज :

‘बालबालिका ओसारपसार गर्नु अपराध हो, राज्यले अभिभावक बन्नुपर्छ’

काठमाडौँ । बालबालिकाको अभिभावकत्व राज्यले गर्नुपर्ने एक कार्यक्रमको बक्ताहरुले बताएका छन् । उनीहरुले ओसारपसार गर्नु सामाजिक अपराध भएको बताउँदै आमा बुबासँग बसेर हुर्किन पाउनु बालबालिकाका पहिलो अधिकार भएको बताएका छन् ।

शुक्रबार संवाद डबलीले आयोजना गरेको ‘२७ बालबालिका उद्धार र ७ प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नायक तथा चलचित्र निर्मातामा नवल खड्काले राज्यले अभिभावकत्व नगरेकै कारण बालबालिका ओसारपसार भइरहेको बताए । राज्यको महत्वपूर्ण निकायमा बसेका व्यक्तिहरुको मिलिभगतमा बालबालिका किनबेच र व्यपारको बस्तु भइरहेको दाबी गरे ।

कार्यक्रममा बोल्दै खड्काले गरिबीकै कारण बालगृहमा पुग्ने गरेको बताउँदै बालबालिकाको नैसर्गिक अधिकारको राज्यले ग्यारेण्टी गर्ने बताए । राज्य जिम्मेवार भएमात्रै आँखा फुटाएर, हात बाँचेर बालबालिकालाई माग्ने काममा लगाएर भइरहेको कमाउ धन्दाको अन्त्य हुने बताए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रिय बाल अधिकार परिषदकी कार्यक्रम व्यवस्थापक नमुना भुसालले परिवारसँगै बस्न पाउनुपर्ने बालबालिकाको पहिलो अधिकार भएको बताइन् । उनले गाउँबाट बालबालिका ल्याएर केही बालगृहले कमाउ धन्दा चलाइरहेको बताउँदै परिषदले अनुमगन गरिरहेको बताइन् ।

भुसालले अहिले ४४ जिल्लामा गरी ४५४ बालगृह रहेको जानकारी दिँदै केही बालगृहलाई बालबालिकाले पालेको बताइन् । परिषदले गरेको अनुगमनको कर्णालीलगायतका दुर्गम जिल्लाबाट ल्याइने अधिकांश बालबालिकाका आमाबुबा भएको पाइएको समेत भुसालले जानकारी दिइन् । “बालगृहहरुले दया र मायाले बालबालिका ल्याएको छैनन् । राम्रो शिक्षा दिने भन्दै लोभ देखाएर अभिभावकले भेडा, घोडा बेच्न बाध्य बनाएर बालबालिका बालगृहमा आइपुगेका छन्” भुसालले भनिन् ।

जनआन्दोलन र जनयुद्धमा ज्यान गुमाएकाहरुका बालबालिकाबारे राजनीतिक पार्टीका नेताहरु गैरजिम्मेवार बनेकाले समस्या बढेको व्यवस्थापक भुसालले बताइन् । उनले परिवर्तनको लागि ज्यान दिएका बाउआमाका छोराछोरी टिनको छानामुनी आउनु दुःखदु कुरा भएको भन्दै उनीहरु सडकमा आउने भएका कारण परिषद् कतिपय अवस्थामा कडाई गर्न नसकेको बताइन् । उनले परिषदको पहलमा अहिलेसम्म १३ सय बालबालिका पुर्नमिलन गरिएको जानकारी समेत दिइन् ।

बालगृहमा यौन दुव्र्यवहार र कुटपिटका घटना पनि हुने गरेको भन्दै अभिभावकलाई आफ्ना बालबालिकाका विषयमा गम्भीर हुन समेत भुसालले आग्रह गरिन् । त्यस्तै, भारतबाट उद्धार गरिएका बालबालिका घर र अभिभावकसँग जान नमानेको भन्दै अभिश्यका कर्णधार भनिएका बालबालिकाको मनोविज्ञान हुनु दुःखद् भएको भुसालले बताइन् ।

लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था आधार नेपालका कन्ट्री डाइरेक्टर प्रल्हाद ढकालले स्थानीय सरकारले राम्रो शिक्षा र स्वास्थ्य दिए कोही बालगृहमा नआउने बताए । उनले केही धर्म जोगाउन बालबालिकाको ओसारपसार भइरहेको भन्दै ढकालले भने, “केही घटनाले धर्म जोगाउन र धार्मिक मान्छेहरुले नै बालबालिका ओसारपसार गरेका देखाएको छ । धार्मिक मान्छे संवेदनशील बन्नुपर्छ, बुझेर धर्म रोज्न पाउन उसको अधिकार हो तर बाल मनोविज्ञानमा जबरजस्त धर्म लाद्नु अपराध हो ।”

आफ्नो संस्थाले हुम्लाका ४ सय बालबालिकालाई छात्रवृत्तिमा पढाएको जानकारी दिँदै ढकालले राम्रो शिक्षाको लागि बालगृहमा ल्याएका भन्दै जिल्लामै पढेका बालबालिका उत्कृष्ट भएको बताए । अभिभावकसँग बस्नु पाउनुपर्ने बालबालिकाको पहिलो अधिकारी भएको बताउँदै ढकालले ओसारपसारमा संलग्न व्यक्तिलाई राज्यले सम्मान गर्नु निन्दनीय भएको बताए । उनले यसले बालबालिका ओसारपसार गर्ने व्यक्तिलाई प्रोत्साहन पुगेको बताए ।

ओसारपसार गरिएका र बालगृहमा फसेका बालबालिकालाई उद्धार गरेर पुर्नमिलन गराउँदै आएको हिमाली नविन समाजका कार्यकारी निर्देशक डिबी लामाले आफ्नो संस्थाले ७६ जिल्लाका १ हजार ३४ समस्यामा परेका बालबालिकालाई परिवारसँग पुर्नमिलन गराएको जानकारी दिए । उनले आफूहरुले पुर्नमिलन गराएका बालबालिकालाई पाँच वर्षसम्म रेखदेख गर्ने गरेको बताए ।

लामाले आफ्नो संस्थाले पुनर्मिलन गराएका बालबालिकालाई आत्मनिर्भर र स्वारोजगारमूलक शीप सिकाउने गरेको बताए । उनले पारिवारको अवस्था हेरी शिक्षा, स्वास्थ्यदेखि खाद्यन्न समेत सहयोग गर्दै आएको जानकारी दिए ।

हालै परिषद् र हिमाली नविन समाजको पहलमा विभिन्न जिल्लाबाट ल्याएर राजधानी काठमाडौँका मापदण्ड विपरित बालगृहमा राखिएका २७ बालबालिकालाई उद्धार गरेर परिवारमा पुनर्मिलन गराएको जानकारी दिँदै लामाले बालबालिकाको शारीरिक र मानसिक अवस्थाको जाँच गराएर भविश्य उज्ज्वल हुने गरी व्यवस्थापन गरेको बताए ।

बालबालिका ओसारपसार हुनुका कारणमध्ये गुणस्तरीय शिक्षा नहुनु , पारिवारिक विखण्डन, चेतनाको अभाव मुख्य रहेको बताउँदै लामाले सरकार गम्भीर बन्नुपर्ने बताए ।

दर्ता नभएका, गृहको पूर्वाधार प्रचलित मापदण्ड पूरा नभएका, पोषणयुक्त खाने कुरा नदिइएको र बालबालिका सम्बन्धी ऐन विपरित बालबालिका नराखेको कारण परिषदसँग समन्वय गरी आफूहरुले बालबालिकाको पुनर्मिलन गराएको बताए ।

त्यसैगरी कार्यक्रममा किप इन फ्यामिली टुगेदरका कोर्डिनेटर भविन्द्र राईले शिक्षा, गरिबी, अवास, पारिवारिक विखण्डनका कारण बालबालिका ओसारपरसार हुने गरेको बताउँदै यसमा राज्य पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे । सरकार अभिभावक भएमात्रै बालबालिकाले पारिवारिक वातावरण हुर्कन पाउने राईले बताए । जुन देशमा बालबालिकाको संरक्षण हुन्छ, त्यही देश समृद्ध हुने बताउँ राईले राज्यलाई जिम्मेवार बन्न सुझाव दिए ।

नेकपा माओवादी केन्द्रका हुम्ला जिल्लाका स्थानीय नेता रणसिंह परिवारले बालबालिका ओसारपसार हुम्लाको नयाँ नभएको बताए । उनले केही अगाडिसम्म बालगृहमा बच्चा पठाउने हुम्लामा होडबाजी हुने गरेको बताए । स्थानीय उत्पादन र साधन स्रोतका उपयोग नगरी कर्णालीलाई गरिब भनेर राज्यले हेर्ने गरेका कारण पनि बालबालिका ओसारपसार हुने गरेको परियारले बताए ।

बालगृहमा पठाएपछि राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमका कारण बर्षेनी हुम्लाबाट बालबालिका सहर ओसारपसार हुँदै गरेको भन्दै परियारले सरकारले राम्रो शिक्षाको ग्यारेण्टी गरे यो कार्य आफै रोकिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal