आज :

मंगलसेन नगरपालिकाका प्रमुख र उपप्रमुख नेकपाको कारवाही सूचीमा

अछाम । जिल्लाको मंगलसेना नगरपालिकाका प्रमुख पदम बोहरा र उपप्रमुख सरिता उपाध्यायले विकास निर्माणका कामहरुमा व्यापक भ्रष्टाचार र कसिमन खाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले कारवाहीको सूचीमा राखेको छ । नेकपाको सेती महाकाली स्वायत्त प्रदेशअन्तरगत जिल्ला जनपरिषद् अछामले स्थानीय जनताको उजुरीको आधारमा कारवाहीको सूचीमा राखेको जनाएको छ ।

परिषद् अछामका प्रमुख निरक शाहीले विज्ञप्ति जारी गरेर मङ्गलसेन–लोडेघाट सडक निर्माणका लागि कम दररेटसहित पेस भएको सनलाइट प्रा.लि.लाई मूल्याङ्कनमा नलगी उपमेयरका श्रीमान् देवराज उपाध्यायको सन्देश निर्माण सेवा प्रा.लि.सँग १ करोड ९४ लाख लागतको सडक निर्माणकार्यको सम्झौता गरिएको तर ०७६ असार मसान्तभित्र गरिसक्नुपर्ने निर्माण कार्य हालसम्म पनि सम्पन्न नभएको बताएका छन् । काम निर्धारित समय नगर्दा पनि प्रमुख र उप्रमुख कमिसनको भरमा कारवाही नगरेको दाबी बताइएको छ ।

“अछामको मङ्गलसेन नपाका मेयर पदम बोहरा र उपमेयर सरिता उपाध्यायले नगरपालिकाका निर्माणकार्यलगायत अन्य कामकारबाहीहरूमा व्यापक भ्रष्टाचार गर्ने र कमिसन खाने गरेको कुरा स्थानीय जनताहरूबाट हाम्रो जिल्ला जनपरिषद् अछामको कार्यालयमा उजुरी दर्ता भएको छ । मङ्गलसेन–लोडेघाट सडक निर्माणका लागि मङ्गलसेन नपाको मिति ०७६–०१–०९ मा प्रकाशित सूचना अनुसार ई. विड. मार्फत आएका बोलपत्रहरूमा कम दररेटसहित पेस भएको सनलाइट प्रालिलाई मूल्याङ्कनमा नलगी उपमेयरका श्रीमान् देवराज उपाध्यायको सन्देश निर्माण सेवा प्रा.लि.सँग १ करोड ९४ लाख लागतको सडक निर्माण कार्यको सम्झौता गरिएको थियो । सडक निर्माणको कार्य ०७६ असार मसान्तभित्र गरिसक्नुपर्ने थियो जो हालसम्म पनि सम्पन्न भएको छैन” शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै नगरपालिकामा काम गर्ने अरु निर्माण व्यवसायीहरुले सम्झौता मितिमा काम नसक्दा हर्जना तिराएको तर उपाध्यायलाई भने प्रोत्सहित गरेको शाहीले बताए ।

“अरू निर्माण व्यवसायीहरूले सोही समयमा लिएको काम समयावधिभन्दा थोरै दिन माथि जाँदा हर्जना तिराएको तर उपमेयरका श्रीमान्ले १ वर्ष ढिलोसम्म काम नसक्दा पनि कारबाही गर्नुको साटो उल्टै प्रोत्साहित गरेको देखिन्छ । उक्त कामका लागि मङ्गलसेन नपाको डोजर प्रयोग गरिएको थियो । काम अधुरो नै रहेको तर कामभन्दा बढी रकम भुक्तानी भइसकेको भए पनि नगरपालिकाबाट प्रयोग भएको डोजरको तिर्नुपर्ने भाडा रकम पनि दादागिरी शैलीमा नतिरेको कुरा जानकारीमा आएको छ” विज्ञप्तिमा भनिएको छ ।

सम्झौताअनुसार समयावधिमा काम नगर्ने उक्त कम्पनीलाई कारवाहीको गर्नुको साटो थप रकम भुक्तानीको लागि कर्मचारीलाई प्रमुख र उपप्रमुखले दवाव दिने गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, “सडक निर्माणको कार्य एक वर्ष ढिलो भैसक्दा पनि सम्झौताअनुसार काम नगरी अधुरो कामको सम्पूर्ण रकम भुक्तानीसहित समयावधि लम्बिएको हुँदा विभिन्न प्रक्रिया पुर्याएर थप रकम भुक्तानी गर्न राजनीतिक आडमा कर्मचारीहरूलाई धम्क्याउने गरेको पाइएको छ ।”

त्यसैगरी प्रमुख बोहरा र उपप्रमुख उपाध्यायको मिलेमतोमा नगरपालिकाभित्रका डोजरलगायत निर्माण सामाग्रीहरु बिग्रेको बहानामा गरेर लाखौ रकम कमिसनमा आफ्ना नातागोता, इष्टमित्रलाई दिनेको गरेको भन्दै शाहीले जिल्ला परिषदको गम्भीर ध्यानाकषर्ण भएको बताएका छन् । “नगरपालिकाका मेयर र उपमेयरको मिलोमतोमा नगरपालिकाभित्रका डोजरलगायत निर्माण सामग्रीहरू बिग्रेको बहाना गरेर नगरपालिकाले गर्नुपर्ने निर्माणकार्यहरूमा पनि लाखौँ रकम कमिसन खाने गरी आफ्ना नातागोता, इष्टमित्र र आसेपासेलाई जिम्मा दिने गरेको पनि भेटिएको छ । यस्ता गतिविधिहरूप्रति हाम्रो जिल्ला जनपरिषद्को गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।

प्रमुख शाहीले प्रमुख र उपप्रमुखलाई गलत कार्य रोकेर सच्चिन चेतावनी समेत दिएका छन् । त्यस्तै जिल्लाका सबै स्थानीय तहमा सेवामा ढिलासुस्ती, कमिसन खाने, भ्रष्टाचार गर्ने कुरा व्यापक बढेको बताउँदै नरोकिए जनकारवाही गाडि बढाउन बाध्य हुने बताएका छन् ।

त्यसैगरी प्रमुख शाहीले विश्वभरि फैलिरहेको कोरोना महामारी नियन्त्रण लागि बनाइएका क्वारेन्टाइन, आइसोलेसनहरु अस्तव्यस्त भएको भन्दै महामारी झनै फैलिने खतरा हुँदा समेत स्थानीय सरकारले ठोस कदम चाल्न नसकेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal