
काठमाडौँ । नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लकडाउनका घोषणा गरेको एक सय दिन पूरा भएको छ । एक सय दिन पूरा हुँदा पनि कोरोना नियन्त्रणमा आउनु भन्दा तीब्र गतिमा बढिरहेको छ ।
नेपालमा कोरोना भाइरसका कारण संक्रमितको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितमध्ये ११७ महिला र ३६५ पुरुष रहेको जानकारी दिए ।
त्यसैगरी अहिलेसम्मकै धेरैले पछिल्लो २४ घण्टामा कोरोना जितेका छन् । डा गौतमका अनुसार थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेको छ ।
अछामका एक पुरुषको कोरोनाका कारण ज्यान गएको पुष्टि स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा घोषणा गरेको छ । योसँगै ज्यान गुमाउनको संख्या ३० पुगेको छ ।
अछामको रामारोशन गाउँपालिकाका ४५ वर्षीय पुरुषको असार १४ गते ज्यान गएको थियो । आरडिटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएका ती पुरुषको पाँच दिनमै ज्यान गएको हो । सामान्य अवस्था रहेका उनलाई एक्कासी समस्या आएको थियो । उपचारको लागि बयलपाटा अस्पतालमा पुर्याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
त्यसैगरी पीसीआर परीक्षणको दायरा बढ्नुको साटो घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ जनाको मात्रै कोरोना परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख ३३ हजार २ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म ३ लाख ६ सय २० जनाको परीक्षण भएको छ ।
त्यसैगरी देशभरी ४८ हजार ३ सय ६२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ३ सय ६० जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।