आज :

अखिल क्रान्तिकारीसहित ६ विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयलाई २८ बुँदे ज्ञापनपत्र बुझाए, एक महिनाको अल्टिमेटम

धनगढी । अखिल क्रान्तिकारीसहित सुदूरपश्चिममा क्रियाशील विद्यार्थी सङ्गठनहरूले आफूहरूले सुदूरपश्चिम विश्वविद्यालयलाई २८ बुँदे ज्ञापनपत्र बुझाएका छन् । विद्यार्थी संगठनहरुले एक महिनाको समयसीमा राखेर शुक्रबार ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यार्थी संगठनहरुले विश्वविद्यालयले अनलाइन कक्षाहरू सञ्चालन गरेपनि प्रभावकारी नभएको भन्दै हारलगत्तै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर पहिलो चरणमा कम सङ्ख्यामा विद्यार्थी रहेका इन्जिनियरिङ सङ्काय, विज्ञान सङ्काय र मानविकी सङ्कायमा तत्काल कक्षा सञ्चालन गरिनुपर्ने माग राखेका छन् । त्यस्तै शिक्षा र व्यवस्थापन सङ्कायमा समेत आवश्यक स्वास्थ्य सुरक्षाको तयारी गरी पठनपाठन सुचारु गर्नुपर्ने माग गरिएको छ ।

विश्वविद्यालयका उपकुलपतिलाई सम्बोधन गरेर बुझाइएको ज्ञापनपत्रमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका सेती महाकाली संयोजक विरेन्द्र बिक, नेविसंघका  निमित्त केन्द्रीय सहमहामन्त्री अच्युतराज कलौनी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष उमेश बिष्ट, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य पुष्कर जोशी, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य महेन्द्र तिरुवा र अखिल छैटौँका सुदूरपश्चिम प्रदेश सदस्य पुष्कर भट्टले हस्ताक्षर गरेका छन् ।

यस्ता छन् १८ बुँदा

१) कोरोना महामारीले पठनपाठन बन्द र अस्तव्यस्त भएको छ । विश्वविद्यालयले अनलाइन कक्षाहरू सञ्चालन गरे पनि प्रभावकारी हुन सकेनन् । तसर्थ तिहारलगत्तै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर पहिलो चरणमा कम सङ्ख्यामा विद्यार्थी रहेका इन्जिनियरिङ सङ्काय, विज्ञान सङ्काय र मानविकी सङ्कायमा तत्काल कक्षा सञ्चालन गरिनुपर्ने साथै शिक्षा र व्यवस्थापन सङ्कायमा समेत आवश्यक स्वास्थ्य सुरक्षाको तयारी गरी पठनपाठन सुचारु गर्नुपर्ने ।

२) केन्द्रीय क्याम्पसमा रहेको पुस्तकालयलाई थप व्यवस्थित गरी पर्याप्त सन्दर्भसामग्री र पाठ्यपुस्तकहरू थप्नुपर्ने साथै सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा रहेका पुस्तकालयहरू समेत व्यवस्थित गर्नुपर्ने ।

३) केन्द्रीय क्याम्पसमा अध्यापन भैरहेका सङ्कायहरूमा सङ्कायगत पुस्तकालय सञ्चालन गर्नुपर्ने ।

४) पुस्तकालयका लागि पुस्तकालयसँग सम्बन्धित B.Lib Sc/M. Lib Sc अध्ययन गरेका कर्मचारीहरूको व्यवस्था गरिनुपर्ने ।

५) केन्द्रीय क्याम्पसमा व्यवस्थित ईलाइब्रेरी सञ्चालन गर्नुका साथै अन्य सम्पुर्ण आङ्गिक क्याम्पसहरूमा समेत ईलाईब्रेरीको व्यवस्था गर्नुपर्ने ।

६) विज्ञान र इन्जिनियरिङ सङ्कायमा आवश्यक गुणस्तरीय प्रयोगात्मक सामग्रीको उचित व्यवस्थापन गर्नुपर्ने ।

७) सेमेस्टर प्रणालीअन्तर्गत हुने आन्तरिक मूल्याङ्कनमा शिक्षकहरूद्वारा मनोमानी र काखापाखाको तरिकाले अङ्क दिइने हुँदा त्यस्ता कार्यहरू नियन्त्रण गर्नुपर्ने ।

८) विगत केही वर्षयता केन्द्रीय क्याम्पसमा अध्यापन गराउने शिक्षकहरूले नै प्रश्नपत्र निर्माण गरिरहेको हुँदा अन्यत्रका विषय विशेषज्ञबाट प्रश्नपत्र निर्माण गरिनुपर्ने ।

९) विश्वविद्यालयको छात्रावास निर्माण नहुन्जेलसम्म सङ्कायगत रूपमा वैकल्पिक छात्रावासको व्यवस्था गरिनुपर्ने साथै विश्वविद्यालयका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा समेत छात्रावासको व्यवस्था गरिनुपर्ने ।

१०) केन्द्रीय क्याम्पसमा रहेको खेल मैदानलाई राष्ट्रिय स्तरका खेलकुद गराउनसक्ने मैदानका रूपमा विकास निर्माण गर्नुपर्ने साथै आवश्यक खेलकुद सामग्रीको व्यवस्थापन गरिनुपर्ने ।

११) विश्वविद्यालयका दोहोरो प्राध्यापन गर्ने प्राध्यापकहरू निर्देशिका जारी गरी अटेर गर्नेलाई कडा कारबाही गर्नुपर्ने ।

१२) विश्वविद्यालयको वार्षिक क्यालेन्डर हरेक वर्ष समयसीमाभित्र जारी गरिनुपर्ने ।

१३) विश्वविद्यालयका सम्पूर्ण गतिविधिहरू (शैक्षिक, आर्थिक, नीतिगत र भौतिक विकास निर्माण) वेबसाइटमा समयसमयमा राखिनुपर्ने ।

१४) विश्वविद्यालयमा भैरहेको भौतिक निर्माणमा भएको ढिलाइ, लापरबाही र मापदण्डविपरीत भएको कामकारबाहीबारे निर्माणको जिम्मा लिएको निर्माण कम्पनी र विश्वविद्यालयबाट संलग्न सबैलाई छानबिन गरी कारबाही गर्नुपर्ने ।

१५) विश्वविद्यालयमा हुने विभिन्न नियुक्तिहरू वरिष्ठताका साथै निष्पक्ष, योग्यता र क्षमताका आधारमा गरिनुपर्ने ।

१६) सम्बन्धित पक्षसँग यथाशक्य छिटो छलफल गरी कैलाली बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजनको प्रक्रिया छिटो अगाडि बढाउनुपर्ने ।

१७) विश्वविद्यालयको केन्द्रीय क्याम्पसलगायत सम्पूर्ण आङ्गिक क्याम्पसहरूको शुल्कमा एकरूपता कायम गर्नुपर्ने ।

१८) विश्वविद्यालयद्वारा विभिन्न सङ्कायमा प्रदान गरिँदै आएको छात्रवृत्तिमा १० प्रतिशत थप वृद्धि गरिनुपर्ने ।

१९) देश र विदेशका विभिन्न विश्वविद्यालयहरूसँगको MOE प्रक्रिया थप अगाडि बढाउनुपर्ने ।

२०) विश्वविद्यालयमा कानुन सङ्काय थप गरिनुपर्ने । मानविकी सङ्कायअन्तर्गत जनप्रशासन र स्नातकोत्तरमा अर्थशास्त्र विषय थप्नुपर्ने ।

२१) पहिलो चरणमा सम्भव हुने विभिन्न सङ्कायअन्तर्गतका विषयहरूमा MPhil / PHD को पठनपाठन सुचारु गरिनुपर्ने ।

२२) विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि शिक्षा र मानिविकी सङ्कायमा प्राइभेट ढङ्गबाट अध्ययनका लागि वार्षिक पाठ्यक्रम तयार गरी पठनपाठनको व्यवस्था गरिनुपर्ने ।

२३) विश्वविद्यालयको रजिस्ट्रार र सेवा आयोग अध्यक्षको नियुक्तिका लागि सम्बन्धित निकायसँग यथाशीघ्र पहलकदमी लिई नियुक्त गरिनुपर्ने ।

२४) विश्वविद्यालयका सम्पूर्ण सङ्कायहरूमा पठनपाठन सहज भैसकेपछि स्ववियु निर्वाचनको वातावरण तयार गरी स्ववियुको निर्वाचन गराइनुपर्ने ।

२५) विश्वविद्यालयमा समायोजन भएका आङ्गिक क्याम्पसहरूमा रहेका विभिन्न भौतिक पूर्वाधार निर्माणका समस्याहरू, शैक्षिक व्यवस्थापनका समस्याहरूका साथै शिक्षक र कर्मचारी समायोजनसँग सम्बन्धित समस्याहरू समाधान गरिनुपर्ने ।

२६) विश्वविद्यालयमा आवश्यक शिक्षक र कर्मचारीको व्यवस्थापन सेवा आयोगबाट गरिनुपर्ने ।

२७) विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरूले आफ्नो जिम्मेवारी र मर्यादाविपरीत गर्ने राजनीतिक गतिविधिमा रोक लगाइनुपर्ने ।

२८) विश्वविद्यालयलाई सम्पूर्ण रूपले विश्वविद्यालय नियमावलीअनुरूप अगाडि बढाइनुपर्ने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal