आज :

प्रहरीले खोज्न थालेपछि डराए चिनी उद्योगी, श्रीराम सुगर मिलले आजबाट भुक्तानी दिन सुरु

काठमाडौं । पक्राउ गरी ठगी मुद्दा चलाउने तयारी गरेपछि चिनी उद्योगी उखु किसानले भुक्तानी दिन तयार भएका छन् । विहीबार संसदीय समितिले दिएको निर्देशन र प्रहरीलाई पक्राउको लागि गरिएको सर्कुलरपछि उद्योगी भुक्तानी दिन तयार भएका हुन् ।

आज (शुक्रबार) बाट श्रीराम सुगर मिलले भुक्तानी दिन सुरु गर्ने जनाएको छ । उद्योगले आफूले भुक्तानी दिन बाँकी रहेकाे रकम पनि सार्वजनिक गरेको छ ।

विहीबार मिलले विज्ञप्ति जारी गरेर आर्थिक वर्षमा खरिद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको समेत जनाएको छ । बाँकी सबै रकम यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि उद्योगले गरेको छ ।

त्यसैगरी अन्य उद्योगले पनि भुक्तानी दिने तयारी थालेपनि कहिलेबाट सुरु गर्ने केही बताएका छैनन् । उनीहरु प्रहरीले खोज्न थालेपछि काठमाडौंमा लुकेर बसेका छन् ।

नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउन सम्बन्धीत जिल्लालाई निर्देशन दिइसकेको थियो । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको छ ।

सर्लाही, रौतहट र नवलपरासीका चार चिनी मिलका सञ्चालकले विगत वर्षदेखि नै उखु किसानको बाँकी बक्यौता भुक्तानी गरेका छैनन् । पटक–पटक ताकेता गर्दा भुक्तानी नदिएपछि किसान फेरि काठमाण्डौ आएर आन्दोलन चलाइरहेका छन् ।

त्यही विषयमा मङ्गलबार गृहमन्त्री रामबहादुर थापासहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि विकासमन्त्री घनश्याम भुसाल र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीसहितको बैठक बसेको थियो । बैठकले उनीहरुलाई पक्राउ गरी कारबाही गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयका आधारमा गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि गरेको परिपत्रअनुसार प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको हो । कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढेपछि केही मिल सञ्चालकले भने रकम जम्मा गरेको भन्ने जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । नतिर्नेलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई स्पष्ट निर्देशन गरिएको उहाँले बताउनुभयो ।

गएको वर्ष उखु किसान आन्दोलित भएपछि माग सम्बोधन गर्ने गरी सहमति भएको थियो । त्यो सहमति पूरा नभएपछि किसान फेरि आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal