
काठमाडौँ । अघिल्लो सरकारमा समर्थन र सहभागितालाई लिएर विवाद उत्कर्षमा पुगेका जनता सामाजवादी पार्टी आज औपचारिक रुपमा विभाजन हुने भएको छ । निर्वाचन आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गर्ने भएको छ । योसँगै जसपा औपचारिक रुपमै विभाजन हुने भएको हो ।
कसको पक्षमा कति भनेर आयोगले कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गर्ने भएकोले केही दिनदेखि अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहले सक्रिय भएका थिए । उनीहरुले आफ्ना सदस्यलाई चोर्नबाट बचाउँदै अर्को पक्षका सदस्यलाई फकाउने प्रयास गरिरहेका छन् । कार्यकारिणीमा उपेन्द्रको बहुमत रहेको बताइएको छ । यसअघिल्लो सरकारमा ठाकुर समूह सहभागी भएपछिका केही बैठकमा पनि उपन्द्र समूहको बहुमत थियो ।
सर्वोच्च अदालतले ठाकुर समूहका मन्त्रीहरु बर्खास्त र ओली सत्ताबाट बहिर्गमनसँगै ठाकुर समूहलाई छोड्ने क्रम जारी छ । अहिले कुल ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र समूहसँग ३२ सदस्य रहेका छन् । उनीहरुमध्ये २० जना सांसद रहेको नेता डम्बर खतिवडाले संचारमाध्यमहरुलाई जानकारी दिएका छन् । उनीहरु सबैलाई हिजो गोदावरी रिसोर्टमा राखिएका छ । केही सदस्यहरु ठाकुर समूहमा फर्किन सक्ने भन्दै उनीहरुलाई सम्पर्कविहनी बनाउन रिसोर्टमा राखिएको हो । ओलीले विश्वासका मत लिने बेला पनि उपेन्द्र समूहले सांसदहरुलाई रिसोर्टमा राखेको थियो । ठाकुर समूहले प्रलोभनमा पार्न सक्ने भएकोले उनीहरुलाई रिसोर्टमा राखिएको बताइएको छ ।
यादवपक्षीय नेता डम्बर खतिवडाका अनुसार रिसोर्टमा केन्द्रीय कार्यकारिणी समितिका ३२ जना उपस्थित छन् । तीमध्ये १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसद छन् । कार्यकारिणी समितिमा बहुमत भएकोले जसपाका आधिकारिकता उपेन्द्र समूहले पाउने पक्कापक्की जस्तै भएको छ ।
यसैबीच हिजो सर्वोच्च अदालतले जसपाका अध्यक्ष ठाकुर पक्षको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको थियो । यसले पनि गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई नर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने सम्भावना बढेको छ । जसपा अध्यक्ष ठाकुरले भने कार्यकारिणी समितिकै विवाद निरूपण नगरी आयोगले बहुमत र अल्पमत परीक्षणमा जाने निर्णय गरेको भन्दै त्यसविरुद्ध अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले दुबै पक्षलाई साउन १५ गते बोलाएको छ ।