आज :

कमलबजारका कोरोना संक्रमितका गुनासोः काचो मटर-आलु खानुपर्ने, प्रहरी र स्वास्थ्यकर्मीले अपराधीलाई जस्तो व्यवहार गर्छन्

अछाम । जिल्लामा कोरोना भाइरसका बिरामी थपिँदै गएका छन् । शुक्रबार थप २ सय ९ जनामा संक्रमण भएको पुष्टि भएको थियो भने शनिबार ३७ फेरि थपिएसँगै ५८७ जनामा कोरोना संक्रमण भएको विवरण सार्वजनिक भएको छ । संक्रमितमध्ये २४ जना कमलबजारमा रहेको कमलबाजार नगरपालिकाको आइसोलेसनमा छन् । नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत खड्क विष्टका अनुसार आइसोलेसनमा २५ जना कोरोना पोजेटिभ मध्ये एक जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमितका अनुसार कमलबजारमा रहेको नगरपालिकाको आइसोसेलन सेन्टर अस्तव्यस्त र लथालिंगको अवस्थामा छ । कोरोना रोकथाम र नियन्त्रण भन्दा पनि झन् फैलिने भन्दै आइसोलेसनमा बसेकाहरु चिन्तित छन् । कतिपय आरडिटी पोजेटिभ भएर आइसोलेसनमा राखिएका छन्, कतिपयको पिसीआर रिपोर्ट आउन बाँकी छ भने धेरैको पिसीआरको लागि स्वाब समेत पठाइएको छैन । आइसोलेसनको व्यवस्थान निकै भद्रगोल अवस्थामा रहेको र थप कोरोना फैलिन डर लाग्न थालेको परीक्षण नगरिएकाहरु बताउँछन् । संक्रमण पुष्टि भएका र परीक्षण नगरिएकाहरुले एउटै ट्वाइलेट प्रयोग गर्न बाध्य छन् । खाना पनि गुणस्तरहिन भएको एक संक्रिमतले अनलाइन डबलीसँग भने ।

कमल (परिवर्तन गरिएका नाम) आइसोलेसनमा बसेको ४४ दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आयो । भारतबाट जेठको अन्तिममा घर आएका नगरपालिकाको वडा नम्बर ५ का कमल १५ दिन क्वारेन्टिनमा बसे । आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि पिसीआर परीक्षणको लागि नगरपालिकाको कमलबजारमा रहेको आइसोलेनमा पठाइयो । असार १ गते कमलको स्वाब संकलन गरि पिसीआर परीक्षणको लागि पठाइयो । १९ दिनपछि असार १९ गते कमलले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी पाए ।

कोरोना संक्रमण पुष्टि भएपनि आफूलाई अहिलेसम्म खोकी समेत नलागेको कमल बताउँछन् । बरु आइसोलेसनको बसाई, खानपानले पखला लाग्ने डर भएको उनले बताए । मेषले काचो केराउ र आलु खुवाउने भएकोले पखलाको डर लाग्ने गरेको बताए । “रिपोर्ट पोजेटिभ आएको छ भन्ने सुनियो तर हामीलाई त्यस्तो कुनै लक्षण छैन । जस्तो पहिले थियौं, अहिले पनि उस्तै छौं तर यहाँको बसाई र खानपानले संक्रमण झन फैलिने र पखाला लाग्ने डर छ” कमलले भने । उनले विहान काचो मटर, गुणस्तरहिन दाल, काचो आलुको तरकारी खुवाउने गरेको गुनासो गर्दै भने, “विहान काचो मटर खुवाउछन्, खानासँग काचो आलुको तरकारी र खानै नसकिने दाल खान बाध्य छौं ।”

प्राप्त मात्रामा तातोपानी समेत नदिने गरेको कमलले बताए । तताएको पानीमा चिसो पानी मिलाएर दिनमा एक जग मात्रै दिने गरेको उनले बताए । माग्दा मोज गर्न आएको हो र ? ठिकै खानु भन्ने जवाफ आउने गरेको कमलले गुनासो गरे । पटकपटक साबुन पानीले हात धुनु परैको कुरा ट्वाइलेट प्रयोग गर्ने बेला हात धुने साबुन नभएको उनले बताए । कोरोनासँग लड्न भनिएको तर व्यस्थापन लथालिंग भएको भन्दै आइसोलेसनमा भएकाहरुले गुनासो गरेका छन् ।

कोरोना संक्रमितले तातोपानी, औषधि माग्दा सुरक्षामा बसेका प्रहरीले धम्की दिने गरेको गुनासो पनि संक्रमितको छ । “काचो मटर र आलुले पेट गडबड भएको र भान्सेलाई राम्रोसँग पकाउनुस्, तातोपानी माग्दा सुरक्षामा बसेका प्रहरीले गोली ठोक्ने आदेश छ भन्दै धम्की दिने गरेका छन् । चुपचाप नबसे जे पनि हुन सक्ने भन्ने प्रहरीले धम्की दिन्छ” कमलले भने । सामान्य कुरामा पनि प्रहरीले गोली ठोक्ने आदेश छ भन्दै धम्की दिने गरेको बताउँदै एक अर्का संक्रमित भन्छन्–“मेषमा खान खुवाउने जिम्मा लिएका व्यक्तिको मनपरी छ, अवस्थामा बुझ्न अरु कोही आउँदैनन्, को सँग कुरा राख्ने ? केही कुरा गरेपछि प्रहरीले गोली ठोक्ने आदेश छ भन्दै धम्की दिन्छ । हामी जघन्य अपराध गरेर यहाँ आएको जस्तो महशुस गरेका छौं ।” भान्सेलाई राम्ररी पकाएर दिनुस् भन्दा प्रहरीले उल्टै गुलेलीमा ढुंगा हालेर हान् भन्दै भान्सेलाई सिकाउने गरेको उनले बताए ।

त्यसैगरी उपचारको लागि भनेर खटिएका स्वास्थ्यकर्मीसँग औषधि माग्दा पनि संक्रमितले त्यस्तै व्यवहार भोग्दै आएका छन् । स्वास्थ्यकर्मीले औषधि माग्दा मरेपछि खाल्डोमा पुरिदिउला के चिन्ता लिन्छस् भन्ने गरेको संक्रमितले बताएका छन् । “कोरोना पोजेटिभ भएपनि हामीलाई त्यस्तो कुनै लक्षण छैन । खानापान ठिक छैन, पेट दुख्छ, पखाला चल्छ, औषधि माग्दा स्वास्थ्य हेर्ने जिम्मा लिएका स्वास्थ्यकर्मीले खाल्डोमा पुरिदिउला भन्छन्” संक्रमित कमलले बताए । स्वास्थ्यकर्मीहरुले अमानवीय व्यवहार गरेको बताए ।

नगरप्रमुख ओमप्रकाश विष्ट एकदुई पटक आएर विकास खर्च कटाएर तपाईँहरुको लागि खर्च गरिएको छ भनेको तर यहाँ आफूले त्यो अनुभूति नगरेको संक्रमितहरु बताउँछन् ।

कार्यकारी प्रमुख विष्टले आफूहरुले साधान स्रोतले भ्याएसम्मको गरेको दाबी गरे । कोरोना संक्रमितले गुनासो गर्नु स्वाभाविकै भएको बताउँदै उनले खाना र बस्ने सबै व्यवस्था गरेको बताउँदै विष्टले भने, “कुनै दिन केही समस्या भयो होला, अपुग पनि भयो होला तर हामीले सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेका छौं ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal