आज :

प्रेस सेन्टरद्वारा पत्रकारहरुलाई ‘प्रेस ज्याकेट’सहित स्वास्थ्य सामाग्री वितरण, निर्धक्कसँग कलम चलाउन आग्रह

काठमाडौं । प्रेस सेन्टर नेपालले कोरोना भाइरसको संक्रमणको जोखिमा पनि अग्रमोर्चा खटिएका पत्रकारहरुलाई प्रेस जकेटसहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिबार सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभा हलमा आयोजित ‘कोरोना प्रकोप नियन्त्रणमा पत्रकारको भूमिका विषयक छलफल तथा पत्रकार सुरक्षा सामाग्री वितरण कार्यक्रम’ बीच पत्रकारलाई रिपोर्टिङ गर्न सहजताको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

संगठनका अध्यक्ष लोकराज जैसीको अध्यक्षता भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकी ‘सुशील’ को प्रमुअ आतिथ्यता र प्रेस सेन्टरको प्रदेश तीनका अध्यक्ष सुमन वाङ्देनलगायतको आतिथ्यता रहेको थियो ।

प्रेस सेन्टर नेपालको प्रदेश तीनका सचिव अरुणा मानन्धरले सञ्चालन गरेको उक्त कार्यक्रमबीच संगठनका केन्द्रीय अध्यक्ष जैसी, प्रदेश अध्यक्ष सुमन वाङ्देन र माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीले सहभागि पत्रकारहरुलाई प्रेस सेन्टर नेपालले तयार गरेको प्रेस ज्याकेट, पञ्जा, माक्स लगायतका सामाग्रीहरु वितरण गरेका थिए ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब तीन दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो । राज्यले कोरोना महामारीको रिपोर्टङमा खटिएका पत्रकारहरुलाई सुरक्षा सामाग्री प्राप्त मात्रामा प्रदान नगरेको कारण पत्रकारहरु असुरक्षित ढंगले काममा खट्ने अवस्था आएको भन्दै कार्यक्रम सञ्चालनको क्रममा पत्रकार अरुणा मानन्धरले सरकारलाई त्यतातिर ध्यान दिन आग्रह गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीले कोरोनासँग जित्नका लागि मानिसको मनोवल बढाउदै उच्च सतर्कता अपनाउनुपर्ने र त्यसमा पत्रकारहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताए । उनले कोरोना विरुद्धको ल,डाइँमा जनचेतना बढाउदै अघि बढेका पत्रकारहरुको लागि राज्यले उचित रुपमा स्वास्थ्य उपकरणको प्रवन्धसम्म नगर्नु सरकारको लज्जाजनक काम भएको बताए । उनले पत्रकारहरुलाई आवश्यक पर्ने सुरक्षा उपकरण राज्यले विना पक्षपात सहज रुपमा दिनुपर्ने बताए ।

महासचिव सुशीलले भने, “विश्वभरबाट दलाल पुँजीवाद पतन हुँदै गएको अवस्था छ । तर हाम्रो देशमा कोरोना कहरको संकटपूर्ण अवस्थामा समेत भ्रष्टाचारी, दलालीमा राज्य संयन्त्र जोडिएको समाचारहरु आउछन, यसले समाजवाद निर्माणको यात्रालाई पश्चगमनतर्फ लिने आशंका बढेको छ । त्यसका विरुद्ध देशभक्त नागरिकहरु जाग्नुपर्ने विषम परिस्थिति आएको छ ।”

एक अर्को प्रसंगमा सुशीलले सरकारले लिपुलेकसहितको नयाँ नक्सा सार्वजनिक गर्नु स्वागतयोगय भएपनि अमेरिकी सा’म्राज्यवादी योजनामा आएको एमसीसीलाई जसरी पनि संसदबाट पास गर्न खोज्नु गम्भीर राष्ट्रघाती कार्य भएको बताए । उनले राष्ट्र र राष्ट्रियता नै नरहे कुनै पेशाकर्मी वा नेपाली नागरिक पनि नहुने भन्दै एमसीसी राष्ट्रघाती कदमको विषयमा समेत कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

आफ्नो पार्टीसहित १० राजनीतिक पार्टी एमसीसीविरुद्ध असार २ गते वृहत प्रदर्शन गर्न लागेको जानकारी समेत दिए । कोरोना नियन्त्रण गर्न सरकार असफल भएको भन्दै महासचिव सुशीलले भेन, “ओली सरकारको नीति तथा कार्यक्रमले पनि राज्य असफलतातिर गएको संकेत गरेको छ । सारा जनताहरु सरकारको गलत कदमको विरोधमा कोरोना प्रकोपको ख्याल नगरी सडकमा उत्रिने अवस्था आएको छ । यसमा हामी सचेत नागरिकले जिम्मेवारीवोधका साथ जनताको आवाजलाई साथ, सहयोग र समर्थन गरौं ।”

कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष जैसीले आफ्नो संगठनले कोरोना नियन्त्रणको सन्दर्भमा फिल्डमा खटिने पत्रकारहरुलाई सुरक्षित उपकरणको प्रवन्ध, विशेष उपचार कोषको व्यवस्था, नियमित स्वास्थ्य जाँचको निःशूल्क र सहज व्यवस्था, सूचना संकलनमा सहजताको वातावरण निर्माणलगायतका मागहरु अघि सारेको भएपनि त्यसमा ध्यान नदिइएकाले रिपोर्टिङमा जाने पत्रकारहरु समस्यामा परेको परेको बताए ।

सत्य समाचारले मानिसलाई कोरोनासँग लड्न हिम्मत दिने र सतर्कता अपनाउन सघाउने भएकाले कोरोना नियन्त्रणको अभियानमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने उनले प्रष्ट पारे । उनले जोखिम लिएर फिल्डमा उत्रिने पत्रकारहरुको सुरक्षा प्रवन्धमा राज्यले ध्यान नपुर्याउनु दुर्भाग्य रहेको तर्क गरे ।

सरकारले पत्रकारको विषयमा ल्याएका बीमा लगायतका कार्यक्रमहरु स्वागत योग्य भएपनि महासंघमा निहित स्वार्थले गएका व्यक्ति विशेषको कारण आसेपासेले मात्र त्यस्ता सेवाहरु पाउने गरेको जैसीले दाबी गरे । उनले राज्य तथा महासंघ र सम्वद्ध अन्य निकायहरुबाट आउने सेवामूलक कार्यक्रमहरु वास्तविक फिल्डमा खटिने पत्रकारहरुसम्म पुग्दै नपुगि भागबन्डामा सकिने गरेको आरोप लगाए ।

उक्त कार्यक्रममा बोल्दै प्रेस सेन्टरका प्रदेश तीन अध्यक्ष सुमनले सबैतिर छरिएका श्रमजिवि तथा आम जनपक्षिय पत्रकारहरु एक ठाउँमा उभिएर विभेदकारी कदमको विरुद्ध बोल्नुपर्ने बताए । उनले फिल्डमा उत्रिने पत्रकारहरुको पक्षमा महासंघ र अन्य संघ संगठनहरुले समेत एक आवाजमा बोल्नुपर्ने बताए । उनले पत्रकारलाई उचित मात्रामा विना भेदभाव सुरक्षा उपकरणहरु प्रदान गर्नुपर्ने नभएमा पत्रकारहरु समेत आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिए । प्रेस सेन्टरले देशभरका पत्रकारहरुको लागि न्यूनतम रुपमा भएपनि कोरोनाबाट सुरक्षा हुने सामाग्रीहरु वितरण गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal