आज :

प्रधानमन्त्री ओलीले भने- गुरिल्लाहरुसँग अब धेरै दिन बस्न सकिँदैन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको डिलमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फुटको लागि तयार भएको नेताहरुले बताएका छन् । पार्टीको स्थायी समिति बैठकमा ओलीको चर्को आलोचना गर्दै नेताहरुले राजिनामा मागेपछि त्यो निष्कर्षमा पुगेको बताइएको छ । स्थायी समिति बैठकको पहिलो दिनमा एक घण्टा आफ्ना कुरा राखेर बाहिरिएका थिए । प्रधानमन्त्री ओली विहीबारसम्म आइपुग्दा सबै गरी डेढ घण्टाभन्दा बढी नबसेको एक स्थायी समिति सदस्यले बताएका छन् । प्रधानमन्त्री ओली अर्का अध्यक्ष प्रचण्ड र नेता माधव कुमार नेपालले भारतसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको बताउँदै आएका छन् । उनले सार्वजनिक रुपमै भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको त्यसमा पार्टीकै नेताहरु लागेको बताएका थिए । त्यसको प्रचण्ड .समूहका नेताहरुले आपत्ति जनाएका छन् । बैठकमा प्रचण्डले भारत नभएर आफूले राजिनामा मागेको बताएका थिए ।

(नेकपा)का ४४ सदस्यीय स्थायी समितिमा ३१ जना नेताहरु ओलीको विरुद्धमा छन् । उनीहरु ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिनुपर्ने अडानमा छन् । सुरुमा मन्त्रीहरुले ओलीलाई साथ दिँदै आएका थिए । तर, लेखराज भट्ट बाहेक पूर्वमाओवादीबाट मन्त्री भएका चार र नेता नेपाल समूहका दुई मन्त्रीले पनि ओलीका विपक्षमा उभिएका छन् । अहिलेसम्म मुख नखोलेका गृहमन्त्री रामबहादुर थापाले पनि प्रचण्ड–नेपालको गुटको बैठकमा सहभागी हुन थालेका छन् । उनले ओलीलाई साथ दिएको भन्ने भनाईको खण्डन समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले हतार हतारमा संसद बैठक अन्त्य गर्ने निर्णय गरेका छन् । संसद बैठक दुई कारणले अन्त्य गरेको नेताहरु बताउँछन् । प्रचण्ड समूहका एक नेताका अनुसार अविश्वासको प्रस्ताव आउने डर र अध्यादेश ल्याउन ओलीले संसद बैठक अन्त्य गर्ने निर्णय गरेका हुन् ।

पार्टी एकतासँगै अल्पमतमा परेका ओलीसँग पार्टी फुटाउन आवश्यक संख्या नपुगेकै कारण अध्यादेश ल्याउन लागेका हुन् । नयाँ संविधानले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । ओलीसँग पार्टी र संसदीय दल दुबैमा ४० प्रतिशत नपुगेकै कारण अध्यादेश साहारा लिन पुगेका हुन् । ओलीसँग ४० प्रतिशत पुग्न संसदीय दलमा ६ जना सांसद अपुग छ भने पार्टीमा भने १५ जना केन्द्रीय सदस्यको कमी । संसदीय दलमा ४० प्रतिशत पुर्याउन सक्ने सम्भावना रहेको भन्दै ओली निकटका नेताहरुले अध्यादेश ल्याउन सुझाव दिइरहेका छन् ।

विहीबार विहानै केही नेताहरुसँग छलफल गरेर राष्ट्रपति भवन सितल नीवास पुगेका थिए । फर्के लगत्तै मन्त्रिपरिषद् बैठक बोलाए । त्यसपछि विभिन्न चरणमा बलुवाटारमा छलफलमै व्यवस्त रहे । विहीबार भएका छलफलमा पार्टी कसरी विभाजन गर्ने भन्नेमै केन्द्रीय थियो । ओलीले केही कानुनविद्सँग पनि परामर्श गरेको बताइएको छ । ओली समूहका एक नेताका अनुसार विहीबारको छफलमा प्रचण्ड–नेपाल समूह राजिनामाको मागबाट पछि नहटे पार्टी विभाजन हुने बताउँछन् । ओलीले पनि त्यही संकेत गरेको उनले बताए । राजिनामाको मागबाट पछि हटेर सरकारलाई सहयोग नगरे पार्टी विभाजनको विकल्प नभएको ओली समूह निष्कर्षमा पुगेको छ । प्रतिपक्षजस्तो गरेर सरकारको विरुद्धमा लाग्ने भए एउटै पार्टीमा बस्नुको औचित्य नहुने ओली समूहको निष्कर्ष छ ।

“प्रतिपक्षभन्दा पनि बढि सरकारविरुद्ध लाग्ने भए एउटै पार्टीमा बस्नुको के अर्थ ? यदि उहाँहरु पार्टीको नेतृत्वको सरकारलाई असहयोग गर्ने, विदेशीसँग मिलेर सरकार ढाल्न लाग्ने हो भने सँगै बस्नुको अर्थ छैन । आआफ्नो बाटो लाग्नु पर्ने अवस्था आउन सक्छ” ओली समूहका एक नेताले भने । पछिल्ला दिनमा ओलीले गरेका छलफलमा सहभागी समेत हुँदै आएका ती नेताले माओवादीसँग पार्टी एकता भएपछि समस्या आएको दाबी समेत गरे । उनले भने,“माओवादीहरुसँग पार्टी एकता गरेपछि समस्या आएको हो । त्यो भन्दा पहिले एमाले अनुशासित थियो । अहिले अराजाक भएको छ । जसले जे बोले पनि हुने अवस्थामा आएको छ ।

प्रधानमन्त्री ओलीले पनि पूर्वएमाओवादीसँगको एकतापछि पार्टीमा समस्या आएको गुटको बैठकमा बताउँदै आएका छन् । ओलीले बैठकमा पूर्वमाओवादीलाई ‘गुरिल्ला’ शब्द प्रयोग गर्ने गरेका छन् । उनले गुरिल्ला पार्टीमा मिसिएपछि समस्या आएको भन्दै उनीहरु नसच्चिए सँगै बस्न नसकिने बताए । “गुरिल्लाहरु एमालेको घरमा पसेपछि समस्या आएको छ । कि गुरिल्लाहरुलाई निकाल्नुपर्छ कि हामीले अर्को घर लगाउनुपर्छ, सँगै बस्न सकिँदैन” ओलीको भनाई उदृद्ध गर्दै ती नेताले भने । नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुलाई संकेत गर्दै ओलीले केही साथीहरु गुरिल्लाको पछि लागेको भन्दै समयमै नबुझे दुःख पाउने समेत ओलीले बताउँन थालेका छन् । पूर्वमाओवादी नेताहरु आफ्नो घर भत्काएर एमालेको घर भत्काउन लागेको ओलीले गुटको बैठकमा बताउने गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal