News Portal

  • आमूल परिवर्तनको बाटोमा साहसकासाथ अघि बढ्ने बेला आएको छ

    रवीन्द्र श्रेष्ठ, केन्द्रिय सदस्य, नेकपा (वोल्शेभिक)२०७७ कात्तिक १२ गते
    ६७३ पटक

    वर्तमान राजनीतिक अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ ?

    अहिलेको राजनैतिक अवस्थाले सत्ताधारी नेकपा(नेकपा) को निर्माण माओवादी बाटो र लक्ष्य छोडेर देश र जनताप्रति गद्दारी गरेको प्रचण्ड गुट तथा मदन भण्डारीको वास्तविक जबज परित्याग गरेको एमाले नेतृत्व गुटको एकता हो भन्ने स्पष्ट भएको छ । प्रचण्ड ओलीको गठवन्धन सरकार दलाल तथा नोकरशाही पूँजीपति वर्ग र विदेशी साम्राज्यवादी वर्गको स्वार्थ रक्षा गर्ने जनविरोधी प्रतिक्रियावादी मेन्शेभिक सरकार हो भन्ने स्पष्ट भएको छ ।
    दलाल तथा नोकरशाही पूँजीवाद र साम्राज्यवादी पूँजीवादी अर्थव्यवस्था विश्वभरी नै गम्भीर संकटको बीचबाट गुज्रिरहेको छ । यो दोश्रो विश्वयुद्ध पछिको गम्भीर आर्थिक उथलपुथल र महासंकट हो । आर्थिक आधारमा आएको यस महासंकटले गर्दा विश्वभरी नै र नेपालमा पनि राज्यसत्ता र सत्ताधारी राजनीतिमा गम्भीर संकट आउने निश्चित छ ।
    तसर्थ, विश्वभरिका र नेपालका पनि क्रान्तिकारी कम्युनिस्टहरुले मालेमावादको आधारमा सही कार्यदिशा, कार्यक्रम, कार्यनीति र रणनीति बनाएर उत्पीडित जनताको संघर्षलाई सहि दिशामा नेतृत्व गर्दै आमूल परिवर्तनको बाटोमा साहसकासाथ अघि बढ्ने बेला आएको छ ।

    ने.क.पा. (वोल्शेविक) गठन गर्नुभएको छ । यसलाई माओवादी आन्दोलनकै निरन्तरतामा एक संक्रमणकालिन भंगालोको रुपमा बुझ्ने कि भिन्न राजनीतिक शक्तिको रुपमा ? 

    नेकपा (वोल्शेभिक) नेपाली कम्युनिस्ट आन्दोलनको पाँच वटा जनपक्षीय क्रान्तिकारी धारहरु (पुष्पलाल श्रेष्ठको क्रान्तिकारी धार, तात्कालिन मालेको क्रान्तिकारी धार, मदन भण्डारीको देशभक्त जनवादी धार, नरवहादुर कर्माचार्य तथा निर्मल लामाको क्रान्तिकारी धार तथा माओवादीको क्रान्तिकारी धार) को फ्युजन सहितको अहिलेको परिस्थितिमा मालेमावादको सही प्रयोग र विकसित जनपक्षीय धार हो ।

    हिजो एउटै उद्देश्यका सहयात्री बनेर एउटालाई बचाउनको लागि अर्को मर्न तयार हुनेसम्मको कमरेडली स्पिरिटमा अभ्यस्त भएका तपाईँ नेताहरु आज रानी हराएको मौरीझैं छरपस्ट हुनुहुन्छ । एकले अर्काेलाई विश्वास गर्न सक्ने अवस्था छैन, स्वीकार गर्न सक्ने अवस्था छैन । कहाँ गयो त्यो कमरेडली सम्बन्ध र विश्वास ? भन्नलाई त तपाईँहरु सबैले क्रान्तिकारीहरु, परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने भन्नुहुन्छ, तर आफ्नो निष्कर्षको वरिपरि सबै आइपुगुन भन्ने आग्रह पनि राख्नुहुन्छ । यो पाराले तपाईँहरुले क्रान्तिको अभिभारा पूरा गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ?

    कमरेडली सम्वन्धको आधार सर्वहारावर्गीय कार्यदिशा, कार्यक्रम, कार्यनीति र रणनीति तथा त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न थाल्ने प्रक्रिया हो । त्यो आधारलाई तात्कालिन माओवादीको अत्यधिक वहुमत नेतृत्वले चुनवाङ वैठकको सेरोफेरोदेखि परित्याग गरेपछि कमरेडली सम्वन्धको अन्त्य भएको हो ।

    हामीले क्रान्तिकारीहरुका वीचमा पार्टी एकता आवश्यक छ भनेर ७ बुँदे प्रस्ताव सत्ताधारी डवल नेकपाका नेताहरु वाहेक अरु सबै कम्युनिस्ट पार्टीहरु समक्ष राखेका छौं । “आफ्नो निष्कर्षको वरिपरि सबै आइपुगुन भन्ने आग्रह” भन्ने तपाईको भनाइ मालेमासम्मत छैन । प्रचण्डजीले पनि वैद्य, विप्लव सबैलाई सरकारी नेकपामा एकतावद्ध हुन आग्रह गर्नुभएको छ । वैद्यजी, विप्लवजी सबैले आफ्नो निष्कर्ष छोडेर प्रचण्डको पछि लाग्नु पर्छ भन्ने तपाईको भनाइ होइन होला । तसर्थ, सबैले आ–आफ्ना निष्कर्ष र आग्रह राख्नु नराम्रो कुरा होइन । अहिलेको स्थिति भनेको सबैले पार्टी एकतावारे आ–आफ्ना निष्कर्ष र आग्रहलाई बुँदागत तथा लिखित रुपमा सबै कार्यकर्ता तथा जनता समक्ष नराख्नुले पार्टी एकताको प्रक्रिया अघि नबढेको हो । कुनै एक कोठामा केही सिमित नेताहरु बसेर एकताको लागि वार्ता मात्रै गर्ने तर पार्टी एकताका लागि आफ्नो तर्फवाट लिखित बुँदाहरु आम कार्यकर्ताहरुलाई थाहासम्म पनि नदिने संकीर्ण कार्यशैलीले पार्टी एकतामा समस्या उत्पन्न भइरहेको हो । सबैले आ–आफ्ना पार्टी एकताका आधारहरु बुँदागत रुपमा सार्वजनिक गरेपछि आम कार्यकर्ताहरु र जनताले नै कसले क्रान्तिकारी र जनपक्षीय आधारमा पार्टी एकता चाहेको रहेछ तथा कसले आफ्नो संकीर्ण गुटस्वार्थ मात्र हेरेको रहेछ भन्ने थाहा पाउने हुन्छ र क्रान्तिकारीहरुका बीच ध्रुबिकरण तथा नयाँ एकता अवश्य पनि हुनेछ ।

    ने.क.पा. (बोल्शेविक) का उद्देश्य, मार्गनिर्देशक सिद्धान्त, कार्यदिशा र कार्यक्रमबारे केही बताइदिनुस् न । 

    नेकपा (वोल्शेभिक)को उद्देश्य तत्काल प्रतिक्रियावादी ओली सरकार तथा प्रतिक्रियावादी सत्ता व्यवस्थालाई नयाँ संयुक्त जनआन्दोलनको माध्यमवाट हटाएर जनपक्षीय क्रान्तिकारी संकटकालीन सरकार तथा वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्र स्थापना गर्नु हो । त्यसपछि वैज्ञानिक समाजवाद र साम्यवाद स्थापनाको दिशामा अघि बढ्नु यसको उद्देश्य हो ।

    मालेमावाद र विश्वभरीका क्रान्तिकारी जनपक्षीय आन्दोलनका अनुभवहरु हाम्रो मार्गदर्शक सिद्धान्त हुन् । नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशा हाम्रो वर्तमान कार्यदिशा हो ।

    हाम्रो कार्यक्रम वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्रात्मक कार्यक्रमहरु हुन् जसलाई नेकपा (वोल्शेभिक)को घोषणापत्रमा ४९ बुँदामा व्याख्या गरिएको छ । नेकपा (वोल्शेभिक)को घोषणापत्र यसको फेसबुक पेजमा हेर्न सकिन्छ तथा इमेल ठेगाना पठाउनु भएमा सबैलाई उपलब्ध गराउने व्यवस्था छ ।
    तपाईँ लामो समयसम्म माओबादी आन्दोलनको प्रतिभाशाली नेताको भूमिकामा रहनुभयो । दशवर्षसम्म चलेको जनयुद्धको समीक्षा कसरी गर्नुभएको छ ? 

    दश वर्षको जनयुद्धले गाउँ, सहर, हिमाल, पहाड, तराई सबैतिरका जनतामा अन्याय, उत्पीडन, असमानता, दासता आदिका विरुद्ध महाजागरण ल्याएको छ । जनयुद्धले उत्पीडनकारी सत्ता, सरकार जतिसुकै शक्तिशाली भएपनि त्यसका विरुद्ध सानो शक्तिले पनि मालेमावादका आधारमा संघर्ष गर्न र पराजित गर्दै शक्ति विस्तार गर्न सम्भव छ भन्ने तथ्य पुनः प्रमाणित गरेको छ ।

    सदियौं पुरानो राजसंस्था हट्न बाध्य हुनु र जनताले आफ्नो संविधान लेख्न पाउने अधिकार प्राप्त गर्नु जनयुद्धको तात्कालिन उपलब्धी हुन् ।
    साथै, जनयुद्धको मुख्य नेतृत्व स्वयम्को वर्ग परिवर्तन भएर दलाल तथा नोकरशाही वर्गमा रुपान्तरण हुन सक्ने सम्भावनावारे पार्टीको सम्पूर्ण कार्यकर्ता तथा समर्थक पंक्तिमा वैचारिक प्रशिक्षण समयमै दिन नसक्नु, मुख्य नेतृत्वले नै त्यस्तो गद्दारी गर्न थालेमा त्यसका विरुद्ध संघर्ष गरेर क्रान्तिलाई कसरी विजयसम्म लैजाने भन्ने विषयमा वेलैमा सचेतता र तयारी नहुनु जनयुद्धको अभियानका कमजोर पक्ष हुन् । त्यस्तो वैचारिक र संगठनात्मक तयारी गर्न थाल्दा धेरै ढिलो भैसकेको तथ्यवाट हामीले शिक्षा लिनु पर्दछ ।

    तपाईँले जनयुद्धकै बीचमा प्रचण्डहरुसंग सम्बन्ध बिच्छेद गर्नुभयो । तपाईँको बहिर्गमनलाई लिएर त्यतिबेला तपाईँमाथि बिभिन्न आरोपको थुप्रो लगाउदै पार्टीभित्र ‘रवीन्द्र प्रबृत्ति’ भनियो र तपाईँका बिरुद्ध धुवाँधार स्कूलिङ चलाइयो, जसरी त्यसअघि आलोकका बिरुद्ध चलाइएको थियो । वास्तवमा के कारणले त्यस्तो सम्बन्ध बिच्छेद गर्नुभएको थियो ?

    आलोकजीका कमी–कमजोरी अवश्यपनि थिए । हामी केही साथीहरुले उहाँका कमी–कमजोरी आत्मसात गराउन र सच्याउन निरन्तर प्रयास गर्दै गरेको समयमा आलोकजीका कमजोरीहरुलाई ढाकछोप गरेर पार्टीमा समस्या पैदा गराउनेमा स्वयम् प्रचण्डजीको ठूलो भूमिका थियो । आलोकजीमा केही गम्भीर कमी–कमजोरी भएपनि उहाँ एक लडाकु स्वभावका तथा जनताको पक्षमा ज्यान आहुति दिन तयार एक युवा नेता हुनुहुन्थ्यो । जब आलोकजीले स्वयम् प्रचण्डजीका गलत प्रवृतिको भण्डाफोर गर्न थाल्नुभयो, तब उहाँलाई षड्यन्त्रपूर्वक वन्दी वनाउने काम प्रचण्डजी र बाबुरामजीले गर्नुभयो । आलोकजीले बन्दी नै वनाउनु पर्ने गम्भीर क्रान्तिविरोधी अपराध केही पनि गर्नुभएको थिएन । आलोकजी त्यही बन्दी अवस्थामा नै शहिद बन्नु भयो । 

    प्रचण्डजी र बाबुरामजीले जनसेना, जनसत्ता सबै दलाल तथा नोकरशाही पूँजीपति वर्गलाई बुझाएको तथ्यले तथा जनयुद्ध बीच बाटोमै बिसर्जन गरेर उहाँहरु स्वयम् दलाल तथा नोकरशाही पूँजीपति वर्गमा परिवर्तन भएको सत्य तथ्यले त्यो वेला मैले गरेको विद्रोह सही थियो भन्ने प्रष्ट हुन्छ र रबीन्द्र प्रवृति भन्ने धार केही कमी–कमजोरीहरुका बावजुद क्रान्तिकारी जनपक्षीय मालेमावादी प्रवृति नै हो भन्ने पनि प्रष्ट हुन्छ । चुनवाङ वैठकमा प्रचण्डजी र बाबुरामजीको दक्षिणपन्थी आत्मसमर्पणवादी नयाँ नीतिका बिरुद्ध मैले गरेको बिरोध र पछि गरेको विद्रोह जनपक्षीय र क्रान्तिकारी थियो भन्ने प्रमाणित भइसकेको छ र उहाँहरुले क्रान्तिमाथि गम्भीर गद्दारी गरेको स्पष्ट भइसकेको छ । मेरा कमी–कमजोरीहरुप्रति गम्भीर आत्मालोचना गर्दै विश्वका उत्पीडित वर्ग र समुदायका पक्षमा निरन्तर संघर्षमा लागिरहने प्रण गरेको छु । क्रान्तिकारीहरु एक ठाउँमा र प्रतिक्रान्तिकारीहरु अर्को पक्षमा धु्रवीकरण हुँदै जान थाल्नु पर्दछ भन्ने सबै साथीहरुमा मेरो विनम्र आग्रह रहेको छ । प्रचण्डजी र बाबुरामजीहरुलाई पनि आफ्ना अपराधहरुप्रति गम्भीर आत्मालोचना गरेर उत्पीडित जनताको पक्षमा आउन आग्रह गर्दछु ।

    प्रचण्ड बाबुरामहरुमा विचलन आएकोले जनयुद्धको धोखापूर्ण बिसर्जन भयो भन्ने गरिन्छ । त्यस्तो विचलन कुन बिन्दुबाट आएको देख्नुहुन्छ ? नेतृत्वमा आएको बिचलनले क्रान्ति नै बिसर्जन हुने अवस्थामा पुग्दासम्म पनि त्यहाँभित्रका क्रान्तिकारीहरुले बिद्रोहको झण्डालाई रक्षा गर्न नसक्ने अवस्था किन भयो ?

    बाबुरामजी कहिल्यैपनि क्रान्तिकारी कम्युनिस्ट हुन सक्नु भएन । उहाँले मालेमावादको सारलाई कहिल्यैपनि समग्रतामा बुझ्न सक्नु भएन । यो कुरा उहाँले कम्युनिस्ट पार्टी र सिद्धान्त नै परित्याग गरेर राष्ट्रिय जनता पार्टीको नेता बन्न पुग्नुले प्रष्ट भएको छ । उहाँले राष्ट्रिय पूँजीपति वर्गको उदारवादी हिस्साको प्रतिनिधित्व गर्ने सम्मको दृष्टिकोण अंगीकार गर्नु भएकोले जनयुद्धमा र जनयुद्ध गर्ने पार्टीमा केही समय रहन सक्नु भयो । तर शाही सेनासंगको लडाइँ चर्कन थालेपछि उहाँमा चर्को आत्मसुरक्षावादी प्रवृत्ति देखा पर्न थालेको थियो । उहाँसँग संगठन निर्माण र विविधखाले संघर्षको योजना तथा नीति निर्माण गर्ने र कार्यान्वयन गर्न कार्यकर्ताहरुलाई सही तरिकाले परिचालन गर्ने वामपन्थी मालेमावादी क्षमताको सधै अभाव रह्यो । आफ्नो दक्षिणपन्थी दृष्टिकोण ढाकछोप गर्न उहाँले उग्रवामपन्थी दृष्टिकोण अपनाउने गर्नु हुन्थ्यो । जब शाही सेनासँग भीषण लडाइँ शुरु भयो, त्यो बेलादेखि उहाँले आफ्नो वर्ग परिवर्तन गरेर दलाल तथा नोकरशाही वर्गमा रुपान्तरण गर्न थाल्नु भयो । उहाँका गलत दृष्टिकोण र व्यवहारका विषयमा पार्टीमा निरन्तर संघर्ष चलाइएको थियो, जसले गर्दा उहाँको विषयमा पार्टीको बहुसंंख्यक कार्यकर्ताहरुमा भ्रम थिएन । उहाँमा मात्र आत्मसमर्पणवादी विचलन आएको भए जनयुद्ध यसरी बीच वाटोमै तुहिने थिएन । बाबुरामजीमा आएको विचलनलाई प्रचण्डजी र हामी मिलेर समाधान गर्दै सम्हाल्दै आइरहेका थियौं । प्रचण्डजी नै आत्मसमर्पणवादी बाटोमा लागेपछि र सो आत्मसमर्पणवादी नयाँ प्रचण्डपथलाई बहुसंख्यक केन्द्रिय सदस्यहरुले समर्थन गरेपछि भने प्रतिक्रान्तिको दुःखद् घटनाक्रम शुरु भयो ।
    प्रचण्डजीले सुरुवाती दिनहरुमा सही मालेमावादी तरिकाले जनयुद्धको नेतृत्व गर्नुभएको थियो ।

    जनयुद्धको विशिष्टताले गर्दा उहाँलगायत नेतृत्वको एक हिस्सा प्रवासमा रहेर काम गर्नुपर्ने स्थिति जनयुद्ध शुरु भएको चारपाँच महिनामै आएको थियो । दुईतीन वर्ष प्रवासमा प्रचण्डलगायतका नेताहरु रहनु परिस्थितिको बाध्यता भएपनि लगातार साढे आठ वर्ष प्रवासमै रहने स्थितिले पार्टी र आन्दोलनमा तथा प्रमुख नेताहरुमा र कार्यकर्ताहरुको एक हिस्सामा विभिन्न विचलनकारी समस्या आउन थालेको थियो । एकातिर फिल्डमा प्रमुख नेताहरुको अभाव खट्किन थालेको थियो भने फिल्डमा कार्यरत हाम्रो पुस्ताका नेताहरु र पार्टीको पहिलो पुस्ताका नेताहरुका बीचमा अन्तरविरोध शुरु हुन थालेको थियो । फिल्डबाट कटिएका प्रचण्डजीलगायतका नेताहरुमा मनोगतवादी समस्या आउन शुरु भइसकेको थियो ।
    फिल्डमा देखिएका समस्याहरुको समाधान गर्ने नीति योजना बनाउन प्रचण्डजी क्रमशः असक्षम बन्दै जानु भएको थियो । पार्टीका वरिष्ठ नेताहदेखि केन्द्रिय सदस्यसम्म र जनसेनाका माथिल्ला कमाण्डरहरुमा पनि विभिन्न गैरमाक्र्सवादी विचलनहरु तथा प्रतिक्रान्तिका चिन्तन व्यवहारहरु देखिन थालिसकेको थियो । पार्टी र जनसेना भित्र देखा परेको गैरमालेमावादी विचलनहरु गम्भीर बन्न थालेको थियो । यसलाइ प्रचण्डजीले कुटनीति र दाउपेचको प्रयोग गरेर एकथरीका विरुद्ध अर्को प्रयोग गरी टुक्रे समाधान र तात्कालिक टालटुले समाधान गर्न खोज्ने उहाँको पुरानै कार्यशैली प्रयोग गरिरहनु भयो ।

    मैसूरमा भएको पोलिटव्युरो बैठकमा पार्टीका वरिष्ठ नेताहरुदेखि कयौं केन्द्रिय सदस्यहरुसम्म र जनसेनाका माथिल्ला कमाण्डरहरुमा देखा परेको गैरमालेमावादी विचलनहरु गम्भीर बन्न थालेकोले टालटुले, टुक्रे र कुटनैतिक हल मात्रले समाधान नहुने स्थितिमा पुगेकोले नयाँ खालको सांस्कृतिक क्रान्तिको योजना पोलिटव्युरोले वनाएर त्यसलाई व्यवस्थित तरिकाले लागु गर्नुपर्ने प्रस्ताव मैले राखेको थिएँ । क्रान्तिपछि कम्युनिस्ट पार्टी, समाजवादी सत्ता र जनसेनामा देखा पर्ने गैरमालेमावादी प्रवृत्तिहरुका विरुद्ध माओले महान सर्वहारा साँस्कृतिक क्रान्ति गर्नु भएको थियो । प्रतिक्रान्तिलाई रोक्ने तथा पार्टीका नेता कार्यकर्ताहरुको विश्वदृष्टिकोणमा आएको गैरसर्वहारावादी चिन्तनलाई पराजित गर्न तथा रुपान्तरण गर्न यो साँस्कृतिक क्रान्ति संचालन गर्नुभएको थियो । तर नेपाली जनयुद्धमा भने ०६० तिर आउँदा हाम्रो स्थिति क्रान्ति पूरा हुनु अगाडि नै प्रतिक्रान्ति हुन सक्ने सम्भावना प्रवल भइसकेको थियो ।

    जनयुद्धको नेतृत्वकर्ता पार्टी र जनसेनाभित्र माथिल्ला नेता र कमाण्डरहरुमा नै देखा परेका गम्भीर गैरमालेमावादी चिन्तन व्यवहारहरुका विरुद्ध व्यवस्थित र नयाँ तरिकाले संघर्ष नचलाई क्रान्ति अघि बढ्न नसक्ने स्थिति स्पष्ट देखिएकोले तथा क्रान्ति सम्पन्न हुन अगाडि नै संचालन गरिने भएकोले “नयाँ साँस्कृतिक क्रान्ति” नाम दिउँ भन्ने प्रस्ताव राखिएको थियो । २१ औं शताब्दीको नयाँ परिस्थितिमा नयाँ जनवादी क्रान्ति सफल पार्न दिर्घकालिन जनयुद्धमा सशस्त्र विद्रोहका कयौं नीतिहरु फ्युजन गरेर मात्र नपुग्ने र त्यसमा नयाँ साँस्कृतिक क्रान्ति पनि फ्युजन गरिनु पर्ने प्रस्ताव मैले राखेको थिएँ । तर प्रचण्डजीले यस प्रस्तावलाई स्वीकार गरेर अघि वढ्ने हिम्मत गर्नु भएन । त्यपछि भएको केन्द्रिय समिति बैठकमा उहाँले क्रान्तिभित्र क्रान्ति भन्ने रेजिस डेब्रेको नारा नक्कल गरेर ल्याउनु भयो र नयाँ सांस्कृतिक क्रान्तिको नीतिलाई आत्मसात गर्न हिनतावोध गर्नु भयो । क्रान्तिभित्र क्रान्ति भनेपनि उहाँले आफूभित्र क्रान्ति नगर्ने र अरुलाई मात्र आरोप लगाइरहने मोहनविक्रम प्रवृत्ति दोहो¥याउन थाल्नु भयो । साथै एकका विरुद्ध अर्कोलाई प्रयोग गरेर षड्यन्त्रकारी अन्तरसंघर्षको तरिकाले समस्या समाधानको प्रयासमा लागिरहनु भयो । अन्तमा उहाँ स्वयम्को प्रतिक्रान्तिकारी रुपान्तरण हुन गयो ।

    वर्गसंघर्षको मैदानमा पनि प्रचण्डजीले सही नीति तथा योजना विकास गर्न सक्नु भएन । पासाङजी, वर्षमानजी, जनार्दनजीलगायतका कमाण्डरहरुले शाही सेनाको किल्लाबन्दी तोडेर पूर्ण सफल तरिकाले आक्रमण सफल बनाउने कारवाही गर्न सकिरहनु भएको थिएन । किल्लाबन्दी गरिएका क्याम्पहरुमाथिको आक्रमण एकपछि अर्को असफल हुने र आंशिक उपलब्धी तर ठूलो क्षति हुने क्रम बढ्दै गएको थियो । प्रचण्डजीले क्षेत्रियतावाद र व्यक्तिवादको विचलनमा परेका केही केन्द्रिय सदस्यहरु र केही माथिल्ला कमाण्डरहरुको प्रभावमा परेर एकका विरुद्ध दश लड्ने माओवादी जनयुद्धको एक अति महत्वपूर्ण कार्यनीतिलाई परित्याग गरेर एकका विरुद्ध एक लड्ने उग्रवामपन्थी रुप र दक्षिणपन्थी सार भएको गैरमाओवादी कार्यनीति लागु गर्न आदेश दिनुभयो । फलस्वरुप कयौं लडाइँहरुमा पराजय भोग्नु प¥यो । उदाहरणका लागि भालुवाङको सशस्त्रको क्याम्प र कुसुमको क्याम्पमा करिब एउटै समयमा आक्रमण गर्ने आदेश र अनुमति प्रचण्डले दिनुभयो । तर हाम्रो सुझाव एक समयमा केवल एक ठाउँमा मात्र आक्रमण गर्ने र दुइतिर आक्रमण गर्ने शक्तिलाई एउटै निशानामा मात्र केन्द्रित गर्नु पर्दछ भन्ने थियो । तर उहाँले गलत निणर्य लिनु भयो । फलस्वरुपः दुबैतिर गम्भीर क्षति भयो र केवल आंशिक उपलब्धी मात्रै भयो ।

    दुश्मनलाई आधार इलाकाको भित्रसम्म घुस्न दिने र त्यहीँ आफ्नो अनुकूलतामा पराजित गर्ने माओवादी जनयुद्धको अर्को महत्वपूर्ण नीति हो । तर पासाङजी, जनार्दनजीलगायतका कमाण्डरहरुले यसलाई लागु गर्नेतिर भन्दापनि किल्लावन्दी गरेका क्याम्पमा नै गएर राती आक्रमण गर्ने तरिका नै एकोहोरो रुपमा प्रयोग गरिरहनु भयो । सानो क्याम्पमा यो नीति सफल भएपनि ठूलो क्याम्पमा यो नीति सधै असफल भैरह्यो । हामीले माओको नीतिलाई कार्यान्वयन गर्न थाल्नु पर्ने प्रस्ताव वारम्वार राख्दा प्रचण्डले सधैं माओको सफल नीति लागु गर्न नभनेर किल्लाबन्दी गरेका क्याम्पमा नै गएर राती आक्रमण गर्ने नीति नै लागु गर्न आदेश दिइरहनु भयो । क्याम्पवाट बाहिर आएको बेला योजनावद्ध रुपमा आक्रमण नगर्ने र क्याम्पबाट बाहिर निकालेर आक्रमण गर्ने योजना नबनाउने जस्ता गल्तिहरु भइरहे । जसले गर्दा ठूला किल्लाबन्दी गरिएका शाही सेनाको क्याम्पमै गएर पराजित गर्न जनसेना असफल रह्यो । यसले जनसेनाको मनोवलमा ठूलो कमी आउन थाल्यो र अनावश्यक क्षति बढ्न थाल्यो ।

    प्रचण्ड आफै बसेर योजना बनाउनु भएको र पासाङजी र जनार्दनजी कमाण्डर भएको दुबै डिभिजन प्रयोग गरी भएको खाराको सबभन्दा पछिल्लो कारवाही पनि असफल भयो । प्रचण्डजीले किल्लाबन्दी क्याम्पमा नै गएर रातमा आक्रमण गर्ने पुरानै असफल नीति त्यहाँ प्रयोग गर्न लगाउनु भयो । हामीले त्यो क्याम्पको छनौट नै ठिक छैन भनेका थियौं । तर प्रचण्डजीले मान्नु भएन । किनभने त्यहाँ दुइपटक असफल आक्रमण भइसकेकोले जनसेनाका योद्धाहरुमा एक भिन्न मनोविज्ञान बनिरहेको थियो । त्यसको भूगोल पनि हाम्रो लागि अत्यन्त प्रतिकूल थियो । सानो स्थान, दुइतिर भीर, डाँडाको सबभन्दा माथि रहेको क्याम्प, ठूलो शक्ति एकैपटक माथि गएर लड्न नमिल्ने ठाउँ जस्ता गम्भीर प्रतिकूलता थिए । अन्ततः दुई डिभिजन फौज गएपनि एक थरिले राम्रोसँग लड्नै पाएन । पासाङजीले एकै दिनमा लडाइँ खतम गर्ने योजनाको प्रस्ताव राखे, जनार्दनजीले दुई दिन लड्ने योजनाको प्रस्ताव राखे । तर प्रचण्डजीले सके एक दिनमै जित्ने, नसके दुई दिन लड्ने मध्यपन्थी प्रस्ताव राख्नु भयो । यी र यस्ता अनेकौं गैरमाओवादी विचलित युद्धनीति र योजनाले गर्दा खारालगायतका ठाउँमा गम्भीर क्षति भयो ।
    यी र यस्ता विविध कारणहरुले गर्दा प्रचण्डजीमा प्रतिक्रान्तिकारी आत्मसमर्पणवादी विचलनले गुणात्मक छलाङ मार्दै गयो । हामी क्रान्तिकारीहरु अत्यन्त अल्पसंख्यामा भयौं । समयमै नयाँ सांस्कृतिक क्रान्तिको विस्तृत र ठोस योजना वनाएर कार्यान्वयन गर्न सकेनौं । त्यसबारेको नीति र योजना बनाएर संगठनात्मक रुपमा कार्यान्वयन गर्न खोज्ने बेलामा धेरै ढिलो भइसकेको थियो ।

    अहिले आएर संक्षिप्त समीक्षा गर्दा दीर्घकालिन जनयुद्धमा सशस्त्र विद्रोहको फ्युजनकासाथै नयाँ साँस्कृतिक क्रान्तिको पनि फ्युजन नगरी नयाँ जनवादी क्रान्ति सफल पार्न सकिन्न भन्ने हामीले मैसूर बैठकमा पेश गरेको प्रस्तावना सही सिद्ध भएको छ ।

    मूल नेतृत्वको विचलन र भ्रष्टिकरणसँगै पार्टीपंक्तिको ठूलो हिस्सा सहजै रुपले भ्रष्टिकृत भयो, दुनियाँ बदल्न हिडेकाहरु आफै बदलिएर फर्किए । माओवादी आन्दोलनको वैचारिक साँस्कृतिक धरातल कमजोर हुनुकै परिणाम यसो भएको भन्न मिल्छ ? 

    वैचारिक साँस्कृतिक धरातल भनेर केके विषयलाई भन्न खोज्नु भएको हो, स्पष्ट भएन । तात्कालिन मूल नेतृत्व र वहुमत केन्द्रिय सदस्यहरुले गलत कार्यदिशा, कार्यनीति र लक्ष्य लिएर प्रतिक्रान्ति तथा आत्मसमर्पणको बाटोमा लाग्नु र क्रमशः उनीहरुको वर्ग परिवर्तन भएर दलाल तथा नोकरशाही पूँजीवादी वर्गमा रुपान्तरण हुनु नै माओवादी आन्दोलनको विघटनको कारण हो ।

    विप्लव र वैद्य नेतृत्वको पार्टीलगायतसँग छलफलको लागि प्रस्ताव गर्नुभएको भन्ने आएको छ । छलफल कहाँ पुगेको छ ? रेस्पोन्स कस्तो पाउनुभएको छ ?

    विपक्षमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु तथा सत्ताधारी नेकपामा रहेका इमान्दार जनपक्षीय कम्युनिस्ट कार्यकर्ताहरुका बीच पार्टी एकता आवश्यक र सम्भव दुबै छ भन्ने नेकपा (वोल्शेभिक)को प्रस्ताव रहेको छ । हामीले पार्टी एकताका लागि ७ बुँदाको लिखित प्रस्ताव पनि पेश गरेका छौं । केही कमरेडहरुसँग भेटेरै छलफल भएको छ भने केही कमरेडहरुसँग विभिन्न माध्यमवाट कुराकानी भएको छ । शुरुवाती छलफल सकारात्मक छ । हामीले अरु दलहरुका शिर्ष नेताहरुबाट पनि पार्टी एकताका लागि लिखित र बुँदागत आधारपत्र सार्वजनिक गर्न हार्दिक आग्रह गरेका छौं तर त्यो भइरहेको छैन । अरु दलहरुलेपनि आफ्नो तर्फवाट पार्टी एकताका आधारहरु बुँदागत तथा लिखित रुपमा सार्वजनिक गरेमा पार्टी एकता को कसको बीचमा हुन सक्दछ भन्ने स्पष्ट हुने थियो । साथै पार्टी एकता प्रक्रिया अघि बढाउन पनि यसले सहज र वैज्ञानिक बाटो अवलम्वन गर्न प्रेरित गर्दथ्यो । हामी तपाईँको पत्रिकामार्फत पनि यो आग्रह गर्न चाहन्छौं ।

    अन्त्यमा केही भन्नु हुन्छ ? 

    तपाईँहरुको यस पत्रिकाका सबै मित्रहरुमा धन्यवाद । साथै मिशन पत्रकारिताको खडेरी परेको वेला तपाईहरुको प्रयास सफल होस् भन्ने शुभकामना ।

    • अथक मासिकको लागि खम्बु चन्दले लिएको अन्तरवार्ता
    प्रतिकृया दिनुहोस्