News Portal

  • नयाँ चीन स्थापना पछिका एकहत्तर वर्ष,यी हुन् उसका मजबुद आधारहरु

    काजिराम गौतम२०७७ असोज १५ गते
    ६४५ पटक

    छिमेकी मित्र राष्ट्र चीन आज अक्टोबर १ तारिखका दिन  नयाँ चीन स्थापनाको एकहत्तरौं वार्षिकोत्सव धुमधामका साथ मनाइरहेको छ। यो दिन चीनमा राष्ट्रिय दिवसकारुपमा सप्ताहव्यापी कार्यक्रमहरू आयोजनाका साथ मनाउने गरिन्छ भने सबै सरकारी र गैह्र सरकारी कार्यालयहरूमा सात दिन लामो बिदा समेत दिइन्छ।  विशेष गरी यो दिनलाई सन १९४९ अक्टोबर १ तारिखमा चीनमा गरीब किसान र मजदुर वर्गको वर्गिय उत्थानकालागि चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) को नेतृत्वमा सरकार बनाई दीर्घकालमा  समुन्नत समाजवादी समाज निर्माण गर्दै एक सम्पन्न चीन निर्माण गर्ने उद्देश्यका साथ सोको  जिम्मेवारी चिनियाँ कम्युनिष्ट पार्टीको सरकारलाई सुम्पिएको दिनको रूपमा लिइन्छ। त्यस्तै,लामो समय सम्म चीनमा रहेको सामन्ती राज्य व्यवस्थाको अन्त्य (सन १९११मा) भएपनि त्यसपछिको सरकारले विदेशी अतिक्रमणकारीहरूको प्रतिकार गर्न नसक्नु र बरु उल्टै कठपुतली सरकारको रूपमा काम गरी जनताको हित र राष्ट्रिय सुरक्षा गर्न नसकेकाले चीनका गरीब जनताको हित चिनियाँ कम्युनिष्ट पार्टीलेनैं गर्न सक्छ भनि जनतामा विश्वासको उभार र भरोसा आएको दिनको रूपमा पनि यो दिनलाई लिइन्छ।

    चीनमा कम्युनिष्ट पार्टीको स्थापना (सन १९२१मा) हुँदा सम्म सामन्ती राज्यव्यवस्थाको रुपमा रहेको राजतन्त्र अन्त्य भएको एक दशक भइसकेको थियो। तर त्यस पश्चातको सरकार सामन्ती राज्यव्यवस्थाका अवशेषका रुपमा रहेका जमिन्दारी र अन्य कुप्रथाहरू हटाउन सफल थिएन।यसै बीच लामो समयसम्म विदेशीहरूको अपमान र अतिक्रमणको डटेर प्रतिकार गर्न नसक्नु र अधिकाधिक गरीव जनताको जीवनस्तर उकास्न नसक्नु त्यसबेलाका चीनका मूख्य चुनौती थिए। यी सबै चुनौतीको सामना गर्ने उद्देश्यकासाथ स्थापित चिकपालाई जनताले विस्तारै-विस्तारै बिश्वास गरे र त्यसैको परिणाम स्वरुप चिकपाले वर्गिय उत्थानको नेतृत्व गर्यो र सन १९४९ मा कमरेड माओको नेतृत्वमा नयाँ चीन अर्थात जनवादी गणतन्त्र चीनको स्थापना गर्यो। त्यो बेला चीन सरकारसँग ठूलो चुनौती विद्यमान थियो। विशेषत: आर्थिक, सामाजिक र साँस्कृतिक चुनौती। जसकालागि चीनले खासगरी सन १९५३ सम्म आफ्नै बुताले ठोस कार्यक्रमहरूको तर्जुमा गर्यो। त्यो बेला चीनलाई तत्कालिन सोभियत संघ र पूर्वी युरोपका समाजवादी मुलुकहरू बाहेक खासै अरू देशले सहयोग पनि गर्दैन थिए ।

    तर चीन,आफ्ना आवश्यकता पूर्तिकालागि एक पछि अरू योजना बनाउदै गयो र सन १९६३ मा तत्कालिन सोभियत संघमा भएको नेतृत्व परिवर्तन सँगै चीन केही समय एकपटक बाँकि विश्व जगतबाट एक्लियो र सन १९६६-७६ सम्म साँस्कृतिक क्रान्तिताका आर्थिक प्रगतिका दृष्टिले एक पछौटे देशका रुपमा देखापर्यो। तर हाल चीन एक एशियाली इकोनोमिक जायन्टका रुपमा स्थापित भइसकेको छ भने यसले विश्वकै तेस्रो ठूलो अर्थतन्त्रको स्थान हासिल गरेको छ । त्यसैले चीनको वर्तमान अवस्थालाई हेर्दा यसले अहिले सम्म हासिल गरेका योजना र उपलब्धिहरू क्रमश: योजनावद्ध समाजवादी  अर्थव्यवस्था सन १९४९-७८, आर्थिक विकासको उच्चवृद्धिदर,अल्पआपूर्तिबाट पर्याप्तता तर्फको अवस्थामा परिवर्तन, पूर्वाधार विकासमा देखिएका बाधालाई अवसरमा परिवर्तन, विदेशी पूँजी निवेशकोलागि खुलापन, खाद्यान्न र लत्ताकपडाको सीमितता देखि पर्याप्तताको अवस्था, र न्यून सामाजिक विकास बाट समञ्वित सामाजिक आर्थिक विकासका रुपमा लिन सकिन्छ।

    चीनले हालको यो एकहत्तरौ वर्षसम्ममा हासिल गरेको उपलब्धिलाई आधार प्रदान गर्न सन १९४९-७८ सम्म योजनावद्ध समाजवादी अर्थव्यवस्था अपनायो र सो अवधिमा आँफु कृषिमा आधारित अर्थतन्त्र भएको देशबाट प्रारम्भिक औद्योगिक देशकोरुपमा परिणत भयो।अभाव, गरिवी र भोकले ग्रसित समाज पर्याप्त भोजन प्राप्त गर्ने र हुनेखाने समाजमा बदलियो। सन १९४९ मा विश्वको ४० औं स्थानको राष्ट्रिय आर्थिक स्थिति रहेको चीन हाल तीव्र विकासको कारण विश्वकै तेस्रो स्थानमा उक्लिएको छ र हाल यसै सँग सबैभन्दा बढी विदेशी मुद्रा संचिती पनि छ।

    नयाँ चीन स्थापना भएको बेला करिव १०% धनी र भूमिपतिहरूसँग देशको ७०% खेतीयोग्य जमिन र ९०% किसानहरूसँग ३०% जमिन को स्वामित्व थियो,जुन नेल्सन मण्डेला दक्षिण अफ्रिकामा जेलमुक्त भएको बेलाको अफ्रिकाको २०% गोरा सँग ८०% र ८० % काला सँग भएको २०%को भू-स्वामित्वसँग झण्डै मिल्दोजुल्दो थियो। चीनले सन १९५०-५२ मा उक्त सामन्ती भू-स्वामित्व प्रणाली अन्त्य गर्यो।जसले  किसानहरूलाई कृषि उपज वृद्धिगर्न हौसला प्रदान गर्यो र त्यसले औद्योगिक उत्पापादनका लागि आधार खडा गर्यो। हाल चीन म्यानुफ्याक्चरिङ्ग इण्डस्ट्रिजको उत्पादन परिमाणको आधारमा निकै उच्च स्थानमा छ। हाल चीनले उत्पादन प्रविधी र हेभी मेसिनरीको प्रयोगबाट उच्च आर्थिक वृद्धिदरलाई कायम राखेको छ।यसको औद्योगिक उत्पादनको कुरै छाडौं, यसले कृषिको आधुनिकीकरण मार्फत विश्वको १०% खेती योग्य जमिनबाट विश्वकै २२% जनताको भरणपोषण गरेको छ।

    पूर्वाधार विकास र बाधालाई अवसरमा परिणत गर्ने तर्फ चीनले विगत सत्तरी वर्षमा उर्जा,यातायात र सूचना प्रविधीतर्फ उल्लेख्य प्रगति गरेको छ। उर्जा उत्पादनमा चीन विश्वकै दोस्रो स्थानमा छ भने रेलमार्ग, जलमार्ग र हवाई मार्गको विकाससमेत उल्लेख योग्य छ। साथै चीनमा हुलाक र पोष्टल सर्भिज अतिनै विश्वसनीय छ।

    विदेशी लगानी आकर्षित गर्नका लागि चीनको बन्दको स्थितिबाट खुलापन (१९७८ देखि)को अवस्थासम्ममा चीनले विश्वका विभिन्न देश र क्षेत्रबाट पर्याप्त पूँजी निवेश गराएर सुरुमा चीनका पूर्वी समुद्र तटिय क्षेत्रका शहरहरूमा विशेष आर्थिक क्षेत्र स्थापना गरेर ठूलो आर्थिक उन्नति गर्नुका साथै त्यसको सकारात्मकतालाई भित्री प्रान्तिय सदरमुकाममा समेत स्थापित गरेको छ। खुलापनको नीति लागू हुनु पूर्वनै चीनले अगाडि सारेको चार आधुनिकीकरण अन्तर्गत कृषि,उद्योग,प्रतिरक्षा एवम  विज्ञान र प्रविधीको विकास सम्वन्धि कार्यक्रमलाई समेत खुलापनले मलजल गर्यो । जसको परिणाम स्वरूप  चीन आज समुन्नत समाज निर्माणको लक्ष्य पूरा गर्ने दृढ संकल्पका साथ अगाडि बढेको छ। रोचक कुरा के भने चिनियाँहरूका सपनाहरू दिनानुदिन द्रुतगतिमा फेरिइरहेकाछन र त्यसैका आधारमा आम्दानी पनि बढ्दो छ। सन १९५०-७०को समयमा चीनका सहरी क्षेत्रका मानिसहरूमा साइकल,हातेघडी,लुगा सिउने मेसिन र रेडियो हुनु गर्वको विषय हुन्थ्यो, जसकालागि करिब सय  चिनियाँ युआनको बन्दोबस्त गर्नु पर्थ्यो जुन सबैकालागि कठिन थियो । तर ८० को दशकमा यो धारणा परिवर्तन भयो र मानिसका आवश्यकताहरू क्रमश: टेलिभिजन, लुगा धुने मेसिन, रेडियो क्यासेट रेकर्डर, रेफ्रिजरेटर, इलेक्ट्रिक फ्यान र क्यामेरा बन्न लागे। यी आवश्यकताहरू अघिल्लाभन्दा करिब दश गुणा महंगा थिए। पछि ९० को दशकमा मानिसहरू कम्प्युटर,कार र नीजि आवास तर्फ आकर्षित भए र उनीहरूको क्रय क्षमता समेत क्रमश: बढिरहेकै छ।

    अर्का तर्फ,चीनले यो लामो समयमा उसको समग्र न्यून सामाजिक स्तरलाई शैक्षिक उपक्रमको विकास,मेडिकेयर र विज्ञान प्रविधीको विकास एवम अन्तरीक्ष विज्ञानको साथै साँस्कृतिक विकासको माध्यमबाट समन्वित सामाजिक आर्थिक विकास तर्फ धकेलेको छ। तर यी उपक्रमहरूलाई नियाल्दै गर्दा चीनले केही कमजोरी पनि गरेको देखिन्छ। उदाहरणको लागि चीनले साँस्कृतिक क्रान्तिताका ठूलो आर्थिक पछौटेपन भोग्यो भने साँस्कृतिक धरोहरमा भएको आक्रमणले समाजलाई केही पछि धकेल्यो। त्यस्तै माओको नेनृत्वले पार्टीको साङ्गठनिक जिम्मेवारी पाएकाहरू मध्ये कसैकसैलाई जिम्मेवारीमुक्त बनाउने र श्रम शिविरमा पठाउने काम पनि गर्यो। जसले समाजमा पार्टी र  नेतृत्व प्रतिको निष्ठामा केही आँच आयो। हालका चिनियाँ राष्ट्रपति सि चीनफिङ्गका पिताजी समेत माओको पर्जिङ  (purging) मा पर्नु भएको थियो। तर माओ कालको पछौटेपनलाई कमरेड त॔ग स्याओफिंगले आर्थिक विकासको नयाँ ढाँचा प्रस्तुत गरी सफल कार्याञ्वयन मार्फत सच्याइदिनुभयो र आँफु एक कुशल प्यारामाउन्ट लिडरको रुपमा स्थापित हुनुभयो। चीनमा कमरेड तंग कै निर्देशनमा जुन ४,१९८९ को थ्यानआनमन घटना साम्य भयो। वाह्य जगतले यसलाई चीनको एक नराम्रो कदम भनेर टिप्पणी गरे तर स्वयम चीनले यसलाई देश र पार्टीको सर्वोच्चता भन्दै कर्तव्य बिनाको अधिकारको कुनै महत्व नहुने भनि त्यस घटनाई समाधान गर्न गरिएको कदम ठीक भएको महसुस गर्यो। कमरेड तंगले चीनमा धेरै बहुआयामिक नेतृत्व प्रदान गर्नुभयो। वहाँले राजनीतिक, आर्थिक र वैदेशिक नीति समेत तय गर्नु भयो।

    अन्तर्राष्ट्रिय जगत सँग शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तमा आधारित सम्बन्ध कायम गर्ने गरेको चीनले आफ्नो गरिमालाई उचो बनाउन एक चीन नीतिलाई अघि बढायो र आँफूसँग कुटनीतिक सम्बन्ध कायम गर्ने देशलाई उपरोक्त नीति मान्नुपर्ने बनायो। सन १९७२ सम्म राष्ट्र संघको सदस्य रहेको ताइवानको सट्टामा आफ्नो उपस्थिति जनायो, जसलाई अमेरिकाले समेत जनवरी १,१९७९ मा कुटनीतिक मान्यता दियो।  लामो समय सम्म पराइको उपनिवेश भएका हंगकंग र मकाओ उपर आफ्नो सम्प्रभुता कायम गर्न चीनले एक देश दुई व्यवस्थाको नीति अघि सारेर क्रमश: १९९७ र १९९९ मा ती भूभाग उपर आफ्नो स्वामित्व हासिल समेत गर्यो तर उक्त दुई व्यवस्थाको प्रावधान पचास वर्ष सम्म मात्र रहने उल्लेख भएको हुनाले त्यस पछि के हुन्छ भन्ने अन्योल नै छ। असीको दशक सम्म चीनमा कमरेड तंगले थुप्रै नीतिहरू अगाडि सार्नुभयो तर हाल आफ्नो हातमा सत्ताको बागडोर सम्हालेका राष्ट्रपति सी ले चीनमा एक्काइसौं शताव्दीकालागि आठ बुँदे कुटनीतिक दर्शन प्रतिपादन गर्नुभएको छ।

    जसमा चीनले आफ्नो प्राधान्यता नखोज्ने,शक्ति राजनीतिको खेल नखेल्ने र अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने ,सबै साना -ठूला देशलाई समान व्यवहार गर्ने,अन्तर्राष्ट्रिय मामिलाहरू गुण र दोषका आधारमा निर्णय गर्ने, राष्ट्र संघको बडापत्रमा उल्लेखित मान्यताका आधारमा देशहरू सँग सम्बन्ध कायम गर्ने कुराको समर्थन गर्ने,अन्तर्राष्ट्रिय  विवादहरू समाधानार्थ शान्तिपूर्ण छलफल र वार्ताको विधी अवलम्बन गर्ने,आम विनाशकारी हतियारहरूको प्रसार र आतंककारी गतिविधीको विरोध गर्ने एवम विविधीकृत सभ्यतायुक्त संसारको सम्मान गर्ने जस्ता विषयहरू सामेल छन। त्यस्तै राष्ट्रपति सी ले सन २०१३मा आफ्नो विदेश नीतिको सेन्टरपिसको रुपमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) प्रस्तुत गर्नु भएको छ। यसको उद्देश्य एशिया, अफ्रिका, युरोप,मध्य पूर्व र अमेरिका महादेशमा समेत आर्थिक विकास र अन्तर-क्षेत्रिय कनेक्टिभिटीलाई बढावा दिनु हो। यो कार्यक्रमबाट विश्वका ६०% जनता लाभाञ्वित रहने अनुमान गरिएको छ। यो कार्यक्रमलाई विश्वका १५० जति देशले समर्थन गरेका छन भने कसैले यसलाई ऋण जाल फैलाई  विश्वमा चीनको प्रभाव बढाउने योजनाका रुपमा लिएका छन।

    सन २०१३ को मार्चमा सी चीनफिंग राष्ट्रपति भएपश्चात  समृद्ध चीन निर्माणका लागि वहाँले प्रस्तुत गर्नुभएका योजनाहरूमध्ये २०१४ मा ल्याइएको चार व्यापक रणनीति नाम रहेको कार्यक्रमले मध्यम स्तरको समुन्नत समाज निर्माण गर्ने, सुधारको कार्यक्रमलाई गहन बनाउने,कानून अनुसार सत्ता सञ्चालन गर्ने र कडाइका साथ पार्टी सञ्चालन गर्ने रणनीतिक कार्यक्रमले सी को उचाई थपेको छ। त्यस्तै वहाँले २०१२ को नोभेम्बरमा पार्टीको महासचिव भए लगत्तै अघिसार्नुभएको सी विचारधाराका लक्ष्य सूचीहरू (जसलाई चिनियाँ सपना भनिएको छ) मा दुई शताब्दीक योजना अघि सारिएको छ। त्यस मध्येको पहिलो चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सयौ वर्ष सन २०२१ मा गत सत्तरीको दशकमा कमरेड तंगले उल्लेख गरेको स्याओकांग समाज अर्थात मध्यम स्तरको समुन्नत समाज निर्माण गर्ने र सन २०१० को प्रतिव्यक्ति आयको आँकडाको दुईगुणा स्तर हासिल गर्ने रहेको छ भने दोस्रो नयाँ चीन स्थापनाको सयौ वर्ष सन २०४९ मा एक सबल, मजबुत, लोकतान्त्रिक, सभ्य, सदभाव एवम सामञ्जस्यपूर्ण आधुनिक समाजवादी देश बन्ने योजना रहेको छ। आफ्ना दीर्घकालिन योजनाका लक्ष्यहरू प्राप्तिकालागि राष्ट्रपति सी ले चीनको संविधानमा आफ्नो नाम सहित विचारधाराहरू उल्लेख गर्न २०१७ को अक्टोबरमा संविधान संशोधन समेत  गराउनुभएकोछ भने २०१८ को मार्चमा राष्ट्रिय जनकंग्रेस मार्फत राष्ट्रपतिको दुई वर्षे कार्यकाल रहने प्रावधान हटाएर आफ्नो दीर्घकालिन  नेतृत्वको बाटो सहज गराउनु भएको छ।

    लामो समयमा चीनले विभिन्न आर्थिक,सामाजिक, राजनीतिक, वैदेशिक,वैज्ञानिक र थुप्रै अन्य प्रकारका सफलता हात पार्नुका साथै कमजोरीबाट पाठ सिकेर अघि बढिरहेको छ। मूलत: ती मूलभूत विषयलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ। सन १९६२ मा चीन-भारत सीमा विवाद, १९६६-७६ मा साँस्कृतिक क्रान्ति, १९७६ मा कमरेड माओको मृत्यु र तत्पश्चात कमरेड तंगको उदय, जनसंख्यावृद्धि रोक्न ल्याइएको एक सन्तान नीति (१९७९), ओपन डोर पोलिसी (१९८६-९०), साङहाई स्टक मार्केट स्थापना (१९८९), विश्वको तेस्रो ठूलो अर्थतन्त्र हुने अवसर (१९९२), च्याङ चमिनको नेतृत्व र विश्वकै ठूलो तीन घाँटी परियोजना सुरू ( १९९३) -सम्पन्न २००६, कमरेड तंग को मृत्यु र हंगकंग चीनमा समाहित (१९९७) एवम मकाओ चीनमा समाहित (१९९९), हु चीनथाओ को नेतृत्व एवम चीन र हंगकंगमा सार्स (SARS) को महामारी एवम मानव सहित ( याङ लिवेई -अन्तरीक्ष यात्री)को अन्तरीक्ष यान प्रक्षेपण(२००३), दोस्रो र तेस्रो मानव सहितको यान प्रक्षेपण (२००५ र२००८), पैचिंगमा २००८ ओलम्पिक,स ी पार्टी महासचिव ( २०१२) र राष्ट्रपति (२०१३),एक सन्तान नीतिको अन्त्य (२०१५), सन १९९० देखि यताको सबैभन्दा कम आर्थिक वृद्धिदर -६.७% (२०१६), सी को नाम र विचारधारा संविधानमा उल्लेख एवम सी को कमरेड माओको समान राजनीतिक उचाई (२०१७) र  राष्ट्रपतिको दुई अवधि कार्यकालको व्यवस्था अन्त्य ( २०१८) एवम हुपेई हुँदै विश्वभर कोभिड -१९ कोरोना भाइरसको प्रकोप जस्ता घटनाहरूलाई  नयाँ चीनको स्थापना पश्चात हाल सम्मको एकहत्तरौं वर्ष सम्मका मूलभूत विषय जसले चीनको सफलताकालागि अवसर र चुनौती दुबै सिर्जना गरेको छ भनेर ठान्न सकिन्छ। यस परिप्रेक्षमा चीनलाई चिनियाँ कम्युनिष्ट पार्टीले सफल नेतृत्व प्रदान गरी समुन्नत आधुनिक समाजवादी देश बन्ने बाटो तर्फ डोहोर्याइरहेको छ।

    प्रतिकृया दिनुहोस्