आज :

‘ओलीजीले (नेकपा) लाई फुटाउन सक्दैनन्, चोइटिएर जाने सम्भावना बढी छ’

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध फुटको अवस्थामा पुगेका छन् । अब औपचारिक रुपमा घोषणा हुन मात्रै बाँकी रहेको (नेकपा)कै नेताहरु बताउँछन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएर अब सँगै जान सकिने अवस्था नरहेको बताए । एक मन्त्रीका अनुसार ओलीले आफूलाई ठिक मान्नेले साथ दिन र नमान्नेलाई अर्को कित्तामा जान प्रष्ट रुपमा भनेका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई (नेकपा) एक रहने निकै कम सम्भावना रहेको समेत बताउँदै आफूलाई ठिक लाग्नेले साथ दिन र ठिक नलाग्नेले अर्कोतिर जान भनेको सार्वजनिक भइसकेको छ । तर, ओलीले आफूले पार्टी फुट्न नदिन अथक प्रयास गरिरहेको समेत बताए । ओलीले मन्त्रीहरुसँग आफूलाई सहयोग गर्न समेत भनेका छन् ।

अर्को गम्भीर कुरा, राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी गरेको जानकारी पाएर आफूले संसद अधिवेशन अन्त्य गरेको पनि बताए । अर्का अध्यक्ष प्रचण्ड र नेता माधव कुमार नेपाल समूहले महाभियोग प्रस्ताव ल्याउन लागेको आफूलाई सूचना आएको ओलीको दाबी थियो । यद्पी यसको (नेकपा)का अन्य नेताहरुले खण्डन गरिसकेका छन् ।

त्यसैगरी ओलीले आफूलाई हटाउन भारत लागि परेको र त्यसमा पार्टीकै नेताहरुले साथ दिएको पनि बताए । उसो त ओलीले यसअघि नै सार्वजनिक रुपमै आफूलाई भारतले हटाउन खोजेको भनेका थिए । तर, अर्का अध्यक्ष प्रचण्डले भारतले नभएर आफूले राजिनामा मागेको बैठकमै जवाफ दिइसकेका थिए ।

प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर पार्टी फुट्न लागेको संकेत गरेपछि हामील शनिबार राति नै (नेकपा)का एक नेतासँग सम्पर्क गरेका थियौं । उनले प्रधानमन्त्री ओली फुटको दिशातिर अगाडि बढेको आरोप लगाए । “यहाँका (ओली) अभिव्यक्ति र पार्टी कमिटीका भएका छलफललाई जसरी छताछुल्ल बनाउनुभयो, त्यो भनेको राम्रो संकेत होइन । बैठकमा आलोचना हुँदा कमजोरी स्वीकार गर्ने की सार्वजनिक गर्ने ?” ती नेताले अनलाइन डबलीसँग भने । उनले ओली पार्टीभित्रको सानो समूहको घेरामा रमाएको र उसैको उक्साहटमा लागेकोले आरोप समेत लगाए ।

वैधानिक रुपमा पार्टी फुटाउने हैसियत ओलीसँग नभएको भन्दै उनले भने, “सिंगो पार्टी फुटको विपक्षमा छ, ओलीजीले वैधानिक रुपमै पार्टी फुटाउन सक्दैनन् । त्यसैले अध्यादेशको साहारा लिन खोजिरहेका छन् । एउटा सानो समूह लिएर चोइटिने सम्भावना छ ।” पूर्वएमाले र पूर्वएमाओवादी दुबैले फुटबाट हुने पीडा भोगिसकेकोले अहिलेसम्म ओलीलाई साथ दिँदै आएका नेताहरु त्यसको पक्षमा नभएको उनले बताए ।

प्रधानमन्त्री ओलीले संसद भंग गरेर मध्यावधितिर जाने सम्भावना कति छ ? भनि सोधेको प्रश्नमा उनले भने, “यो ओलीले थेग्न सक्दैनन् । तर, अनैतिक र अराजनैतिक तरिकाले सोच्ने हो भने एउटा विकल्प हो । यदि मध्यावधि घोषणा गरियो भने सबैभन्दा ठूलो क्षति नै ओलीजीलाई हुन्छ ।” उनले राष्ट्रपतिलाई सक्रिय गराउने सम्भावना पनि रहेको तर त्यो अर्को निरंकुशता भएको बताउँदै त्यो नेपाली जनताले खारेज गरिदिने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal