आज :

देशभर बाढी-पहिरो: सिन्धुपाल्चोकमा ७ जनाको ज्यान गयो, हजारौंको उठिबास

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा सात जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिए ।
अहिले उद्दार कार्य जारी छ । अ‍झै केही व्यक्तिहरु हराइरहेका छन् ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

अहिले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरबाट उद्दार जारी रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।

असार महिनाको सुरुवातसँगै देशभर भारी वर्षासँगै आएको बाढी पहिरोले जनजीवन अस्तव्यस्त भएको छ । करोडौंको क्षति हुन पुगेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

देशभरका नदी र खोलाको पानीको सतह खतराको सूचीमाथि पुगेको छ भने खहरे खोलामा पानी र लेदो बगिरहेको छ । स्थानीय प्रशासनका अनुसार नारायणी, इन्द्रावती, खण्डकी, सेती, बुडिगंगालगायतका नदीमा पानीको वहाव बढेको छ । नारायणी नदीमा आएको बाढीले म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रहरुमा बासिन्दा जोखिमा परेका छन् ।

पहिरोका कारण राजमार्गहरु समेत अवरुद्ध भएका छन् भने पाल्पालगायतका जिल्लाहरुमा पहिरो र बाढीले बगाएर केही व्यक्तिहरुको ज्यान गएको छ । सोमबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माण भइरहेका सुपर मादी हाइड्रो पावरमा ठुलो क्षति पुर्याएको छ । बाढीले हाइड्रो पावरका २ वटा जेसिबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटर, रड, सिमेन्ट, एक्स्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, लगायत निमाणमा प्रयोग हुने विभिन्न उपकरणहरु बढीले बगाएको आयोजनाले जनाएको छ ।

बाढीले करिब ५० करोड बराबरको क्षति भएको सुपर मादी हाइड्रो पावरले जनाएको छ । त्यसैगरी वर्षाका कारण पोखरा ९ नयाँबजार शिद्धमार्गदेखि सेती नदी जाने बाटो भत्कँदा वरपरका घरहरु जोखिममा परेका छन् । अविरल बर्षासंगै पोखरा रामघाटस्थित सेती नदीमा आएको पानीको बहाव बढेपछि नदी थुनिएर ताल बनेको छ । सेती नदी थुनिएर ताल बनेपछि पोखरेलीहरु त्रसित भएका छन ।

त्यसै पोखरा महानगरपालिका ६ मा वर्षाका कारण नहरमा आएको बाढी थुनिँदा तीन घरमा क्षति पुगेको छ । बैदाममा वसन्त बैठक नहर मार्गमा सिञ्चाईको नहर थुनिँदा ३ घरमा क्षति पुगेको छ । बाटो निर्माणको क्रममा माटोले थुनिएको नहरमा भारी वर्षाका कारण आएको पानीको बहाव बस्तीमा छिर्दा घरमा क्षति पुगेको हो ।

कास्की अन्नपूर्ण गाँउपालिका–६ हाईजुङ स्थित टंक बहादुर पुनको घर अगाडी पहिरो जाँदा घरको छानोमा हाईटेसन लाईनको तारमा छोइएको छ । अन्नपुर्ण गाँउपालिकाकै–७ बिरेठाँटीस्थित मोदी खोलाको पानीको बहाब बढ्दा ६ घरहरु जोखिममा परेका छन् । अबिरल वर्षाका कारण मुस्ताङको उत्तरी कोरला नाका जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम अवरुद्ध भएको छ ।

मुस्ताङको घरपझोङ—४ जोमसोम र वारागुङ मुक्तिक्षेत्र—१ को बीचमा पर्ने लुप्रा—पान्डाखोला थुनिएसँगै आएको उर्लदो बाढीले लुप्रा बस्ती उच्च जोखिममा परेको छ । लुप्रा—पान्डा खोला थुनिएर आएको बाढीले स्थानीय पाल्देन गुरुङ र टसी गुरुङको घर ,गोठ र शौचालय आदिमा क्षति पुर्याएको छ ।

त्यसैगरी गोरखाको आरुघाट गाँउपालिका–२ ढोडेनिस्थित ठोटनरी खोलाले बगाउँदा वर्ष ३८ का गोबिन्द चौधरी बेपत्ता भएका छन् । उनलाई खोला तर्ने क्रममा बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । त्यसैगरी नवलपरासी पूर्व बिनयीत्रिबेणी गाँउपालिका–२ दाउन्नेमा अविरल बर्षातको कारण माथिबाट अचानक पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको भएको प्रहरीले जनाएको छ । त्यस्तै गैंडाकोट नगरपालिका–८ थुम्सीस्थित पूर्वपश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सन अविरल वर्षातको कारण बगाएर जोखिममा परेपछि राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरी जनाएको छ ।

पर्वतको जलजला ३ वारीबेनीमा स्थानीय अमृत केसीको दुई तले घर भत्किएको छ । घर भत्कँदा नजिकै पार्किङ गरी राखेको नमस्ते बेकरी उद्योगको ग २ च ६४९७ नं.को भ्यानमा क्षति पुगेको छ । त्यसैगरी बागलुङको काठेखोला–६ इनारपानीमा शिवलाल कँडेलको घर पहिरोको जोखिममा परेको छ । पहिरोले घर जोखिममा परेपछि ४ जना विस्थापित भई छिमेकीकोमा आश्रय लिएका छन् ।

मनाङ सदरमुकाम चामेका ६ घर बाढीले बगाएको छ । घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीमा परि ६ घर बगाएको मनाङ प्रहरीले जनाएको छ । मनाङमा रहेको विद्युत गृह, बेलिब्रिज र काठेपुल समेत बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।

सोमबारदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्याएको छ । नासो गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ ।

मर्स्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । बस्तीमा बढी पसेर क्षति पुगेपछि ५६ घरका बासिन्दा विस्थापित भएका छन् ।

बर्षाका कारण आएको पहिरोले गर्दा अछामको साफेबगरदेखि बाजुराको मर्ताडीसम्म जोड्न सडकमार्ग अवरुद्ध भएको छ । अछामका बुडीगंगा, सेती, कर्णालीसहित विभिन्न खोलाहरुमा पानीको सतह बढेको छ । धेरै बस्तीहरु जोखिममा परेका छन् । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाहरुमा वर्षाका कारण धेरै बस्ती उच्च जोखिममा रहेका छन् ।

अहिले पनि देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको छ । इन्द्रावती र मेलम्चीमा आएको बाढी हिजो हेलम्बु बजारमा पसेको र बिहान मेलम्ची बजारमा समेत पस्ने जोखिम बढेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

हिजो बेलुकी मेलम्ची खोलामा पानीको सतह निकै घटेकोमा बिहानीपख बढ्न थालेकोले खोला थुनिएर खुल्न थालेको आशंकामा स्थानीयबासिन्दा चिन्तित छन् ।

बाढीले हेलम्बुका थुप्रै घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भैरहेको उहाँले बताउनुभयो । मनसुन नेपाल भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परिरहेको छ ।

भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अझै चार–पाँच दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal