
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि मन्त्री भट्टराईको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो ।
शुक्रबार बेलुकी परीक्षणको लागि पठाएको स्वाबको शनिबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो । मन्त्री भट्टराईले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका छन् ।
मन्त्री भट्टराईले आफूलाई अहिलेसम्म हल्का ज्वरो बाहेक अरु समस्या नदेखिएको बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन्
यसैबीच बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्ते देशभर थप ५ हजार ८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।
शनिबार नयाँ संक्रमितसँगै नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ । यस्तै आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्य ६१४ पुगेको छ।